Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरआवासीय नेपालीलाई राष्ट्रिय परिचयपत्र र भोटिङ अधिकार दिन माग

गैरआवासीय नेपालीलाई राष्ट्रिय परिचयपत्र र भोटिङ अधिकार दिन माग


काठमाडौं  । गैरआवासीय नेपाली नागरिकता पाउने प्रावधान बनेसँगै गैरआवासीय नेपाली संघले राष्ट्रिय परिचयपत्र र मतदान अधिकार पनि पाउनुपर्ने माग राखेको छ ।

संघले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा आफ्नो सुझाव पेस गर्दै गैरआवासीय नेपाली नागरिकता पाएका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्रको व्यवस्थासहितको कानुनी प्रावधानमा समेट्न माग गरेको हो । यस्तै, विदेशमा रहेका गैरआवासीय नेपालीलाई मतदान अधिकारको व्यवस्था पनि मिलाउन आग्रह गरेको छ । संघले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, मताधिकार, लगानी प्रवद्र्धनलगायतका विषयहरूलाई समेट्न माग गरेको छ । यसैगरी ब्रिटिस गोरखा सैनिकहरूको समान हक तथा अन्य अधिकारका विषहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न, बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खाहरू र उनीहरूका सन्ततिका लागि वंशजको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा पूर्वाधार विकाससँगै समृद्ध नेपाल निर्माणका लागि गैरआवासीय नेपालीहरूको लगानी तथा ज्ञान, सिप र प्रविधि प्रोत्साहन गर्न आवश्यक कानुनी तथा नीतिगत बाधा अड्चन संशोधन गर्न, गैरआवासीय नेपाली ऐनमा रहेको लगानीसम्बन्धी व्यवस्थालाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समायोजन गर्न, धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन र नेपाली सरह लगानी गर्ने वातावरण नीतिगत सुधार गर्न संघले माग गरेको छ ।

साथै, नेपाली धितोपत्र बोर्डले जारी गर्ने सेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरूको कोटालाई अझ फराकिलो बनाउन र श्रम स्वीकृति नलिएकालाई समेत समेट्न आग्रह गरिएको छ । यस्तै, एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई पूर्वाधार विकासमा परिचालन गर्न, विप्रेषण पठाउने नेपाली श्रमिकलाई उनीहरूले पठाएको विप्रेषणमा दुई प्रतिशतका दरले थप अनुदान दिन, विदेशबाट नेपाल फर्किएका नेपालीहरूलाई व्यवसाय सञ्चालनका लागि सुलभ ऋण, तथा समग्र पुनर्एकीकरणको योजना कार्यान्वयन गर्न माग गरिएको छ ।

यस्तै, गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति रहेको मुलुकहरूमा नेपाली दूतावास तथा कूटनीतिक नियोग स्थापना गर्न, हाल विदेशबाट नेपाल पढ्न आउने नेपाली मूलका विदेशी नागरिक (पीएनओ) विद्यार्थीहरूले अध्ययन गर्नका लागि टुरिस्ट भिसामा आउनुपर्ने बाध्यता रहेकाले उनीहरूलाई विद्यार्थी भिसाको प्रावधान गर्न, नेपाली मूलका विदेशी नागरिकहरूलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको सुविधा प्रदान गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरूको लगानीहरूलाई सुनिश्चित गर्न र समृद्ध नेपालको अभियानमा विदेशमा रहेका नेपालीहरूलाई समेत सहभागी गराउनका लागि आगामी वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा संघको तर्फबाट पेस गरिएका विषयहरू समेट्न आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया