Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयल निगम ५४औं वर्षमा प्रवेश

आयल निगम ५४औं वर्षमा प्रवेश


काठमाडौं । नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश गरेको छ । निगमले ५४औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय टेकुमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निगमलाई थप सुदृढ बनाएर लगिने घोषणा गरेका छन् ।

यस्तै, उनले निगमले आफ्नो सेवालाई चुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै भण्डारण क्षमता विस्तारमा ध्यान दिन आग्रह गरे । यस्तै, निगम सञ्चालक समितिका अध्यक्ष एवम् आपूर्तिसचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न विभिन्न चुनौती रहेको औल्याउँदै दायित्वमुक्त हुँदैमा वित्तीय अवस्था सुदृढ छ भनेर ढुक्क नहुन सचेत गराए । यसैगरी, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’को विमोचन गरेका थिए । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो । निगमले नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको छ । करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको कारोबारबाहेक अन्य पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको सहभागिता हुन सकेको छैन । निगमले विराटनगर, भद्रपुर, अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, थानकोट, मन्थली, भैरहवा, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, दिपायल र धनगढीबाट पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ ।

निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार नौ सय ९० किलोलिटर क्षमताका भण्डारण ट्यांकरमा आयातीत इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको जनाएको छ । हाल निगमसँग १३ हजार छ सय ६२ किलोलिटर पेट्रोल, ४५ हजार आठ सय ४८ किलोलिटर डिजल, दुई हजार छ सय ९५ मट्टितेल र आठ हजार आठ सय १५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ । सरकारी स्वामित्वको निगमसँग १३ दिनको माग धान्न सक्ने भण्डारण क्षमता छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट वार्षिक करिब रु ३० लाख किलोलिटर पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया