Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा वर्षको पहिलो हिमपात

दोलखामा वर्षको पहिलो हिमपात


जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको हो ।धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्र ,शैलुङ, जिरीको चेर्दुङलगायतका क्षेत्रमा आंशिक हिमपात भएको स्थानीयले बताएका छन् । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा हिमपात भएपछि स्थानीय होटल व्यवसायी र आन्तरिक तथा बाह्र पर्यटक खुसी भएका छन् । कालिञ्चोक घुम्दै मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँ परेपछि रमाइरहेको स्थानीय होटल व्यवसायी चन्द्र तामाङले जानकारी दिए । समुद्री सतहदेखि तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्षको पहिलो हिमपात माघ लाग्नेबित्तिकै भएको तामाङले बताए । कात्तिकदेखि नै चिसो बढे पनि हालसम्म हिउँ पर्न सकेको थिएन । दिउँसोदेखि साँझसम्म पातलो भए पनि हिउँ झरिरहेकाले केही दिन हिउँ पर्ने वातावरण लम्बिन सक्ने अनुमान गरिएको कुरीका होटल सञ्चालक नवराज पाख्रिनले बताए ।

हिमपात भएपछि जिल्लाका पर्यटकीयस्थल कालिञ्चोक, शैलुङ, चेर्दुङलगायतका स्थानहरूमा पर्यटक बढ्ने अपेक्षा गरिएको छ । हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गर्छ । हिमपात भएसँगै होटल बुकिङ हुन थालिसकेको होटल व्यवसायीहरूले बताएका छन् । सदरमुकाम चरिकोटदेखि १८ किलोमिटर दूरीमा रहेकोे कालिञ्चोकमा करिब तीन दर्जन सुविधासम्पन्न होटल तथा रेस्टुरेन्ट रहेका छन् भने दुई दर्जन साधारण रहेका छन् । होटल व्यवसायीसँगै हिमपातका कारण हिउँदे आलु कृषक समेत खुसी देखिएका छन् । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायीहरू चिन्तित थिए । माथिल्लो क्षेत्रमा हिउँपरेको कारण जिल्लाभर चिसो बढेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया