Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । भूकम्प सुरक्षा दिवसका अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् ।

काठमाडौं महानगरपालिकाले मंगलबार भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उनले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए । संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए । उनले काठमाडौँ महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा खुसी व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले जाजरकोट भूकम्पलगत्तै काठमाडौँ महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाओस् भनी शुभेच्छा प्रकट गरे । राजधानी रहेको महानगर पनि भएकाले काठमाडौँ महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उनले बताए ।

नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् । भूकम्पलगायत विपद्जन्य घटनाबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेकामा जोड दिँइन्

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा विसं २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको आठ दशमलव चार म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठलगायतले १९९० सालयताका भूकम्पमा परी मृत्युवरण गरेका व्यक्तिको सम्झनामा पुष्पगुच्छा अर्पण गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया