Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न

बुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न


काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको बबरमहलमा सञ्चालक समिति अध्यक्ष पद्म ज्योतिको अध्यक्षमा सम्पन्न भएको साधारणसभाले सेयरधनीहरूलाई आव २०७९/८० को मुनाफाबाट चुक्त पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्र्ने निर्णय गर्नुको साथै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरूलाई नगद लाभांश यथाशक्य छिटो वितरण कम्पनीले जनाएको छ । सो सभाले कम्पनीको प्रतिसेयर १०० रुपैयाँ दरका एक करोड कित्ता सेयरहरू प्रचलित ऐन नियमबमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी तीन अर्ब ४० करोड ९० लाख ६४ हजार छ सयलाई वृद्धि गरी चार अर्ब ४० करोड ९० लाख ६४ हजार छ सय पु-याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

बुटवल पावर कम्पनीले सञ्चालन गर्दै आएको ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रहरू नियमितरूपमा सञ्चालन भइरहेका छन् । साथै, सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित ४ मेवाको खुदी जलविद्युत् केन्द्र र ६० मेवाको खिम्ती प्रथम जलविद्युत् केन्द्रको सञ्चालन हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत् केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत् प्राधिकरणमा गएको छ । लमजुङ जिल्लास्थित ३० मेवाको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुनुपर्ने खुदी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत् पूर्णरूपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको छ ।

३७.६ मेवाको कावेली ए जलविद्युत् आयोजनाको स्थानीयरूपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनकरूपले कार्य प्रगति अगाडि बढिरहेको छ । यस आयोजनाको निर्माण कार्य २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरी विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।

तीन चिनियाँ लगानी कर्ताहरूसँगको संयुक्त लगानीमा मस्र्याङ्दी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरूमा एक सय ३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना, एक सय ३९ दशमलव दुई मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना र तीन सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा छ सय एक मेगावाट) अगाडि बढाउने क्रममा छन् ।

मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरी यस आयोजनको निर्माण कार्य चालू आवको चैत्रभित्रै सुरु गर्ने योजना रहेको छ । त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माण तयारीको चरणमा रहेको छ । एक सय ७३ दशमलव ४७ मेवा क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया