Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमध्यपहाडी लोकमार्ग हिमपातले अवरुद्ध

मध्यपहाडी लोकमार्ग हिमपातले अवरुद्ध


ढोरपाटन (बागलुङ) । बिहीबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको जानकारी दिए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उनको भनाइ छ । घर्ती मगरले हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने बताए ।

हिमपात भइरहेको हुँदा बिहीबार सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ । उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ ।

बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । यता ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया