Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअख्तियार नै ‘बार्गेनिङ’को थलो आयुक्त नै हाल्छन् बेनामी मुद्दा

अख्तियार नै ‘बार्गेनिङ’को थलो आयुक्त नै हाल्छन् बेनामी मुद्दा


काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायको रूपमा स्थापना भएको शक्तिशाली निकाय हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ।

अख्तियारले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिहरूलाई अंगीकार गरी कार्यसम्पादन गर्नुपर्नेमा त्यसको ठीक विपरीत भ्रष्टाचारविरोधी चर्का–चर्का कुरा गर्ने तर व्यवहारमा भने ‘बार्गेनिङ’ र जता हे¥यो त्यतै बढेको भ्रष्टाचारलाई छाडा छाड्ने गरेको छ ।

अख्तियारका पछिल्ला गतिविधिहरूले के देखाएको छ भने उसले कतिपय उजुरीमा कमजोर अनुसन्धान गरी भ्रष्टाचारलाई संस्थागतरूपमा मौलाउन दिने गरेको छ । जनताले भ्रष्टाचार भयो भनेर महसुस गरेका विषयलाई अख्तियारले यो वा त्यो नाममा कतै छानबिन नै नगर्ने त कतै छानबिनको नाममा नाटक मञ्चन गरेर सफाइ दिनेगरेको छ । अख्तियारको छानबिन स्वार्थमा आधारित छ । उसले आफ्नो स्वार्थका लागि मात्र छानबिन गर्छ र अख्तियारको दुरूपयोग गर्नेहरूलाई उसले कारबाही नै गर्न सक्तैन वा गरिरहेको छैन ।

अख्तियारले यतिसम्म बार्गेनिङ गरेको छ कि बहालवाला अख्तियारका आयुक्तहरू आफैँले कतिपय विकास आयोजनाको बारेमा उजुरी गरेर आफैँले छानबिन गरी बार्गेनिङ गरिरहेका छन् । केही आयुक्तले पुल योजना त केही आयुक्तले सडकको विषयमा आफैँले बेनामी उजुरी हालेर विकास आयोजना सञ्चालन गर्ने सरकारी निकायसँग उच्च बार्गेनिङ गरिरहेका छन् । उनीहरूकै बार्गेनिङका कारण कतिपय योजनाहरू अलपत्र अवस्थामा छन् । यसले जनतालाई नै बढी मर्कामा पारेको छ । किनकि पुल, सडक, सिँचाइ योजना, भवनहरू समयमा निर्माण नहुँदा सेवाग्राही नै मर्कामा छन् ।

नेपालमा नेताहरूले योजनामा समावेश गरेका पुल, सडक, भवनका योजना कर्मचारीहरूले अगाडि बढाउन सक्दिनँ भन्न सक्तैनन् । अहिलेका बहालवाला प्रमुख आयुक्त÷आयुक्त सरकारी पदमा बसेरै गएका हुन् । उनीहरूले पनि मन्त्रीले समावेश गरेका योजना कार्यान्वयन गर्न सक्तिनँ भनेर कहिल्यै भनेनन् । अहिले सञ्चालित विकास योजना÷आयोजनामा पनि यस्तै अवस्था छ । अर्थात् काम गर्न सक्तिनँ भनेर भन्ने अवस्थामा कर्मचारी छैनन् । तर, अख्तियारले गतल ठाउँमा योजना समावेश गर्नेलाई होइन योजना परेपछि कार्यान्वयन गर्ने निकायका अधिकारीहरूलाई बार्गेनिङ गर्दै कारबाही गरिरहेका छन् । बार्गेनिङ मिलेमा सफाइ र बार्गेनिङ नमिलेमा कारबाही गर्नेगरेका छन् ।

अख्तियारमा रहेका आयुक्तहरूले उजुरी दिएर छानबिन गर्न मिल्दैन तर उनीहरूले अहिले कुनै बेला आफूले असहमति राखेका योजनाहरूमा विशेष रुचिका साथ अनुसन्धान गरिरहेका छन् । यो भ्रष्टाचार निर्मूल पार्नका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका
लागि गरिएको बार्गेनिङको उदाहरण हो ।

‘अख्तियार नै बार्गेनिङमा छ’, एक मन्त्रालयका सहसचिवले भने, ‘आयुक्तका चासो परेका योजनाहरूका बारेमा छानबिनको नाममा दुःख दिइरहेका छन् ।’ अख्तियारले यतिसम्म बार्गेनिङ गरेको छ कि पहिला पुल किन समयमा सम्पन्न नगरेको भनेर छानबिन गरेको अख्तियारले अहिले किन पुल बनाएर सञ्चालन गरेको भनेर प्रश्न गरेर कर्मचारीहरूलाई तर्साइरहेका छन् । यसमा प्रमुख आयुक्त नै मौन छन् । सडक र सिँचाइ योजनाहरूको बारेमा पनि अख्तियारले त्यसैगरी बार्गेनिङ गरेको छ ।

अख्तियारमा बस्नेहरूको बार्गेनिङ नयाँ रोग होइन । विगतमा पनि यस्तै बार्गेनिङ हुन्थ्यो र अहिले सुधार गर्छौँ भनेर ठूला—ठूला गफ छाँट्ने आयुक्तहरू पनि त्यही लाइनमा छन् । यसले भ्रष्टाचार नियन्त्रण गर्न भनेर स्थापना गरिएको संवैधानिक निकाय नै चर्का कुरा गर्ने तर व्यवहारमा भने भ्रष्टाचार मौलाउन दिने काम गरिरहेको देखिन्छ ।

यतिसम्मका अख्यितारका पदाधिकारीहरू नै आफ्नो पद जोगाउन ठूला भ्रष्टाचारका मुद्दालाई कमजोर पारेर आफ्नै लागि बार्गेनिङ गरिरहेका छन् । अहिलेको गठबन्धन बन्नुअगाडि नियुक्त भएको अहिलेको अख्तियारको टोली ठूला भ्रष्टाचारका मुद्दामा छानबिन नगरी मौन बसेर आफ्नो लाइन क्लियर गरिरहेका छन् । अहिलेको अख्तियारको टोलीले न त माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्छ न वाइडबडी विमान खरिद गर्न शेरबहादुर देउवाको पालामा दिएको बैना रकमको बारेमा छानबिन गर्छ । न त ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतले गरेको निर्णयको बारेमा छानबिन गरेर मुद्दा दायर गर्छ !

छानबिन गरेका मुद्दाहरूमा पनि कमजोर तर्क गर्दै टुंग्याउने बहाना मात्र खोजिरहेको छ अख्तियार । उसले आफ्नो लाइन मिलाउन त्यहीअनुसार मिडिया समेत परिचालन गर्नेगरेको छ । दण्ड, जरिबाना वा पुरस्कृत सबै कार्यमा अख्तियारको टोलीले बार्गेनिङ गरिरहेको छ । बार्गेनिङ गर्ने अख्तियारको अहिलेको टिमले बाहिर भने सुशासनको गफ हाँक्ने गरेका छन् । आइतबार अख्तियार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख आयुक्तलगायत सबैले सुशासनको गफ दिए, तर भ्रष्टाचार उनीहरूकै अगाडि वा उनीहरूकै संकेतमा चहिलरहेको छ । बार्गेनिङ आफूहरूलाई नै सेटिङ गर्नका लागि भइरहेको छ । प्रमुख आयुक्त वा आयुक्तहरूलाई तह लगाउँछु भनेर सरकारको नेतृत्व गर्नेहरूले भनेर आफूमाथि लागेको आरोपका बारेमा छानबिन गर्न नदिने तथा आयोगमा बस्नेहरूले आफूमाथि कारबाही अगाडि बढाएमा छानबिन गर्छौ भनेर बार्गेनिङ गरिरहेका छन् । यी दुई निकाय अहिले झगडियाजस्तै छन् । तर, यी झगडियाको कार्यक्रममा अख्तियार दिवसको दिन प्रधानन्यायाधीश पनि अतिथिका रूपमा सहभागी भए ।

पदको दुरूपयोग गरेर राज्यकोषबाट उपचारखर्च लिएर दुरूपयोग गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले नै अख्तियार दिवसको दिन आइतबार भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु भएको बताए । उनले आफ्नो उपचार खर्च लिएर परिवारका सदस्यहरूको सबै खर्च राज्यकोषबाट दिलाएका थिए । अख्तियारको ३३औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक निकायमा पारदर्शिता जरुरी रहेको उल्लेख गरेका थिए ।

यता लडाकु शिविरमा अयोग्यहरूलाई राखेर राज्यसँग यति पैसा लिए भनेर भाषण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आइतबार अख्तियार दिवसको दिन भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताए । उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्नू भनेर अख्तियारलाई भनेनन् भने अख्तियारका प्रमुख आयुक्त प्रेम राईले पनि लडाकु शिविरलगायतका विषयमा छानबिन भइरहेको समेत बताउन सकेनन् । उसले नै अख्तियारको टोलीको अवस्था कस्तो छ भन्ने देखायो । प्रमुख आयुक्त÷आयुक्त अख्तियार दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको अगाडि निरीहजस्तै मात्र होइन सरकारलाई रिझाउने तरिकाले प्रस्तुत भएका थिए । एक किसिमका सरकारी भिजिलान्तेलाई वरिपरि राखेर हामी तिमीहरूकै सेवक हौँ भन्ने सन्देश अख्तियारको टोलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई दिएका थिए । अहिले पनि अख्तियारमा बिचौलिया र भिजिलान्तेको बोलवाल छ, जुन बोलवाला लोकमानसिंह कार्कीको पालामा पनि थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया