Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरा विमानस्थललाई चल्न नसक्ने बनाएर अर्ब बढी भ्रष्टाचार

पोखरा विमानस्थललाई चल्न नसक्ने बनाएर अर्ब बढी भ्रष्टाचार


नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा बढी यात्रु हुन थालेपछि यसको विकल्पको रूपमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निकम्मा भएको छ । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय विमानहरू सिधै पोखरा आउने र विश्वसँग पर्यटकीय नगरी पोखराको सिधै सम्पर्क हुनुका साथै पर्यटकको आगमन बढ्ने अनुमानसहित पोखरामा गरिएको अर्बौँ लगानी खेर गइरहेको पोखराका पर्यटन व्यवसायीहरूले बताउने गरेका छन् । नयाँ बनेको पोेखरा विमानस्थलमा एक वर्षमा पाँच वटा मात्र अन्तर्राष्ट्रिय विमानहरूले चार्टर लगायतका नाममा उडान गरे पनि व्यावसायिक उडान हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ पुष १७ गते उद्घाटन गरेको गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार गर्नकै लागि बनाइएको विभिन्न अध्ययनहरूले देखाएको छ ।सामान्यतया वायुसेवा कम्पनीहरूले पैसा कमाउनकै लागि विमानहरू उडाउने गर्छन् । तर साना अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र उडान भर्ने बोइङ ७३७ वा एयरबस ३२० का न्यारोबडी जहाजहरू समेत पूर्ण क्षमतामा उडान अवतरण गर्न नसक्ने गरी पोखरा विमानस्थल बनाएर भ्रष्टाचार गरेको पाइएको हो ।

यस्ता जहाजहरू पूर्ण क्षमतामा उड्दा ७७ टन हुन्छ भने अहिलेको रनवेको कारण सातदेखि १० टन कम क्षमतामा उडाउनुपर्ने भएको छ । तत्कालीन समयमा विमानस्थल बनाउँदा नेपाल नागरिक उडड्यन प्राधिकरण र विमानस्थल बनाउने चिनियाँ कम्पनी सीएमएनसी इन्जिनियरिङबीच भएको ठेक्का सम्झौताको बुँदा नं. ५.१ मा विमानस्थल बनाउन थाल्नु अगाडि फ्लाइट प्रोसिडर डिजाइन गर्नुपर्छ भन्ने उल्लेख भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने यो काम नगरेको र चिनियाँ ठेकेदार कम्पनीले सो कुरा नहेरी निर्माण थालेको पाइएको हो । फ्लाइट प्रोसिडर डिजाइनले विमानस्थल बनाउन उपयुक्त छ वा छैन, कस्तो बनाउनुपर्छ भन्ने कुरा यकिन गर्ने भए पनि प्राधिकरणले सो काम नै नगरेको पाइएको हो । पोखरामा विमानस्थल बनाउँदा यसको रनवे उचाइमा चलाखी गरेर एक अर्बभन्दा बढी भ्रष्टाचार गरेको पाइएको हो ।

अमेरिकी टुपोग्राफिक नक्साको रियल डेटाअनुसार निर्माण थाल्नु अगाडि नै रनवे पश्चिमतर्फको बाउन्ड्री उचाइ २६७७ फिट र प्राकृतिक नक्साअनुसार पश्चिमतर्फको बाउन्ड्री २६७४ फिट उचाइमा रहेको र रनवे बनाउँदा प्राकृतिक नक्साअनुसारको उचाइमा बनाउनुपर्नेमा तोडमोड गरी २० फिट गहिरो रनवे बनाएर भ्रष्टाचार गरेको भेटिएको हो । जसले गर्दा ठूला विमानहरू समेत पूर्ण क्षमतामा चल्न नसकेका हुन् ।रन वे बनाउन आवश्यक पर्ने ढुङ्गा माटो ग्राभेलहरू हाल्नका लागि कर तिरेर पाँच किलोमिटर टाढाबाट ल्याएर हाल्नुपर्ने थियो र त्यसको लागि ८० लाख ६४ हजार दुई सय १८ रुपैयाँ ८९ पैसा डलर छुट्याइएको थियो तर त्यसको लागि समेत बाहिरबाट माटो नलगी त्यहीँ भएको माटो प्रयोग गरेर एक अर्ब आठ करोड नेपाली रुपैयाँ भ्रष्टाचार गरेको विभिन्न तथ्यहरूले देखाएको छ । विमानस्थलको भ्रष्टाचार रनवेबाट नै सुरु भएको हुँदा यसको अन्य संरचनाहरूमा समेत सोहीअनुसारको भ्रष्टाचार भएको हुने अनुमान गरिएको छ । विमानस्थलको रनवेमा नै भ्रष्टाचार गरेर साना विमानहरू समेत पूर्ण क्षमतामा उडान अवतरण गर्न नसक्ने गरी अपाङ्ग बनाउनेमध्येको प्रमुख पात्र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी रहेको आरोप लागेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया