Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरीको दुहबीमा पनि चौधरी ग्रुपद्वारा सार्वजनिक जग्गा कब्जा !

सुनसरीको दुहबीमा पनि चौधरी ग्रुपद्वारा सार्वजनिक जग्गा कब्जा !


काठमाडौं । अर्बपति विनोद चौधरीको ग्रुपले सुनसरीको दुहबीमा गैरकानुनीरूपमा ११ कट्ठा १३ धुर सार्वजनिक जग्गा चौधरीले हडपेको पाइएको छ । चौधरीको समूहले जग्गा कब्जा गरेपछि यस विषयमा अख्तियारले समेत छानबिन गरिरहेको पाइएको छ ।

सुनसरी जिल्लाको दुहबी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहबी नगरपालिका वडा नं.–५)मा रहेको सो जग्गा विनोद चौधरीले बुबा लुनकरण दास र आमा गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल’ बनाउने भन्दै आफ्नो नाममा गरेको पाइएको हो ।

दुहबी गाविसको नाममा रहेको उक्त ७ (ख) कि.न. १९ ज.वि (०–९–८) ९ कट्ठा आठ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रुपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा जग्गा लगेको पाइएको हो । जग्गा हस्तान्तरणको लागि गाविसका अध्यक्ष धु्रवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेको पाइएको छ भने अन्य ७० जनाले समर्थन गरेका थिए ।

२०४९ साल चैत्र ४ गते बुधबार तत्कालीन दुहबी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो । निर्णयमा भनिएको छ, ‘दुहबी आदर्श गाविस वडा नम्बर ७ (ख) कि न. १७, १८ र १९ मा रहेको अधुरो अस्पताल भवन गाविसको आर्थिक अवस्थाको कारण पूरा हुन नसकेकोले उक्त अधुरो भवनमा श्री चौधरी ग्रुपले आफ्नो निजी स्रोतमा उक्त अधुरो अस्पताल भवन पूरा गरी लुनकरण दास गंगादेवी चौधरी च्यारीटी अस्पताल नामको अस्पताल समेत सञ्चालन गर्न इच्छा व्यक्त गर्नुभएको हुँदा उक्त अधुरो अस्पताल भवनको निर्माणकार्य पूरा गरी अस्पताल सञ्चालन समेतको सम्पूर्ण दायित्व श्री चौधरी ग्रुपमा रहनेगरी अस्पताल सञ्चालन गर्न अनुमति दिने सर्वसम्मतिबाट निर्णय गरियो ।’

सोही बैठकले तत्कालीन गाविस अध्यक्ष धर्मनारायण विश्वासको अध्यक्षतामा तीन सदस्य अस्पताल पुनर्निर्माण समिति समेत बनाइएको थियो । त्यसको सदस्यहरूमा हरि लम्साल र रामप्रसाद रौनियार थिए । यद्यपि सबै निर्णय गर्ने अधिकार भने अध्यक्षलाई नै दिइएको थियो ।

२०४९ चैत ६ गते शुक्रबार बसेको बैठकले भने चैत ७ गते शनिबार स्वामित्व हस्तान्तरण गर्नका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाउने निर्णय गरेको थियो । थारू कल्याणकारी सभाको १४औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न दुहबी आएका कोइरालाले चौधरी ग्रुपलाई हस्तान्तरण गरी अस्पताल सञ्चालनको अनुमति दिएका थिए भने अस्पतालको उद्घाटन भने तत्कालीन युवराज दिपेन्द्र शाहबाट गरिएको थियो ।

सो बेलासमेत दुहबी–विराटनगर औद्योगिक करिडोरमा दुई सयभन्दा बढी उद्योगहरू सञ्चालनमा थिए । कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदुर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो । त्यस्तो बाध्यता अन्त्यको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल बनाइएको थियो ।

अहिले भने चौधरी ग्रुपले सो स्थानमा चलाएको अस्पतालका उपकरण अन्यत्र लगेर प्रयोग गरिएको छ ।

अहिले सो जग्गामा रहेको अस्पतालको हेरविचार गर्न दुई जना स्वास्थ्यकर्मी, एक जना सरसफाइ गर्ने कर्मचारी तथा एक जना चौकीदार त्यहाँ राखेका छन् । बाँसबारीको जग्गा प्रकरणपछि अस्पतालभित्र पसेर फोटो खिच्नसमेत चौधरी ग्रुपले रोक लगाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया