Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपकुलपतिमा माओवादी निकटका बराल नियुक्त

उपकुलपतिमा माओवादी निकटका बराल नियुक्त


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सत्तारुढ नेकपा माओवादी केन्द्रमा आबद्ध प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री दाहालले राजनीतिक आस्थाभन्दा पनि योग्यलाई उपकुलपति बनाउने प्रतिबद्धता जनाउँदै आए पनि त्यसको विपरीत गएर आफ्नै पार्टी निकटका बराललाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीले आवेदन दिनेभन्दा बाहिर गएर गैरराजनीतिक योग्यलाई उपकुलपति बनाउने अपेक्षाविपरीत आफ्नो पार्टीको विचार हिँड्ने बरारलाई नियुक्त गरेपछि विश्वविद्यालय सुधार्ने घोषणा कार्यान्वयनमा आशंका बढेको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनौट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेर बराललाई नियुक्त गरेका हुन् । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलालाई सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया