Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझापाको भगवती लेमिनेट्समा भएको आगलागी शंकास्पद

झापाको भगवती लेमिनेट्समा भएको आगलागी शंकास्पद


काठमाडौं । केही महिनाअघि मात्रै २५ करोडको राजस्व हिनामिनामा ३२ लाख मात्र तिरेर छुटेको झापा मेचीनगरस्थित ज्यामिरगढिमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्समा भएको आगलागी शंकास्पद रहेको पाइएको छ ।

गत फागुन २८ गते भएको आगलागीमा भगवती लेमिनेट्सको प्लाई उद्योगको मुख्य संरचनाहरू जलेर ध्वस्त भएका छन् ।

स्रोतका अनुसार लेमिनेट्समा हुनेगरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानबिनलाई समेत छलेर करोडौँ हिनामिना गरेको अवस्थामा थप अनुसन्धान नहोस् भनेर छल्ने र इन्स्योरेन्सबापत समेत करोडौँ आउने भएपछि खाली गोदाममा नक्कली आगालागी गरिएको बताइएको छ ।

गतवर्ष मात्र राजस्व हिनामिनामा भगवती लेमिनेट्स उद्योगका तत्कालीन सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दिपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई एकपछि अर्को गर्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान समेत गरेको थियो ।

लामो समयसम्म अनुसन्धान गर्नुपर्ने फाइलहरू अनुसन्धान नभई रोकिएपछि तत्कालीन समयमा राजस्व अनुसन्धान विभागको नियतमाथि समेत प्रश्न उठेको थियो ।

अहिले भने लेमिनेट्का मुख्य सञ्चालक रजनीश कर्नानीलगायतको योजनामा नै उद्योगमा आगलागी भएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार लेमिनेट्सले सर्क सर्किट भएर आगो लागेको र यसबाट ८–१० करोडको क्षति भएको प्रतिवेदन बनाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा इन्स्योरेन्स दाबी गर्ने योजना बनाएको छ ।

कम्पनीले ठूलो क्षति भएको बताए पनि स्रोतका अनुसार कम्पनीकै योजनाअनुसार आगोलागी भएको हुँदा आगलागी हुनुअगाडि सम्पूर्ण मूल्यवान् सामानहरू गोदामबाट निकालिएको र कबाडी सामानहरू मात्र भएको अवस्थामा उद्योगमा आगोलागी भएको थियो ।

झापास्थित इलाका प्रहरी कार्यालय धुलाबारीको अनुसार कम्पनीले नै बनाएर ल्याएको क्षतिसम्बन्धी प्रतिवेदनलाई इलाका प्रहरी कार्यालयले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल गरेरे पास गर्नेछ । सो प्रतिवेदनमा कम्पनीले सर्क सर्किटको कारण आगलागी भएको बताउने र क्षतिपूर्तिको लागि शिखर इन्स्योरेन्समा दाबी पेस गर्ने सम्भावना रहेको छ ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्सले वार्षिक एक अर्बभन्दा बढी कारोबार गर्नेगरेको थियो भने सरकारी संयन्त्रको आँखा छल्न कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालय समेत छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको थियो ।

झापामा रहेको लेमिनेट्सको दुईवटा कार्यालयमध्ये मेचीनगरमा पक्का बिल अर्थात् भ्याट बिलको कारोबार गरी काम गर्ने र धुलाबारीमा रहेको अर्को कार्यालयबाट भने कच्चा बिल अर्थात् नर्मल बिलबाट कारोबार हुनेगरेको स्रोतले दाबी रहेको छ ।

नेपाली लगानीकर्ताको भनेर उद्योग खोले पनि मूल लगानीकर्ता भने सीमापारिका रहेको र दोहोरो बिलको फण्डा खुल्नासाथ फसाउनकै लागि नेपालीहरूलाई हैसियतविनाको मालिक बनाएर राखिएको थियो ।

नेप्लाई ब्रान्डलाई आक्रामक विस्तार गरेको भगवती लेमिनेट्सले उत्पादन गरेको ए, बी र सी ग्रेडका प्लाइउडमध्ये ए ग्रेडको प्लाइउड बिक्री गर्दा समेत भ्याट छल्नकै लागि सी ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्नेगरेको पाइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया