Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जासञ्चालन नहुँदै खण्डहर बन्यो झापाको सहिद स्मृति उद्यान

सञ्चालन नहुँदै खण्डहर बन्यो झापाको सहिद स्मृति उद्यान


झापा । विर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै विर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो ।

सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए । पार्क बन्नुअघि त्यस स्थानमा भुटानी शरणार्थी शिविर रहेको थियो । शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकारले दुई करोड रुपैयाँ लगानी गरेको थियो ।

२२ बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन महँगा मूल्यका पूर्वाधार संरचना निर्माण गरिएका थिए । सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्वीमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । आकर्षक प्रवेशद्वार र उद्यानसमेत बनाइएको थियो । २०२९ फागुन २१ गते झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा पञ्चायती सरकारबाट जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये एक थिए, नेत्र घिमिरे । सहिद नेत्र घिमिरेकै स्मृतिमा उक्त पार्क बनाइएको हो ।

पूर्वाधार निर्माण गरे पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । विर्तामोड–७ का जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थी पार्कको झाडी फाड्ने र सरसफाइ कार्यमा जुटेका हुन् । वडाध्यक्ष खरेलले भने, ‘राज्यको ठूलो लगानी खेर जाने अवस्थामा पुग्यो । यसको संरक्षण र संवर्द्धन गर्नु आम नगरवासीको दायित्व हो । अब सरसफाइ गरेर चाँडै पार्क सञ्चालनमा ल्याउँछौँ ।’ स्थानीयले आउँदो एक सातासम्म लगातार सरसफाइ गर्ने भएका छन् ।

सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले शौचालय, खानेपानी र बिजुलीबत्ती उपलब्ध गराएर पार्कलाई पुन:जीवित गरिने बताए । उनले जङ्गली हात्ती डुलिरहने हात्ती करिडोरमा पार्क रहेको हुँदा सुरक्षा बन्दोबस्तका लागि पर्यटकीय अवलोकन क्षेत्रमा विद्युतीय घेराबेराको तयारी भइरहेको जानकारी दिए । राससले जनाएनुसार पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटीलगायतका प्लास्टिकका संरचना बनाइएका थिए भने डाइनोसरलगायतका फाइवरका ठूला प्रतिमा स्थापना गरिएका थिए । जगेर्ना नहुँदा लाखौँ खर्चेर किनिएको डाइनोसरको मूर्ति क्षतिग्रस्त छ । पोखरी र पार्क क्षेत्र झाडीले छोपिएको छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार

तपाईको प्रतिक्रिया