Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा हो: मन्त्री सुदन

पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा हो: मन्त्री सुदन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले देशको आर्थिक विकासको सम्भावनाको क्षेत्र पर्यटन भएकोले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा भएको बताएका छन् । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित ‘४५औँ पर्यटक प्रहरी दिवस, २०८०’ समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले उक्त कुरा बताएका हुन् ।

पर्यटनको विकासमा सुरक्षा भएपछि मात्रै सम्रग पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न सकिने समेत उनले चर्चा गरे । समारोहमा मन्त्री किरातीले पर्यटन क्षेत्र तथा पर्यटक प्रहरी कार्यमा विशेष योगदान पुर्याउने विभिन्न संघसंस्थाका व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । उनले पर्यटकको साथी पर्यटक प्रहरी भएको चर्चा गर्दै पर्यटकको सुरक्षाका साथसाथै देशको कानुन अनुसार पर्यटकले गर्ने गतिविधि बारेमा सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र सम्वृद्ध समाज निर्माण गर्न सबै आवद्ध सरोकारवाला निकायहरू अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका थिए । महानिरीक्षक कुँवरले पर्यटक प्रहरीले विगत लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सेवा सुविधा र गुनासो व्यवस्थापनको लागि गर्दै आएको कार्य सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा सेवा प्रवाहको स्तर अझ बढाउँदै लैजान यसमा आवद्ध प्रहरी कर्मचारीहरू कृतसंकल्पित रहनु पर्ने बताए ।

अतिथि देवोः भवःको मन्त्रलाई आत्मसाथ गर्दै उच्च व्यावसायिकता र निष्ठाका साथ आगामी दिनमा समेत नेपाल प्रहरीको मात्र नभई नेपालकै ईज्जत वृद्धि गर्ने लक्ष्यसहित आफ्नो कर्म निदृष्ट गर्न पर्यटक प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूमा उनले विशेष अनुरोध गरे ।

नेपाल सुन्दर मात्र हैन सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘हाम्रो उद्देश्य, नेपाल भ्रमणमा पाल्नु हुने कुनैपनि विदेशी पाहुनालगायत आन्तरिक पर्यटनमा रमाउने हाम्रा स्वदेशी नागरिकहरूले कतै नकारात्मक अनुभव गर्न नपरोस् र उहाँहरूलाई आइपर्ने समस्याहरूको व्यावसायिक समाधान होस् भन्ने नै हो ।’

उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दिपक काफ्ले र होटल व्यवसायी संघ नेपालका अध्यक्ष विनायक शाहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्कृति पर्यटन विभागका महानिर्देशक चक्र बहादुर बुढाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै, उनीहरुले पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित टेबलटेनिस प्रतियोगिताका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई मेडल तथा प्रमाणपत्र समेत प्रदान गरे ।

कार्यक्रममा पर्यटक प्रहरीको गतिविधि समेटिएको वृत्तचित्र प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया