Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी मोरङ औद्योगिक कोरिडोरमा अघोषित लोडसेटिङ

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा अघोषित लोडसेटिङ


बिराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको उद्योगी व्यवसायीहरूले आरोप लगाएका छन् ।

प्राधिकरणले करिडोरको औद्योगिक फिडरमा अघोषित लोडसेडिङ गरेको भन्दै उनीहरूले नियमित विद्युत् उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण समेत गराएको छन् । प्राधिकरण र उद्योगीबीचमा डेडिकेटर र ट्रकलाइनको महसुुल विवाद सुुल्झिएसँगै प्राधिकरणले अघोषित लोडसेडिङ गरेको उनीहरूको आरोप छ । उद्योग संगठन मोरङले मंगलबार एक विज्ञप्ति जारी गरी उद्योग व्यवसायको सञ्चालनका लागि आधारभूत कच्चपदार्थको रूपमा रहेको विद्युत् आपूर्तिमा विगत केही समययता समस्या देखिएको जनाएको छ । पछिल्लो समय बिहान र बेलुकी गरी दैनिक आठ घण्टासम्म विनासूचना विद्युत् अवरोध भइरहेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्युत् अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको उद्योग संगठन मोरङले जनाएको छ । अर्थतन्त्रमा सुस्तता छाएको अवस्थामा विद्युत् आपूर्तिमा अवरोध भइदिँदा उद्योगी व्यवसायीमाथि ठूलो बज्रपात थपिएको संगठनले उल्लेख गरेको छ । आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका उद्योगहरूमाथि एकपछि अर्को समस्याहरू थपिरहँदा समेत समस्या समाधानमा सरोकारवाला निकायले समेत चासो नदेखाएको संगठनले जनाएको छ । संगठनका अनुसार पछिल्लो समय सुुनसरी मोरङ औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरू संकटमा रहेका छन् ।

निरन्तर सञ्चालनमा रहनुपर्ने उद्योगहरूमा पूर्वजानकारी विनाविद्युत् आपूर्ति बन्द गरिदिँदा उत्पादन प्रक्रिया नै ठप्प हुने अवस्थामा पुगेको संगठनले जनाएको छ । नियमित विद्युत् नहुँदा कच्चा पदार्थ खेर जाने, मिलमेसिनरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई हुुने विज्ञप्तिमा उल्लेख छ । यस्तै, संगठनले उद्योगलाई अनावश्यक आर्थिक भारवहन गर्नुपरिरहेको प्रतिगम्भीर हुन आग्रह समेत गरेको छ । उद्योग व्यवसायको सहज सञ्चालनका लागि विद्युत्को सहज एवम् निरन्तर आपूर्तिका लागि संगठनले प्राधिकरण तथा सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया