Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनुवाकोटमा तीन जिल्लाका भूपू सैनिक सम्मेलन

नुवाकोटमा तीन जिल्लाका भूपू सैनिक सम्मेलन


बिदुर । नुवाकोट, रसुवा र धादिङ जिल्लाका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा फागुन ११ गते शुक्रबार सैन्य तालिम केन्द्र मैथिली ब्यारेकमा ‘भूतपूर्व सैनिक सम्मेलन २०८०’ सम्पन्न भयो ।

नुवाकोट जिल्लाको सुरक्षार्थ तैनाथ जबरजंग गणको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा श्री नं. ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायकरथी रोजप्रताप जबराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि सहायक रथी जबराले भूतपूर्व सैनिक तथा उनीहरूका परिवार र सैनिक एकल महिलाको इच्छा, आकांक्षा तथा आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने क्रममा सैनिक परिवारकै रगत, पसिनाबाट आर्जित कल्याणकारी कोषलाई पारदर्शीरूपमा सदुपयोग गर्दै लगिएको बताए । उनले अवकाश प्राप्त सैनिकलाई सेवा अवधिमा आर्जित ज्ञान, सिप, अनुभव र क्षमता आफ्नो गाउँघर, समाज र राष्ट्रको उत्थानका लागि प्रयोग गर्न समेत आग्रह गरे ।

सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माको सम्बोधन लाइभ टेलिकास्ट (प्रत्यक्ष प्रसारण) गरिएको थियो । सम्मेलनमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका २६ सय ६७ भूतपूर्व सैनिक तथा सैनिकका परिवारको सहभागिता रहेको जबरजंग गणका गणपति प्रमुख सेनानी चिरञ्जीवी पौडेलले जानकारी दिए । सम्मेलनमा रसुवाबाट २२, नुवाकोटबाट एक हजार एक सय ९३ र धादिङबाट एक हजार चार सय ५२ जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजन सहभागी थिए । कार्यक्रममा तीन जिल्लाको प्रतिनिधित्व हुने गरी फरक–फरक झाँक्री र फरक–फरक क्षेत्रको लोकनृत्य प्रस्तुत गरिएको थियो । सम्मेलनमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, रसुवाका तैनाथ विष्णुदल गणका गणपति प्रमुख सेनानी विक्रम थापा, धादिङ जिल्लामा तैनाथ शिवदल गणका प्रमुख सेनानी अरूण कार्कीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया