Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदी व्यवसायीहरुबीच शीतयुद्ध

सुनचाँदी व्यवसायीहरुबीच शीतयुद्ध

भारत सुन तस्कर गरेको आरोपमा प्रहरीमा पर्यो किटानी जाहेरी


काठमाडौं । नेपालमा कारोबार गर्दै आएको विभिन्न देशका सुनचाँदी व्यवसायीहरूबीच एकले अर्कोलाई सिध्याउने खेल सुरु गरेका छन् । यसको सुरुवात भएको लामो समय भए पनि औपचारिकता भने मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसाय महासंघले जारी गरेको विज्ञप्तिले पुष्टि गरेको छ ।

सुनसँग सम्बन्धित यी दुई महासंघले विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक नरेन्द्रकुमार गुप्ता विवादास्पद पृष्ठभूमिको व्यक्ति भएको भन्दै विज्ञप्ति जारी गरेपछि विवाद सतहमा आएको हो ।

दुई महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले २०६७ सालदेखि सुनको आयात र वितरणलाई कोटा प्रणालीअन्तर्गत ल्याई उक्त सुन मुलुकभरका आम गहना व्यवसायीसमक्ष समानुपातिकरुपमा वितरण गर्ने जिम्मेवारी गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुलाई प्रदान गर्दै आएको छ । त्यसरी प्राप्त अख्तियारीलाई सम्बन्धित महासंघ र संघहरुले पारदर्शीरुपमा वितरण गर्दै आएको सर्वविदित छ ।’

निजी क्षेत्रले राज्यबाट प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक वहन गर्दै आएको विषयलाई अपव्याख्या गर्दै वीरगञ्ज ठेगाना उल्लेख भएको रेस खबर नामक अनलाइन पत्रिकाले काठमाडौंको विशाल बजारमा श्री रिद्धिसिद्धि ज्वेलरी हाउस नामक गहना पसल सञ्चालन गर्दै आएका नरेन्द्रकुमार गुप्तालाई स्रोत व्यक्तिको रुपमा उल्लेख गर्दै भ्रामक र लान्छनायुक्त अभिव्यक्तिहरु सम्प्रेषण गर्दै गहना व्यवसायीका प्रतिष्ठित संस्था र व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने कार्य निरन्तररुपमा भइरहेको तर्फ गहना व्यवसायीहरुका छाता महासंघहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त व्यक्तिले र उक्त सञ्चार माध्यमसँगको अन्तरसम्बन्धलाई अस्वीकार गरेका छन्, तर उनैलाई स्रोत व्यक्ति उल्लेख गर्दै उनकै मुखपत्रको रुपमा तीव्र गतिमा भ्रामक समाचार प्रसारण भई नै रहेकोले सम्पूर्ण गहना व्यवसाय र व्यवसायीहरुको भविष्य ध्वस्त पार्ने गरी भइरहेका षड्यन्त्रपूर्ण कार्यहरुबारे छलफल गर्न आज विहान २०८० फागुन १३ गते काठमाडौंमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एवं नेपाल सुनचाँदी व्यवसायी महासंघ र विभिन्न सम्बद्ध संघको संयुक्त भेलाले उक्त व्यक्ति र सञ्चार माध्यमको भ्रामक र लान्छानायुक्त गतिविधिलाई चिर्दै सत्य तथ्य सार्वजनिक गर्ने निर्णय गरेको जानकारी गराउँदछौँ ।

श्री रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक गुप्ता नितान्त विवादास्पद पृष्ठभूमिका व्यक्ति भएकोले आफ्ना रहस्यमय सम्पूर्ण गतिविधिहरु छानबिनको दायरामा पर्ने भयले त्रसित र आतंकित भई नियामक निकायको ध्यान अन्यत्रै मोड्ने दुराशयले त्यस्ता भ्रामक र निराधार आरोप लगाई नियामक निकायमा उजुरी समेत दिएको बुझिन आएको छ । तसर्थ निजका सम्पूर्ण रहस्यमय गतिविधिको अविलम्ब छानबिन गर्न एवं निज र उक्त सञ्चार माध्यमबीचको अन्तरसम्बन्धको छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनको कठघरामा ल्याउन आजको भेलाले नेपाल सरकारका सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गरेको अवगत गराउँदछौँ विज्ञप्तिमा भनिएको छ ।

दुई महासंघले विज्ञप्ति नै जारी गरेर रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक गुप्ता विवादास्पद व्यक्ति रहेको बताएपछि दुईमध्ये नेपाल रत्न तथा आभूषण संघ काठमाडौंको वरिष्ठ उपाध्यक्ष रहेको उनै गुप्तासँग प्रश्न गर्दा उनले १५ वर्षदेखि यस संघको विभिन्न तहमा रहेर काम गर्दै आएको र संस्था र देशको पक्षमा काम गर्न खोज्दा आफूमाथि अपमान गरिएको बताए ।

उनले आफू लामो समयदेखि सुनको कोटाभित्रको विकृतिको रुपमा बोल्दै आएको र यसमा बेथिति गर्ने केही पदाधिकारीहरुले यी दुई महासंघको दुरुपयोग गरेर विज्ञप्ति निकालेका बताएका छन् । उनीहरुको अनुसार व्यवसायी र नेपाली जनता मुर्ख हुन्, हामीहरुले जे बोले पत्याउँछन् यो भाष्य गलत हो, गुप्ताले भने मेरो अनुरोध कोटा सुनको आडमा भारत तस्करी नगर्नुस् त्यस्ता तस्करलाई संरक्षण नगर्नुस् ता कि कोटा वितरण ठीक ढंगले दामासायीले वास्तविक गहना व्यवसायीलाई गरिदिनुस् र केही पदाधिकारीले गर्दा दुईवटा ठूला महासंघको नाम बदनाम हुने काम नगरिदिनुस् ।

खुलेआम नेपाली व्यवसायीहरुलाई कोटामार्फत आएको सुन नदिएर भारत तस्कर हुँदा समेत राज्य संयन्त्र गुपचुप बसेर सुन तस्कर घटाउँछु भनेर भाषण गर्नु दुर्भाग्य रहेको गुप्ताले बताए ।

कोटाको आडमा सुन भारतमा तस्कर भइरहेको विषयमा नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा नेपाल रत्न तथा आभूषण संघ काठमाडौंको निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका अध्यक्ष सुमनमान ताम्राकार, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका द्वितीय उपाध्यक्ष निर्मल ज्योति तुलाधर र यिनका सहयोगीहरुलाई सुन तस्करको विषयमा छानबिन गर्न भन्दै गुप्ताले प्रहरीमा ठाडो किटानी जाहेरी दिएको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया