Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी पूर्ण प्रविधिमैत्री, बस टिकट पनि अनलाइनबाटै

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी पूर्ण प्रविधिमैत्री, बस टिकट पनि अनलाइनबाटै


पोखरा । पोखरास्थित पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी पूर्ण प्रविधिमैत्री भएको छ । समितिले यात्रुलाई सहज र स्तरीय सेवा प्रदान गर्नका लागि कम्पनी पूर्ण प्रविधिमैत्री भएको अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिए ।

योसँगै कम्पनीका सवारी साधनबाट कुनै पनि ठाउँमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिने अध्यक्ष केसीले जानकारी दिए । अघिपछि बस काउन्टरमा लाइन लागेर टिकट काट्नुपर्ने झण्झट थियो । अब यात्रु त्यस्तो झण्झटबाट मुक्ति पाउने भएका छन् ।

‘यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी पूर्ण प्रविधिमैत्री भएको हो’, पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, ‘प्रविधिमैत्री भएसँगै कम्पनीका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिन्छ, अब झण्झट हुँदैन ।’ योसँगै कम्पनीको कार्यालय सञ्चालन, चलानी, अभिलेखनलगायतका सबै काम सफ्टवेयरमार्फत नियन्त्रण हुनेछ ।

कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्णरुपमा प्रविधिमैत्री बनाइएको हो । यात्रुहरुले अब कम्पनीको पृथ्वी बस डटकम डटएनपी, कम्पनीको मोबाइल एप्लीकेशन तथा बससेवा डटकम, बस सेवाको मोबाइल एप्लिकेशनमार्फत सहजै टिकट काट्न सक्नेछन् । अध्यक्ष केसीले आफूहरु समय र आम यात्रुको मागअनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्ने बाटोमा अग्रसर भएको बताए ।

‘अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था मिलाउँदा कम्पनीले दिँदै आएको सेवा थप प्रभावकारी र विश्वसनीय हुन्छ भन्ने विश्वास छ’, उनले भने, ‘राज्यका तर्फबाट सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाउनुपर्ने आवश्यकता पनि छ ।’ बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिए । जसका लागि आफूहरु पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग मिलेर अगाडि बढ्न पाउँदा खुशी लागेको उनले बताए ।

विगत ५० वर्षभन्दा धेरै समयदेखि सेवा दिँदै आएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले नेपालका प्रमुख शहर काठमाडौं, बुटवल, हेटौंडादेखि पूर्वका मुख्य शहरहरु धरान, विराटनगर, जनकपुर, विरगञ्ज, काँकडभिट्टादेखि सुदूर पश्चिमका दाङ, नेपालगञ्ज, सुर्खेत धनगढी, बर्दिया तथा महेन्द्रनगरसम्म गरि ३० भन्दा बढि सहरमा सेवा दिँदै आएको छ ।

कम्पनीले चार सय १० वटा भन्दा धेरै रुटबाट करिब एक हजार तीन सय ५० बसमार्फत सेवा दिँदै आएको छ । पृथ्वी यातायातबाट दैनिक आठ हजारभन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै, बससेवाले नेपालका ६२ जिल्लामा आफ्नो सेवा दिँदै आएको छ । १० वर्ष अगाडि स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण प्रविधिमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया