Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूकम्प सुरक्षा दिवस मनाईँदै

भूकम्प सुरक्षा दिवस मनाईँदै


काठमाडौं । भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । विसं १९९० को विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष २६ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । यस वर्षको भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज अर्थात् मङ्गलबार चन्द्रागिरी नगरपालिकामा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उप–सचिव एवम् प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ ।

दिवसलाई भव्यरूपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । उपत्यकाका तीन स्थान काठमाडौंको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । २६औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको हालैको बैठकले प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमहरूसहित भूकम्प सुरक्षा दिवस मनाउन सबै प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत्, जिल्ला प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयमार्फत् र जिल्ला समन्वय समिति एवम् स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गर्ने निर्णय गरेको थियो ।

बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ को व्यवस्था बमोजिम चन्द्रागिरी नगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उप–समिति, सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरेको थियो । भूकम्प सुरक्षा दिवसको नारासहितको पोस्टरलगायतका सामग्री मुलुकभरका विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् उपलब्ध गराई भूकम्पसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले यस दिवसलाई महत्वको साथ मनाउने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया