Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रा. डा. दिव्यश्वरी मल्लको निधन

प्रा. डा. दिव्यश्वरी मल्लको निधन


काठमाडौं । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा.डा. दिव्यश्वरी मल्लको निधन भएको छ । डा. मल्लको शनिबार बिहान निधन भएको हो । ९० वर्षीया डा. मल्ल केही दिनयता बिरामी थिइन् । उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको हो । उनी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्वनिर्देशक तथा अध्यक्ष पनि थिइन् ।

उनले नेपालमा महिलाहरूको स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान पुयाएकी छिन् । उनी अप्रत्यक्ष रूपमा राजपरिवारको सदस्य पनि हुन् । राजा त्रिभुवनको ल्याइतेतर्फका ६ छोरीमध्येकी दोस्री छोरी दिव्यश्वरी राज्यलक्ष्मी देवीका रूपमा उनको वि.सं. १९९१ असोज ३ गते जन्म भएको थियो । उनको जन्मदर्तामा जन्मस्थान सिफल लेखिएको छ भने बुबाको नाममा टिबी शाह लेखिएको छ । टिबी शाह राजा त्रिभुवनको छोटो नाम हो । आमाको नाम भने मेरी रोज लेखिएको छ ।

राजा त्रिभुवनको ब्याइतेतर्फबाट चार छोरी र ल्याइतेतर्फबाट नौ छोरीको जन्म भएको थियो । राजा त्रिभुवनको भित्रिनी (ल्याइते) तर्फबाट जन्मेका तीन छोरीहरूको भने ९० सालको भूकम्पमा वीरशमशेरले बनाइदिएको नारायणहिटी दरबार भत्किँदा पुरिएर निधन भएको थियो ।

भित्रिनीतर्फबाट जन्मिएकी पहिलो छोरीका बारेमा कतै केही उल्लेख गरिएको पाइँदैन । अन्य पाँचमा दिव्यश्वरी राज्यलक्ष्मी, प्रजा राज्यलक्ष्मी, अचला राज्यलक्ष्मी, टीका राज्यलक्ष्मी, विमला राज्यलक्ष्मी हुन् । आमाको सामिप्यतामा मामाघरमा हुर्किकी उनले १३ वर्षको हुँदा बल्ल दरबार हाइस्कुलमा भर्ना हुन पाएकी थिइन् । त्यहाँ ६ कक्षामा भर्ना भएकी उनले २००८ सालमा मेट्रिक उत्तीर्ण गरेकी थिइन् ।

मेट्रिक उत्तीर्ण गरेपछि उनले दिल्लीमा गएर आइएस्सी पास गरीन् र त्यहीँ लेडी होर्डिङ मेडिकल कलेजबाट एमबिबिएस गरेर नेपाल फर्किएकि थिइन् । नेपाल फर्किएपछि उनले वीर अस्पतालमा महिला वार्ड तथा प्रसूति वार्डमा काम गर्न थालिन् ।

उनले जीवनकाल सधैँ सेवा भावमा नै बिताइन् । अवकाश पनि ढिलो पाइन् । तर, उनले जीवनमा कहिल्यै राजपरिवारको सदस्यका रूपमा आफूलाई चिनाइनन् । साथै राजपरिवारको सदस्यका रूपमा कतै सुविधा वा सहजता पनि खाजिनन् । एक साधारण नेपाली परिवारको महिलाले झैं जीवनलाई संघर्ष र अरूको सेवामा बिताईन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया