Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशसूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री

सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री


गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रधानमन्त्रीले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताए । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिए ।

उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गरे । सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको योगदानको स्मरण गर्दै उनको नाममा स्थापित पुरस्कारले पोखरामा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई सम्मान गरेका थिए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया