Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा ११ लाख आबद्ध

सामाजिक सुरक्षा कोषमा ११ लाख आबद्ध


काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ । कोषले योगदान रकम झण्डै ५० अर्ब रुपैयाँ पुगेको जनाएको छ । माघ मसान्तसम्म कोषको खातामा ४९ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ ।

अहिलेसम्म कोषमा ११ लाख ३९ हजार छ सय १० जना योगदानकर्ता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन सुरु गरेको थियो । करिब चार वर्ष अवधिमा कोषमा उत्साहजनक रकम जम्मा भएको कोषले दाबी गरेको छ । स्थानीय तहको उल्लेख्यरुपमा सहभागिता भएपछि कोषमा योगदान रकम र योगदानकर्ताको संख्या बढ्दै गएको छ । कोषले सातवटै प्रदेशका स्थानीय तहसँग सम्झौता गरी अगाडि बढिरहेको जनाएको छ । पछिल्लो समय कोषले गण्डकी प्रदेशका पाँचवटा जिल्लाहरु तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ र पर्वतका ३१ वटा स्थानीय तहसँग सम्झौता गरेको थियो । सम्झौताको क्रममा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसँग सामाजिक सुरक्षा योजना सञ्चालन सम्झौता सम्पन्न गरेको प्रवक्ता पन्थीले जानकारी दिए ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कोषमा योगदान रकम ४२ अर्ब २२ करोड रुपैयाँ संकलन भएको थियो । दोस्रो त्रैमासको अन्तिम अर्थात् पुस मसान्तमा चार अर्ब ४० करोड रुपैयाँले बढेर ४६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । माघ महिनामा मात्रै एक अर्ब ९० करोड रुपैयाँ बढी योगदान रकम थपिएको छ । यस आधारमा मासिक करिब दुई अर्ब रुपैयाँ योगदान रकम थपिँदै गएको छ ।

वैदेशिक रोजगारीमा रहेका र देशभित्रै बस्ने सबैले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगैे योगदान रकम र योगदानकर्ताको संख्या बढेको हो । गत आर्थिक वर्षको अन्तिमसम्म योगदान रकमस्वरुप कोषमा ३५ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको थियो । पछिल्लो आठ महिनामा १३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ ।

सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेको छ । जसकारण कोषमा सूचीकृत योगदानकर्ता र योगदान रकममा बढेको हो । कोषले गतवर्ष चैत दोस्रो सातदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो । अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख श्रमिक कोषमा आबद्ध भएका छन् । औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने र विदेशमा रहेकालाई समेत आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको पाइन्छ ।

कोषमा सूचीकृत रोजगारदाताको संख्या १८ हजार छ सय ९९ पुगेको छ । सुरुवात समयमा भन्दा हाल कोषले प्रदान गर्ने सुविधाहरुलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या पनि क्रमशः बढ्दै गएको कोषले जनाएको छ ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४को दफा १० अनुरुप औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरी काम गर्दै आएको छ ।

कोषले अहिलेसम्म औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९० करोड आठ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १० करोड ५२ लाख लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १२ करोड ५३ लाख रुपैयाँ र अवकाशतर्फ छ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ दाबी परेको उल्लेख गरेको छ । अहिलेसम्म सात अर्ब ५९ करोड ८६ लाख रुपैयाँ दाबी परेको कोषले जनाएको छ । योजनाअनुरुप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै आएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

अहिलेसम्म ११ लाख ३९ हजार छ सय १० जना योगदानकर्ताहरु कोषमा आबद्ध भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका हुन् । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ ।

कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वटा स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ ।

कोषले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा पनि दिएको छ । योगदानकर्तालाई घर र शैक्षिक सापटीको व्यवस्था गरिएको छ । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया