Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली(आरएआईएमएस) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य गर्न नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्र कुमार झाले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आज(सोमबार) उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवम् ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गरे । उनले यस सम्झौताले दुर्घटना न्यूनिकरणका साथै धनजनको क्षतिमा समेत कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवम् यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायहरूको साथ सहयोग र समन्वय आवश्यक रहनेमा उनको विश्वास थियो ।

समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा.पार्थ पराजुलीले उक्त सफ्टवेयर संचालन तथा ट्राफिकसम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । यातायात पूर्वाधारहरूको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमताहरूलाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ । साथै, ती उद्देश्यहरू हासिल गर्न स्थानीय विज्ञहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय परामर्शदाता समेत खटाइएको छ ।

नेपाल प्रहरीले चालेका मादक पदार्थ सेवन अनुगमन, लेन अनुशासन, सवारी भार क्षमता अनुगमन जस्ता कदमहरूले सडक दुर्घटनामा कमी ल्याउन सफल भएतापनि दीगो व्यवस्थापन र भरपर्दो सडक सुरक्षा अविलम्ब लागू गर्ने उद्देश्यका साथ मन्त्रालय, विश्व बैंक, राष्ट्रिय सडक सुरक्षा परिषद् र नेपाल प्रहरीबीचको सहकार्यमा पुन:उक्त सफ्टवेयर लागू गरिन लागेको कार्यक्रममा जानकारी गराइयो ।

समारोहमा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ कृष्णन् श्रीनिभाशन, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय सडक सुरक्षा परिषद्का पदाधिकारीहरू, सडक विभागका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया