Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहरी क्षेत्रमा मिटरब्याजको धन्दा भयानक ! राज्य किन बेखबर ?

सहरी क्षेत्रमा मिटरब्याजको धन्दा भयानक ! राज्य किन बेखबर ?


काठमाडौं । सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न गठन गरेको उच्चस्तरीय आयोगले दिएको प्रतिवेदन थन्क्याएर राखेको बेला त्योभन्दा ठूलो मिटरब्याजको धन्दा छानबिनभित्रै नपरेको खुलासा भएको छ । मिटरब्याजको धन्दा चलाउने संगठित गिरोहहरुले केही दैनिक पत्रपत्रिकाहरुमा केही सय रुपैयाँमा वर्गीकृत विज्ञापन छपाएकै आधारमा मिटरब्याजको आफ्नो करौडौँको साम्राज्य खडा गरेको देखिएको छ ।

विशेषगरी अप्ठ्यारोमा परेका व्यक्तिहरु अर्थात् वैदेशिक रोजगारीमा जान लागेका नेपाली युवायुवतीहरु, उच्च शिक्षा तथा रोजगारीको लागि विदेशमा जान लागेका युवायुवतीहरु, बैंकको किस्ता तिर्न नसकेर चेपुवामा परेका व्यक्तिहरुलाई लक्षित गरेर केही दैनिक पत्रपत्रिकाहरुमा केही सय रुपैयाँमा विज्ञापन छपाउने गरेको देखिन्छ । सम्पर्क शीर्षक दिएर छापिने यस्ता विज्ञापनहरुको बेहोरामा ‘विद्यार्थीको लागि सस्तोमा क्यास डिपोजिट’, ‘धितोफुकुवा र सेयर लगत’, ‘सस्तोमा बैंक डिपोजिट धितो फुकुवा’, ‘अति सस्तोमा धितो फुकुवा’, ‘क्यास डिपोजिट’, ‘अतिसस्तोमा विदेश जान क्यास डिपोजिट, धितो फुकुवा’, ‘सबैभन्दा सस्तोको क्यास डिपोजिट, धितो फुकुवा’, ‘बैंक ब्यालेन्स, धितोफुकुवा अति सस्तोमा’, ‘बैंक डिपोजिट धितो फुकुवा गर्नुपरेमा’, ‘भिसालाई क्यास डिपोजिट’, ‘धितो फुकुवा शून्य दशमलव पाँच प्रतिशतमा’ आदि छन् । यिनै विज्ञापन छापेकै आधारमा आम नागरिकलाई भ्रममा पारेर यो समूहले दैनिक लाखौं रुपैयाँ असुल्ने गरेको पाइएको छ । दैनिक पत्रपत्रिकाहरुमा छापिने यस्ता विज्ञापनबाट वैदेशिक शिक्षा र रोजगारीमा जाने हजारौँ युवाहरु ठगिएका छन् भने यी गिरोहले आर्थिकरुपमा अप्ठ्यारोमा परेका व्यक्तिहरुको अप्ठ्यारो फुकाइदिने नाममा मिटरब्याजीको भन्दा चर्को ब्याज लिएर रकम लेनदेन गर्नेगरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकको नगद कारोबारसम्बन्धी ऐनअनुसार कुनै पनि व्यक्ति वा संस्थाले अनुमतिविना धितो फुकुवा, नगद डिपोजिट, कर्जा प्रवाहलगायत कारोबार गर्न पाउँदैनन् । साथीभाई आफन्तहरुको बीचमा हुने विनाब्याजको व्यक्तिगत सरसापटीबाहेक व्यावसायिकरुपमा नगद कारोबार गर्न पाइँदैन । तर, यस्तो समूहले भने राष्ट्र बैंकको नगद कारोबारसम्बन्धी ऐनको धज्जी उडाउँदै विज्ञापन छापेकै भरमा मिटरब्याजीको भन्दा चर्को ब्याज लिएर आफ्नो लुट धन्दा फैलाएका छन् । यसरी खुलेआम धन्दा चलाउँदा पनि सम्बन्धित निकाय कानमा तेल हालेको जस्तो गरी बसिदिँदा यस्तो धन्दा चलाउनेको संख्या बढ्दै गएको छ ।

ऋण दिएपछि साहहरुको टोली ऋणीकै घरमा गएर बस्ने गरेको पाइएको छ । ऋण लिने व्यक्तिले ऋण दिने व्यक्तिहरुलाई आफ्नै घरमा लगेर अथवा कुनै होटलमा लगेर पाहुनाजस्तै गरी पाल्नुपर्ने, उसले भनेको जस्तो खर्च गरिदिनुपर्ने हुन्छ । यस्ता समूहले ऋण दिँदा लेनदेन र वैदेशिक रोजगारीलगायतको कागज गराउने गरेका छन् । ऋण दिएपछि ऋणीलाई एकछिन पनि एक्लै यताउता गर्न नदिने र ऋण दिँदा आपूmले लिने ब्याज भने पहिला नै चेक काटेर लिनेगरेको पाइएको छ । एक करोडको दैनिक एक लाख रुपैयाँ ब्याज लिनेगरेको देखिन्छ । विद्यार्थीको बैंक ब्यालेन्सका लागि केही सजिलो भए पनि धितो फुकुवाको लागि बैंकको चिठी माग्ने यी समूहको बैंकभित्र पनि अपवित्र साँठगाँठ रहने गरेको छ । यसमा प्रहरी र लगानीकर्ता (मिटरब्याजी) बीच पनि मिलेमतो रहेको देखिन्छ । ऋण दिँदा यस्तो धन्दा चलाउनेहरुले धितो दृष्टिबन्धक पास गराउने कार्य पनि गर्दै आएका छन् । यस्ता समूहले खुलेआम गैरकानुनी मिटरब्याजको लुट धन्दा चलाउँदा पनि राज्य बेखबरजस्तै छ । विनादर्ता लुट धन्दा चलाउने यस्ता समूहबाट वैदेशिक रोजगारी र शिक्षाको लागि विदेश जाँदा प्रक्रियागतरुपमा अप्ठ्यारोमा परेका व्यक्तिहरु सबैभन्दा पीडित हुनेगरेका छन् । तिनै व्यक्तिहरुको अप्ठ्यारोलाई आफ्नो व्यापारिक ढाल बनाउँदा पनि राज्यको जिम्मेवार निकाय आँखा चिम्लिएर दाहिना भइदिनु निकै नै दुःखद छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया