Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको खास सहरी जनसङ्ख्या कति हो?

नेपालको खास सहरी जनसङ्ख्या कति हो?


काठमाडौं,नेपालमा झण्डै दुई तिहाई जनसङ्ख्या सहरमा बस्ने ठानिएको यस अघिको बुझाइभन्दा फरक पछिल्लो एक जनसाङ्ख्यिक प्रतिवेदनले सहरमा बस्नेहरू खासमा झन्डै एक चौथाइ मात्र रहेको देखाएको अधिकारीहरूले बताएका छन्।

सहरी र ग्रामीण जनसङ्ख्याको वर्गीकरणमा यसअघि प्रशासनिक विभाजन अनुसार तीनखाले नगरपालिकालाई सहर र तत्कालीन गाउँपालिकामा बस्ने मानिसहरूको जनसङ्ख्याको प्रतिशतलाई गाउँ ठानेर गणना गर्ने गरिएको थियो।

त्यही बुझाइका आधारमा २०७४/७५ मा नगरपालिकाको सङ्ख्या ५८ बाट २९३ पुर्‍याउँदा सहरी जनसङ्ख्या १७ बाट ६६ प्रतिशत पुगेको ठानिएको थियो।

तर विभिन्न अध्ययनहरूले ‘नगरपालिकाभित्र समेत ग्रामीण परिवेश रहेको र गाउँपालिकाभित्र समेत कतै कतै सहर रहेको’ देखाएपछि यस पटक नयाँ पद्धतिले गाउँ-सहरको वर्गीकरण गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ताले बताएका छन्।

कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले बीबीसीसँग भने, “त्यसरी दुई तिहाइ जनसङ्ख्या सहरमा बस्ने होइन। वास्तवमा एक तिहाइभन्दा पनि कम जनसङ्ख्या सबै परिभाषाले सहर समेटिने परिवेशमा बस्छन्। बाँकी झन्डै ४० प्रतिशत जनसङ्ख्या अर्ध ग्रामीण वा अर्ध सहरी परिवेशमा बस्छन्।”एकजना विज्ञले ‘नेपालमा सहरहरू बन्दै नबनेको’ भन्ने आफूहरूले भन्दै आएको धारणालाई यस प्रतिवेदनले प्रस्ट पारेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग प्रमुख विष्णुबहादुर खत्री भन्छन्, “नेपालमा ठूलो जनसङ्ख्या एकठाउँमा जम्मा भएको र प्रशासनिक सुविधालाई मान्ने गरिन्छ त्यो वैज्ञानिक छैन। सुविधा, स्रोतलाई जसरी मापदण्डका रूपमा हेर्नुपर्थ्यो त्यो गरिएको छैन।”

‘सघन सहर’ कति, गाउँको विकास कसरी?
यस क्रममा जनसङ्ख्याको तथ्याङकलाई मुख्य रूपमा वडाभन्दा पनि सानो एकाईमा गएर प्रत्येक एक वर्ग किलोमिटरको ग्रीडको विश्लेषण गर्दै ग्रामीण क्षेत्र, सहरोन्मुख क्षेत्र र सघन सहरी क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ।

यसरी सघन सहरी जनसङ्ख्या विगत एक दशकमा झन्डै पाँच प्रतिशतले बढेर २७.०७ पुगेको देखिन्छ जुन २०६८ सालको जनसङ्ख्याको विवरणलाई त्यसैगरी विश्लेषण गर्दा झन्डै पाँच प्रतिशतको वृद्धि हो।

पछिल्लो पटक तय गरिएको मापदण्डमा जनघनत्व, बसोबास क्षेत्र, जनसङ्ख्याको आकार र सहरी सेवा सुविधाहरूलाई आधार मानिएको छ।

रेग्मी थप्छन्, “संयोगले ४६० गाउँपालिकामा बस्ने मानिसहरूको जनसङ्ख्या समेत ३३ प्रतिशत र हामीले प्रयोग गरेको नयाँ विधिबाट समेत ग्रामीण जनसङ्ख्या ३३ प्रतिशत देखियो।”
दश वर्षमा सहरोन्मुख जनसङ्ख्या भने आधा प्रतिशतभन्दा कमैले बढेको छ।

सह-प्राध्यापक खत्रीले नेपालमा हालसम्म सहरी जनसङ्ख्या कसलाई ठान्ने भन्ने कुरामा एउटै मापदण्ड नदेखिएको बताउँदै पछिल्लो प्रतिवेदनले केही प्रस्ट पारेको बताउँछन्।

“कसलाई सहर बनाउने, कुन ठाउँमा गाउँलाई नै विकास गर्ने भनेर नेपालमा योजना बनाउने भन्दा पनि राजनीति मात्र गरेको देखिन्छ,” उनी भन्छन्।

“गाउँ गाउँ नै रहन दिन सक्नुपर्छ। किनकि गाउँका आफ्नै मौलिक चरित्र हुन्छन्। गाउँमा सुविधा पुग्दैमा त्यो सहर बनिहाल्छ भनेर हेर्न भएन।”

कसरी वर्गीकरण?
नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण नाम दिइएको यस प्रतिवेदनले सहरी योजना निर्माणका लागि सहरोन्मुख क्षेत्रलाई सघन सहरी क्षेत्र बनाउने उपायका लागि उपयोगी हुने तथ्याङ्क अधिकारीहरूले बताएका छन्।

“हालसम्म हामीले २९३ वटै नगरपालिकालाई सहर भन्ने गरेका छौँ,” तथ्याङ्कशास्त्री रेग्मी भन्छन्।

“तर सहर भनिए पनि हाम्रा सहरहरू सहर होइन रहेछन् भन्ने देखियो। सहर हुनका लागि जेजस्ता कुराहरू – आर्थिक क्रियाकलाप, रोजगारीका अवसर, पूर्वाधारका विकास एवं शिक्षा, स्वास्थ्य र अन्य पहुँचजस्ता सहरी सुविधा- पुगेको रहेनछ भन्ने देखिन्छ।”

ग्रामीण क्षेत्र हुनका लागि प्रतिहेक्टर क्षेत्रफलमा तीन व्यक्ति रहने र त्योभन्दा कम जनघनत्व तथा आठवटा बसोबास क्षेत्रमा ५,००० भन्दा कम जनसङ्ख्या भएको हुनुपर्छ।
सहरी क्षेत्रका लागि प्रतिहेक्टर ३ देखि १५ जनाभन्दा बढिको जनघनत्व र ५,००० हजारभन्दा बढ्ता जनसङ्ख्यासहित ४ बसोबासक्षेत्र निकटताको विशेषतायुक्त हुनुपर्छ।

सहरोन्मुख क्षेत्रका लागि प्रतिहेक्टरमा ३ देखि १५ व्यक्ति बीचको जनघनत्व, आसपासमा आठ बसोबास क्षेत्र र जनसङ्ख्याको न्यूनतम सीमाविनाको विशेषतायुक्त हुनुपर्छ।

प्रभाव
राष्ट्रिय तथ्याङ्क कार्यालयले विवरणलाई सहरी विकास मन्त्रालय, भवन निर्माण विभाग, नापि विभाग र सहरी क्षेत्रको अन्तर्राष्ट्रिय मापदण्ड बनाउने यूएन-ह्याबीट्याट सहितका निकायले विश्लेषण गरेर तयार पारेको हो।

“नेपाल सहरोन्मुख हुँदैछ। तर नेपालमा जति सहरको विकास भइसक्यो भनिएको थियो त्यो रहेनछ भन्ने देखिएको छ,” रेग्मी भन्छन्।

“सहर घोषणा गरेर मात्र पुग्ने रहेनछ। वास्तविक सहर हुनको निमित्त सहरभित्र हुनुपर्ने जनघनत्व, बसोबास क्षेत्र, पूर्वाधार, सेवा सुविधामाथिको पहुँच र आर्थिक क्रियाकलापहरू आवश्यक पर्ने रिपोर्टले देखाएको छ।”

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक खत्रीका विचारमा सहरका कतिपय सुविधाहरूसमेत गाउँमा पुर्‍याउँदै ग्रामीण विकास गर्ने ढाँचामा जानुपर्छ।

“ग्रामीण चरित्रलाई भत्काएर सहरीकरण गर्ने होइन,” उनी भन्छन्।

छिमेकी देशमा सहरी जनसङ्ख्या कसरी बढिरहेको छ?
राष्ट्रसङ्घीय जनसङ्ख्या निकायले सन् २०१८ मा निकालेको वल्ड अर्बनाइजेसन प्रोस्पेक्टको संशोधित विवरणमा विश्व ब्याङ्कले निकालेको तथ्याङ्कलाई विश्लेषण गर्दै दक्षिण एसियाली देशको सहरी जनसङ्ख्या तुलना गर्दा भुटानमा सबैभन्दा उच्च वृद्धि देखिन्छ।

भारतमा तीन दशकमा झन्डै १० प्रतिशतले सहरी जनसङ्ख्या वृद्धि हुँदै त्यो हाल ३६ प्रतिशत रहेको देखिएको छ।
उक्त निकायकै विवरणमा पाकिस्तानमा सोही अवधिमा ८ प्रतिशतले वृद्धि हुँदै ३८ प्रतिशत पुगेको देखिन्छ।

श्रीलङ्कामा हाल १९ प्रतिशत जनसङ्ख्या सहरमा रहेका छन्। जुन उसका दक्षिण एसियाली छिमेकीहरूमध्ये सबैभन्दा कम हो।

बाङ्ग्लादेशमा २० प्रतिशतले सहरी जनसङ्ख्या बढ्दै सन् २०२२ मा ४० प्रतिशत मानिसहरू सहरमा बस्ने देखिएको छ।

भुटानमा बाङ्लादेशमा भन्दा पनि उच्च झन्डै २५ प्रतिशतको वृद्धिसाथ सहरी जनसङ्ख्या ४४ प्रतिशत छ।

अफगानिस्तानमा ६ प्रतिशतको वृद्धिसाथ २७ प्रतिशत मानिसहरू सहरमा बस्छन् भने माल्दिभ्समा २१ प्रतिशतको वृद्धि देखिन्छ।

सोही प्रतिवेदनमा नेपालमा १३ प्रतिशतको सहरी जनसङ्ख्या वृद्धि भई २१ प्रतिशत पुगेको देखिन्छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता हेमराज रेग्मी राष्ट्रसङ्घीय जनसङ्ख्या आयोगले सिफारिस गरेको पद्धतिमा आधारित प्रतिवेदन युरोपेली देशमा पाँच वर्षअघि प्रयोग हुन थाले तापनि एसियामा एक दर्जन देशहरूले मात्र प्रयोग गरेको बताउँछन्।

उनी भन्छन्, “हामीसँग छिमेकमा पछिल्लो जनगणनाको विवरण छ। अन्य देशहरूले समेत जनगणना आएपछि गर्लान् र त्यसको अझ प्रस्ट तुलना गर्न सम्भव होला।”(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया