Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचितवन मिल्क उद्योग भण्डारण गर्ने ठाउँ नभएपछि बन्द

चितवन मिल्क उद्योग भण्डारण गर्ने ठाउँ नभएपछि बन्द


चितवन । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको जानकारी दिए । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको उनले बताए । ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको पराजुलीले बताए ।

पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०÷५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिए । उद्योग बन्द भएपनि झण्डै १६ लाखको बिजुली र १० लाख हाराहारीको डिजेल खर्च हुने गरेको उनले जानकारी दिए । योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख हाराहारीको भुस प्रयोग हुने गरेको उनको भनाइ छ ।

प्रशोधन गरिएको घ्यू सात सय हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ । ठाउँ अनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन् । यस हिसाबले पनि ४० करोडभन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताए । उनका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ ।

उद्योगका प्रबन्धक पराजुलीले प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन नसकेको बताए । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उनले बताए।

२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । २०६४ सालमा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ । प्रशोधन समेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया