Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगलागी भएको देखाएर शिखर इन्स्योरेन्सबाट १२ करोड हत्याउने दाउमा भगवती लेमिनेट्स

आगलागी भएको देखाएर शिखर इन्स्योरेन्सबाट १२ करोड हत्याउने दाउमा भगवती लेमिनेट्स


काठमाडौं । गत फागुन २८ गते सोमबार बिहान करिब ४ बजेतिर झापास्थित भगवती लेमिनेट्स प्रालि नामको उद्योगमा भीषण आगलागी भयो । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित उद्योगमा लागेको आगलागी नियन्त्रणमा लिन छिमेकी जिल्लाबाट समेत झिकाइएका १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब १२ घण्टा लाग्यो ।

नेपालकै ठूलोमध्येको एक प्लाइउड कम्पनी भगवती लेमिनेट्सले नेपप्लाई ब्रान्डका प्लाइउड उत्पादन गर्दै आएको छ । कम्पनीमा भीषण आगलागी हुँदा उद्योगका धेरैजसो सामान जलेर खरानी भएका छन् । भीषण आगलागी हुनुका पछाडि भवितव्यभन्दा पनि नियतवश बीमा दाबीभुक्तानी लिन गरेको देखिएको छ । स्थानीयबासीले भगवती लेमिनेट्सको आगलागी नियोजित भएको आरोप लगाउँदै आएका छन् ।

भगवती लेमिनेट्सले शिखर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा बीमा गरेको छ । गत फागुन २८ गते भएको आगलागी घट्नाको बीमा शिखर इन्स्योरेन्स कम्पनीमा गरेको पाइएको छ । भगवती लेमिनेट्सले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा दाबीभुक्तानी लिनको लागि कम्पनीमा नियोजितरूपमा आगो लगाएको आशंका स्थानीयले गरेका छन् ।

कम्पनीले आन्तरिक राजस्व कार्यालयमा बुझाएको खरिदबिक्रीसम्बन्धी लगबुकमा आर्थिक वर्षको अन्त्यमा मात्रै शंकास्पद खरिद देखाएको छ । एकातिर कम्पनीको खरिद शंकास्पद हुनु अर्कोतिर कम्पनीमा हुँदै नभएको स्टक आगो लागेर जलेर खरानी भयो भन्दै बीमा दाबी माग गर्ने प्रक्रिया अघि बढाउनुले घटनालाई थप रहस्यमय देखाएको छ ।

आर्थिक दैनिकलाई प्राप्त कम्पनीको गत आर्थिक वर्षको आयव्यय विवरणअनुसार कम्पनीले ५१ करोड ५१ लाख ७४ हजार सात सय ११ रुपैयाँको खरिद गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा कम्पनीले ४८ करोड ३७ लाख ८८ हजार नौ सय ११ रुपैयाँको एक लाखभन्दा बढी मूल्यका बिलमार्फत बिक्री गरेको छ । लेखापरीक्षण प्रतिवेदनको आधारमा पनि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा जम्मा ९९ करोड पाँच लाख ५९ हजार चार सय २४ रुपैयाँको बिक्री गरेको पाइएको छ ।

कम्पनीको नियमित स्टकमा बढी सामान देखाएर त्यहाँभित्र रहेको सामान अन्यत्रै राखी आगो लगाइएको स्थानीयवासीले दाबी गरेका छन् । पटक–पटक आगलागी हुने र बीमा कम्पनीसँग मिलेर बीमादाबी असुल्ने र बाँडेर खान पल्केको सो कम्पनीका अध्यक्ष विष्णु मदघोरिया र सञ्चालकहरू रजनिस कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सारिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवालले यस पटक शिखर इन्स्योरेन्स कम्पनीसँग विशेष ‘सेटिङ’ गरेको स्रोतको दाबी छ ।

आगलागी भएर जलेका बस्तुहरू मेसिन तथा तयारी बस्तु र कच्चापदार्थ समेतमा क्षति पुगेको भन्दै बीमादाबी लिन खोजिएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा मात्रै दाबी गर्ने हो वा अन्य बीमा कम्पनीमा पनि बीमा दाबी पर्दछ भनेर स्पष्ट भइसकेको छैन ।

नेपाली बीमा क्षेत्रमा डरलाग्दो रुपमा रहेको आफैँ आगो लगाएर दाबीभुक्तानी लिने रहेको छ । नियामक बीमा प्राधिकरणले गलत किसिमले बीमादाबी गर्नेलाई कारबाही गर्ने बताउँदै आएको छ । भगवती लेमिनेट्सको आगलागी सम्बन्धमा क–कसको मिलेमतो छ भनेर स्पष्ट हुन प्रहरीले थप छानबिन गर्नुपर्ने देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया