Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपैसा हुनेले परिवारलाई मात्र रोजगारी दिए

पैसा हुनेले परिवारलाई मात्र रोजगारी दिए

व्यापारिक प्रतिष्ठानहरूमा बाह्य रोजगारी २० प्रतिशत पनि छैन


काठमाडौं । मुलुकका थोक तथा खुद्रा व्यापारिक प्रतिष्ठानमा एकाघरका परिवारका सदस्यहरूको मात्र वर्चस्व देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशमै दोस्रो पटक शुक्रबार ‘नेपाल व्यापार सर्वेक्षण, २०७८’ सार्वजनिक गर्दै थोक तथा खुद्रा व्यापारमा व्यापारिक समूहले पैसा नहुने वर्गलाई रोजगारी दिनेभन्दा पनि आफूले लगानी गरेर आफ्नै परिवारका सदस्यहरूलाई मात्र रोजगारी दिएको देखाएको छ । कार्यालयले २०६५ सालमा पहिलो व्यापार सर्वेक्षण सार्वजनिक गरेको थियो ।

सर्वेक्षणमा मुलुकभर झण्डै पाँच लाख थोक तथा खुद्रा व्यापारिक प्रतिष्ठान हुँदा ८० दशमलव ५८ प्रतिशत थोक तथा खुद्रा व्यापारी बेतलबी र बाँकी १९ दशमलव ४२ प्रतिशत तलबी सदस्य रहेको पाइएको छ । यसले व्यापारिक प्रतिष्ठानहरू घरेलु क्लबजस्ता देखाएको छ । थोक तथा खुद्रा व्यापारमा पारिवारिक संलग्नता हुँदा आफ्नो घरका सदस्यलाई तलब, भत्ता, बिदालगायतका सेवा सुविधा दिनुपर्ने बाध्यकारी व्यवस्था नहुँदा सो स्थिति देखिएको हो ।

कार्यालयले २०६५ सालमा दर्ता भएका व्यापारिक प्रतिष्ठानको मात्र सर्वेक्षण गरेको थियो भने २०७८ को सर्वेक्षण २०८० सालमा सार्वजनिक गर्दा भने दर्ता भएका र नभएका दुवै प्रतिष्ठानको सर्वेक्षण गरेको जनाएको छ । सर्वेक्षण सुरु गर्दा १८ हजार प्रतिष्ठानको अध्ययन गर्ने लक्ष्य लिइए पनि १५ हजार तीन सय व्यापारिक प्रतिष्ठानको मात्र सर्वेक्षण गरिएको कार्यालयका लेखा महाशाखा प्रमुख डिल्लीराज जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

जोशीका अनुसार व्यापार/व्यवसाय गर्ने प्रतिष्ठानले वस्तु तथा सेवा बिक्री गर्दा यसको अवस्था, रोजगारी, पुँजी निर्माणमा भूमिका, ज्याला अर्थात् तलबको अवस्था, सहभागिता, क्षेत्रअनुसारको व्यापारको अवस्थालगायतको विषयको तथ्यांक संकलन गर्नु थियो । त्यही कारण दर्ता वा दर्ता नभएको दुवै किसिमका प्रतिष्ठानलाई सर्वेक्षणमा सहभागी गराइएको थियो ।

शुक्रबार सार्वजनिक गरिएको उक्त सर्वेक्षणअनुसार मुलुकभर थोक तथा खुद्रा व्यापारमा प्रतिष्ठानहरूको संख्या चार लाख ९८ हजार ५८ छ । जसमध्ये करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान कुनै न कुनै सरकारी निकायमा दर्ता भएका छन् भने करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरू दर्ता नगरी सञ्चालन भइरहेका छन् । पछिल्लो समयमा दर्ता गरेर व्यापारिक फर्म सञ्चालन गर्ने संख्या वृद्धि हुनुमा स्थानीय तहले कर संकलनका लागि अभियानकै रूपमा व्यापारिक प्रतिष्ठान दर्ता गर्नु हो ।

थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानहरूमा ११ लाख ३० हजार छ सय ४५ जनाको संलग्नता अर्थात् कार्यरत रहेका जनाएको छ । कार्यरतमध्ये ३६ प्रतिशत अर्थात् चार लाख तीन हजार नौ सय ६४ जना महिला र ६४ प्रतिशत अर्थात् सात लाख २६ हजार छ सय ८१ जना पुरुष रहेका छन् ।

तथ्यांक कार्यालयको नेपाल व्यापार सर्वेक्षण २०७८ की संयोजक प्रभा बरालका अनुसार स्तरीकृत नमूना छनौट विधिबाट सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणअनुसार थोक तथा खुद्रा व्यापारमा संलग्न अर्थात् रोजगारी पाएकामध्ये तलब प्राप्त गर्ने महिला ३९ दशमलव चार प्रतिशत र पुरुष ६० दशमलव छ प्रतिशत र तलब प्राप्त नगर्ने महिला २० दशमलव पाँच प्रतिशत र पुरुष ७९ दशमलव पाँच प्रतिशत रहेका छन् ।

कहाँ कति थोक तथा खुद्रा व्यापारिक प्रतिष्ठान ?
सर्वेक्षणअनुसार थोक तथा खुद्रा व्यापारिक प्रतिष्ठानहरू कोशीमा ८९ हजार २३ वटा, मधेशमा ७४ हजार दुई सय २२ वटा रहेका छन् । ती प्रष्ठिानहरूमा क्रमशः एक लाख ९० हजार चार सय जना र एक लाख ६१ हजार पाँच सय ६९ जना कार्यरत छन् । बागमतीमा एक लाख ४४ हजार चार सय ४० वटा प्रतिष्ठानमा तीन लाख ७१ हजार नौ सय ८२ जना र गण्डकीमा ५० हजार पाँच सय ७५ वटा प्रतिष्ठानमा एक लाख छ हजार नौ सय ५९ जना कार्यरत छन् । लुम्बिनीमा ८३ हजार छ सय ७२ वटा, कर्णालीमा २२ हजार सात सय २८ वटा र सुदूरपश्चिममा ३३ हजार तीन सय ९८ वटा व्यापारिक प्रतिष्ठानमा क्रमशः एक लाख ८५ हजार ८६ जना, ४७ हजार छ सय जना र ६६ हजार नौ सय ३४ जना कार्यरत छन् ।

कुन प्रदेशमा कति महिला ? सर्वेक्षणअनुसार कोशी, मधेश र बागमतीका प्रतिष्ठानमा क्रमशः ४० दशमलव तीन प्रतिशत, २३ प्रतिशत र ३८ दशमलव एक प्रतिशत महिला प्रतिष्ठानमा संलग्न छन् । गण्डकी प्रतिष्ठानमा ४४ दशमलव एक प्रतिशत र लुम्बिनी प्रतिष्ठानमा ३१ प्रतिशत महिला संलग्न रहेका छन् । कर्णाली र सुदूरपश्चिमको प्रतिष्ठानहरूमा क्रमशः ४५ दशमलव नौ प्रतिशत र ३२ दशमलव पाँच प्रतिशत महिला संलग्न छन् ।

२६ प्रतिशत लगानीकर्ता महिला रहेका प्रतिष्ठानमा कोशीमा मात्र ३१ दशमलव सात प्रतिशत महिला लगानीकर्ता रहेको प्रतिष्ठान रहेको छ । मधेशमा १० दशमलव आठ प्रतिशत, बागमतीमा ३१ दशमलव तीन प्रतिशत, गण्डकीमा ३५ दशमलव एक प्रतिशत र लुम्बिनीमा २१ दशमलव पाँच प्रतिशत महिला लगानीकर्ताद्वारा प्रतिष्ठान सञ्चालन गरिएको छ । कर्णालीमा २४ दशमलव आठ प्रतिशत, सुदूरपश्चिममा १८ दशमलव पाँच प्रतिशत महिला लगानीकर्ताद्वारा प्रतिष्ठान सञ्चानल गरिएको छ ।

तथ्यांक कार्यालयका अनुसार मोटर व्यवसाय गर्ने महिलाहरूको संख्या न्यून देखिएको छ । मोटर व्यापार तथा मर्मत व्यवसायमा पुरुषको स्वामित्वमा ९२ दशमलव एक प्रतिशत र महिलाको स्वामित्वमा सात दशमलव नौ नौ प्रतिशत मात्र छ । त्यस्तै, होलसेल व्यवसायमा पुरुषको स्वामित्वका ८४ दशमलव एक प्रतिशत र महिलाको स्वामित्व १५ दशमलव नौ प्रतिशत, खुद्रा व्यापारमा पुरुषको स्वामित्व ७३ दशमलव एक प्रतिशत र महिलाको २६ दशमलव नौ प्रतिशत तथा सबै किसिमको व्यवसायमा पुरुषको स्वामित्व ७४ दशमलव दुई प्रतिशत र महिलाको स्वामित्व २५ दशमलव आठ प्रतिशत रहेको छ ।

विभिन्न वस्तुहरूको खरिद तथा बिक्री गर्दा हुने व्यापारअन्तर अनुमान र व्यापारिक प्रतिष्ठानहरूको रोजगारी, तलब/ज्याला, पुँजी निर्माणलगायतका तथ्यांक संकलन गर्नु मुख्य उद्देश्य रहेको सर्वेक्षणको क्रममा प्राप्त नतिजाहरूको विश्लेषणबाट व्यापार क्षेत्रमा रहेको विद्यमान अवस्थाको चित्रण हुनगई सरकारलाई वाणिज्य नीतिमा सामयिक सुधार र परिमार्जन गर्न वस्तुनिष्ठ आधार तयार हुनुका साथै सो क्षेत्रमा सरोकार राख्ने उद्योगपति, व्यापारी, अनुसन्धानकर्ता योजनाविद् तथा नीति निर्माता समेतको लागि उपयोगी हुने बताइएको छ ।

रोजगारी कति ? प्रतिवेदन तयार गर्ने क्रममा एक सयवटा प्रतिष्ठानमा मात्र हेर्दा औसत एक सय ४६ जना पुरुष र ८१ जना महिला रोजगारीमा रहेको देखियो भने एउटा प्रतिष्ठानमा औसतमा दुई जना कामदार कार्यरत रहेको पाइयो । यसैगरी थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानहरूमा संलग्न कामदारहरूमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारहरूका संख्या १९ दशमलव ४२ प्रतिशत अर्थात् दुई लाख १९ हजार पाँच सय ५१ जना रहेका छन्, जसमा महिला ३९ दशमलव ४० प्रतिशत अर्थात् ४५ हजार नौ जना महिला र ६० दशमलव ६० प्रतिशत पुरुष अर्थात् एक लाख ७४ हजार पाँच सय ४२ जना पुरुष रहेका छन् ।

सर्वेक्षणले थोक तथा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानहरूमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब ज्याला र अन्य सुविधा नलिई (परिवारका सदस्य) काममा संलग्न रहेको व्यक्तिको संख्या बढी रहेको देखिएको छ । साथै तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक छ लाख चार हजार नौ सय १२ रुपैयाँ खर्च हुनेगरेको छ भने प्रतिकामदार औसत वार्षिक दुई लाख आठ हजार चार सय ९४ रुपैयाँ खर्च हुनेगरेको उल्लेख गरिएको छ । सर्वेक्षणले केन्द्रीय उत्पादन वर्गीकरण (सीपीसी) अनुसार उपभोग्य सामग्रीहरूको व्यापार मार्जिन अनुमान गर्न, थोक तथा खुद्रा व्यापारका लागि आवश्यक लगानी तथा स्थापना, आम्दानी, खर्च, आवश्यक जनशक्तिलगायतका विषयमा जान्न, थोक र खुद्रा व्यापारको जानकारी प्राप्त गर्न र राष्ट्रिय खातामध्यको थोक तथा खुद्रा व्यापारको तथ्यांक लिन उपयोगी हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया