Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेयर बालेनलगायत जनप्रतिनिधिको रहस्यमय मौनता, छाया सेन्टरमा गृहमन्त्री लामिछानेको अग्निपरीक्षा

मेयर बालेनलगायत जनप्रतिनिधिको रहस्यमय मौनता, छाया सेन्टरमा गृहमन्त्री लामिछानेको अग्निपरीक्षा

पृथ्वीबहादुर पाँडेले कमलपोखरी मासेर आमाको नाममा बनाएको छाया सेन्टरमा स्वतन्त्र पार्टीका नेता सुमनविक्रम पाण्डे महाप्रबन्धक


काठमाडौं । विवादास्पद स्याङ्जाली बैंकर पृथ्वीबहादुर पाँडेले ठमेल भगवान्बहालअगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाँडेको नाममा बनाएको छायादेवी कम्प्लेक्समा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेको अग्निपरीक्षा सुरु भएको छ ।

पाँडेले अहिले छायादेवी कम्प्लेक्स बनाएको ठाउँमा पहिले कमलपोखरी रहेको पुरानो कागजपत्रले देखाउँछ तर पाँडेले राणा परिवार, गुठी प्रशासन तथा केही नक्कली सरोकारवाला पात्र खडा गरेर मिलापत्रको नाममा उक्त जग्गा कब्जा गरेका छन् र आमा छायादेवीको नाममा कमर्सियल कम्प्लेक्स खडा गरेका छन् ।

सम्पदाप्रेमी सामाजिक अभियन्ताहरूबाहेक अरु कसैले त्यसको विषयमा कुरा उठाउन छाडिसकेका छन् तर पछिल्लो पटकको सत्ता समीकरण परिवर्तनपछि उपप्रधान तथा गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफ्नो पदबहाली कार्यक्रममा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने निर्णयलाई नै तीव्रता दिने निर्णय दोह्रोयाएपछि अहिले सबैको ध्यान विवादास्पद छाया सेन्टरतर्फ खिचिन पुगेको छ र सार्वजनिक कमलपोखरी हडपेर आमाको नाममा छायादेवी कम्प्लेक्स बनाउने विवादास्पद बैंकर पृथ्वीवहादुर पाँडेको मनमा पनि ढ्याङ्ग्रो ठोक्न थालेको छ ।

‘प्राइम लोकेसन’का घरजग्गा धितोमा ऋण दिने सम्झौता गर्ने तर सम्झौताअनुसारको कर्जा नदिएर ऋणी अप्ठ्यारोमा परेपछि घरजग्गा लिलामको नाममा आफू र आफन्तको नाममा कब्जा गर्ने गलत परम्पराका सूत्राधार मानिने पाँडेले छाया सेन्टर बनाएको कमलपोखरीको जमिन खुला ठाउँ भेटेकाले आफूले कम्प्लेक्स बनाएको बताउँदै आएका छन् भने सँगै खोलिएको एलफ्ट होटल रहेको जमिन पाटनका कपडा व्यापारी पञ्चलाल महर्जनले अब्दुल कवादीलाई गोरखा विकास बैंकमा ‘थर्डपाटी कोल्याटर’ दिएको जमिन जग्गाधनी महर्जनलाई थाहापत्तै नदिई कब्जा गरेर आफ्नो नाममा ल्याएका हुन् ।

पाँडेले आफूले त्यहाँ १२ रोपनी खुला जमिन भेटेपछि कम्प्लेक्स बनाएको र सम्पदाप्रेमीहरूले त्यसको निरन्तर विरोध गर्दै आएको बारे पाँडेले उनीहरूले ‘बार्गेनिङ’का लागि विरोध गरेको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री लामिछानेले सार्वजनिक जमिन हडपेर बनाएका संरचना निर्ममतापूर्वक भत्काउने निर्णय गरे पनि विवादास्पद छायादेवी कम्प्लेक्समा उनकै पार्टीका केन्द्रीय नेता तथा नुवाकोट क्षेत्र नम्बर २ बाट गत निर्वाचनमा घण्टी चिह्न लिएर उम्मेदवार भएका सुमनविक्रम पाण्डेलाई छायादेवी कम्प्लेक्सको महाप्रबन्धक बनाएर आफ्नो गलत कामलाई पहुँचका आधारमा ढाकछोप गर्ने प्रयास गर्दै आएका छन् ।

त्यसो त कमलपोखरी हडपेर पाँडेले छायादेवी कम्प्लेक्स बनाएको ठमेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा पर्दछ र गत निर्वाचनमा त्यस क्षेत्रबाट स्वतन्त्र पार्टीका नेता शिशिर खनाल सांसद निर्वाचित भएका छन् । उनी काठमाडौंका पुराना बासिन्दा होइनन् । उनी तनहुँका पुराना बासिन्दा हुन् ।

नवआगन्तुक पहाडिया समुदायका सभासद खनाललाई पाँडेले कब्जा गरेको कमलपोखरीको ऐतिहासिक पक्ष कति ज्ञान छ, उनै जानून् तर त्यस क्षेत्रका आदिवासी नेवारहरूले भन्दा बढी जानेको बुझेको चाहिँ पक्कै छैनन् । त्यही कारण हो वा अन्य कुनै कारणले हो उनले सम्पदा संरक्षणको उक्त सवालमा सदन वा सडक कतै पनि कुरा उठाइरहेका छैनन् ।

पृथ्वीबहादुर पाँडे वा सुमनविक्रम पाण्डेकै कारण उनले कुरा नउठाएको आरोप लगाउनु अहिले नै अलि छिटो हुने ठानिएको छ । त्यस्तै अवस्था काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको छ । उनी काठमाडौंका निर्वाचित मेयर हुन् तर यहाँका पुख्र्यौली पुराना स्थायी बासिन्दा होइनन् ।

उनी पुर्ख्यौली स्थायी बासिन्दा धनुषाका हुन् । उनी मधेसी समुदायका शाह हुन् । सांसद खनालले जस्तै मेयर बालेनले पनि छायादेवी कम्प्लेक्स बनाइएको ठाउँमा रहेको ऐतिहासिक पुरातात्विक महत्वको कमलपोखरीको बारेमा कुरा उठाइरहेका छैनन् ।

यसमा उनको ज्ञान वा ध्यान नपुगेको हो कि बुझपचाएका हुन् त्यो उनैले जानून् । छायादेवी कम्प्लेक्स बनाइएको ठाउँ काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा पर्दछ । त्यहाँ दोहोर्याएर नेपाली कांग्रेसका टिकटबाट वडाअध्यक्ष भएका ख्यामराज तिवारी पनि त्यस क्षेत्रको पुरानो बासिन्दा होइनन् । उनी स्याङ्जाबाट त्यहाँ आएका नवआगन्तुक बासिन्दा हुन् । बाहिरबाटै आएको भए पनि त्यहाँका जनप्रतिनिधि उनै हुन् । उनले ऐतिहासिक सम्पदाको कुरो छाडेर लगानी र रोजगारीको कुरो उठाएर पाँडेको धन्दालाई सहयोग गर्दै आएका छन् ।

यसरी लगभग सबै जनप्रतिनिधि नै नवआगन्तुकहरू निर्वाचित भएपछि स्थानीय आदिवासी समुदायको आवाज दबिँदै आएको छ र पृथ्वीबहादुर पाँडेले त्यसलाई दबाउन बाहिरियाहरूलाई साथ–सहयोग गर्दै स्थानीयको आवाजलाई ‘बार्गेनिङ’ र ‘ब्ल्याक मेलिङ’को आरोप लगाएर किनारा लगाउने प्रयास गर्दै आएका छन् ।

स्थानीय आदिवासी तथा गुठीयार एंव सम्पदाप्रेमी अभियान्ताहरूलाई साम, दाम दण्ड, भेदको नीति अपनाएर तितरबितर पार्दै आएका छन् । अहिले त्यहाँका कोही पनि स्थानीय जनता पाँडेले सार्वजनिक कमलपोखरी हडपेर महल निर्माण गरेको बारेमा निर्धक्कसँग मुख खोल्ने अवस्थामा छैनन् । त्यसरी बोलेको खण्डमा उनीहरूलाई प्रहरी प्रशासन लगाएर पाँडेको गिरोहले सताउने गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक जग्गा कब्जा गरेर बसेका व्यक्ति वा समूहविरुद्ध निवेदन दिन सार्वजनिकरूपमा आह्वान गरेपछि गत फागुन ३० गते सुरवीर शाह, जगतप्रकाश राणा, रामसिं केसी, सुशील अर्याल, दलबहादुर लामा र जगतजंग पाँडेको नाममा संयुक्तरूपमा उजुरी परेको छ र कमलपोखरीको नाममा कायम भएको तर पृथ्वीबहादुर पाँडेले हडपेर छायादेवी कम्प्लेक्स बनाएको १२ रोपनी १३ आना जग्गा फिर्ता माग गरिएको निवेदन गृह मन्त्रालयमा दर्ता भएको छ ।

सरकारसमक्ष परेको यो पछिल्लो उजुरी हो । उजुरीमा सार्वजनिक कमलपोखरी दर्ता गर्ने केयुर शमसेर राणा र पछिका श्रीमती अम्बिका राणा, सुधा पौडेल, शंकरप्रसाद शाह विणा पौडेल, सुरेशाय हाउजिङ कम्पनी (प्रो. अम्बिका राणा) प्रतिमा पाँडे छाया सेन्टर प्रालि पृथ्वीबहादुर पाँडेलगायत ४३ जनालाई थुनामा राखी कारबाही गर्नुपर्ने माग गरिएको छ ।

उक्त उजुरीमा थहवी विक्रम शील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोक समेत २६ रोपनी आठ आना क्षेत्रफलका नाइके हिरण्यस्वरमान प्रधान समेतले २०३३ साल २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिको नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल उक्त गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधान समेतले सार्वजनिक पोखरी र पोखरीको डिल समेतलाई व्यक्तिको नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीको नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिइएको हुँदा थुनामा राखी कारबाही गरी कि.नं साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २००१९, १०४० समेतको कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचनाहरू भत्काउनुपर्ने माग गरिएको छ ।

यसअघि यसरी उजुरी गर्नेहरूमध्ये कसैलाई डर, धाक, धम्की वा प्रलोभन देखाएर मिलापत्र गरिएको छ त कसैलाई तर्साएर मुख खोल्न नसक्ने बनाइएको छ । अहिले छाया सेन्टरको नाममा कब्जा भएको ऐतिहासिक सम्पदा फिर्ता गराउन क्रियाशील युवाहरू पनि ठमेल क्षेत्रमा बस्न नसकेर लाखापाखा लागेर आन्दोलन गरिरहेका छन् ।

छायादेवी कम्प्लेक्स बनेको जमिनको विवादको चुरो के हो भनी २६ नम्बरका वडा अध्यक्ष तिवारीसँग सम्पर्क गर्दा उनले सबैलाई थाहा छ त्यो पहिला कमलपोखरी थियो तर राणाहरूले आफ्नो जमिन बनाएर पाँडेलाई बेचेको बताएका छन् । यही प्रश्न सम्पदा संरक्षण अभियान्ता प्रेमराज शिल्पकारलाई गर्दा उनी पनि पाँडेले ऐतिहासिक कमलपोखरी मिचेर छायादेवी कम्प्लेक्स बनाएको कागज पत्रले पुष्टि गरेको बताउँछन् ।

यसबारेमा कुरा गर्न सम्पर्क गर्दा छायादेवी कम्प्लेक्सका महाप्रबन्धक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमनविक्रम पाण्डेले पछि कुरा गरौँला भनेर फोन काटिदिए तर, केही समयपछि आफैँ फोन गरेर पाँडेले गृह मन्त्रालयमा उजुरी गरेको छ भनेर न्युज बनाउन ‘क्रियट’ गरिएको उजुरी हो त्यो, हामी कानुनीरूपमा माथि छौँ, हामीलाई कसैको मतलब छैन हामीलाई बदनाम गराउनका लागि केही बदमास र बाहिरियाहरूले गरेको षड्यन्त्र हो भनी प्रतिक्रिया दिएका छन् ।

आफैँ सहकारी घोटाला, दोहोरो नागरिकता एवं दोहोरो पासपोर्टको लफडामा परेर कारबाहीको दायरा खुम्चिँदै गएका गृहमन्त्री लामिछानेले मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने उद्घोष पनि आफ्नै आसेपासेको घेराबन्दीका कारण शंकाको घेराभित्र परेको छ र यही छायादेवी कम्प्लेक्सको घोटालामा उनको अग्निपरीक्षा सुरु भएको छ ।

पाँडेले सार्वजनिक कमलपोखरीमा जमिन २०६५ सालमा अम्बिका राणा र शंकरप्रसाद शाहबाट खरिद गरेको देखाएका छन् । २०७० सालमा त्यसमाथि आफ्नी आमाको नाममा छायादेवी कम्प्लेक्स बनाएर २०७५ सालदेखि सञ्चालनमा ल्याएका थिए ।

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीशको रोहवरमा जग्गाधनी भनिएकी अम्बिका राणा र सिंह साथ गरुड भगवान् बहाल गुठीका थकालीबीच एक करोड ५० लाख रुपैयाँ र चार आना जग्गा लेनदेन गराएर मिलापत्र गराइएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यको आदेशमा उक्त जग्गाको विषयमा गुठी संस्थानले २०४७ माघ १८ को आफ्नै निर्णय बदर गर्नेगरी २०४७ चैत ४ गते अर्को निर्णय गरेको थियो ।

त्यसपछि अम्बिका राणाले त्यसका विरुद्ध तत्कालीन पुनरावेदन अदालत ललितपुरमा हालेको मुद्दामा २०५३ जेठ २५ गते २०४७ माघ १८ को निर्णय सदर गरी पछिल्लो निर्णय बदर गरेको थियो । पुनरावेदन अदालतको उक्त फैसलाविरुद्ध सिंह साथ बाहु गरुड भगवान् गुठीका गुठीयार थकालीहरू राणाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए । उक्त मुद्दा चल्दा चल्दै गुठीयारहरूलाई एक करोड ५० लाख रुपैयाँ र चार आना जग्गा दिएर मिलापत्र गराइएको थियो ।

गुठियारहरूले उक्त जग्गा १९६७ साल माघ २९ गते केशर शमशेरले कब्जा गरी लिएको र उनको मृत्युपछि उनका छोरा केयुर शमशेरबाट छुटाई गुठीको हक कायम गरीपाऊँ भनी परेको मुद्दामा पनि २०३९ पुस ३ गते सर्वोच्च अदालतकै रोहवरमा मिलापत्र गराइएको थियो ।

उक्त जग्गा राणा र गुठियारहरूबीच विवाद भएर मुद्दामामिला भए पनि या उनीहरूबीच मिलापत्र भए पनि नमेटिने र लुकाउन नसकिने एउटा तथ्य के हो भने, त्यहाँ १२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको ऐतिहासिक कमलपोखरी थियो । राणा र गुठियारहरूबीच मिलापत्र गराएर राणाले पाँडेलाई बेचेको जमिनमा छाया सेन्टर नामको कम्पनीले पृथ्वीबहादुर पाँडेको आमाको नाममा छाया कम्प्लेक्स निर्माण गरेको छ तर अहिले त्यहाँ भएको ऐतिहासिक कमलपोखरी हराएको छ, अस्तित्वमा छैन । मूल प्रश्न, त्यो पोखरी खोई ? कहाँ गयो ? भन्ने नै हो ।

उक्त पोखरी कब्जा गरेर कम्प्लेक्स बनाउने पाँडेले एक अन्तरवार्तामा पहिला सिङ्गो काठमाडौं उपत्यका नै तलाउ थियो भनिन्छ अहिले त्यो तलाउ खोजेर पाइन्छ ?, विगतमा कहाँ के थियो मलाई मतलब छैन भनेर गैरजिम्मेवार जवाफ दिएका छन् । सम्पदाप्रेमी सामाजिक अभियान्ता रवीन्द्र श्रेष्ठ पनि आफूहरूले त्यही कमलपोखरी खोजेको बताउँछन् ।

विवादास्पद बैंकर पाँडेको यो धन्दालाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले पूर्णरूपमा सघाएका थिए । छाया कम्प्लेक्सभित्रको विवाद रहेको जग्गा त्यहाँको कमलपोखरी भएको जग्गा हो । उक्त पोखरी रहेको जग्गा १२ रोपनी १३ आना रहेको छ ।

सरकारी कागजपत्रमा पनि उक्त जग्गामा कमलपोखरी नै भएको जनाइएको छ । छायादेवी कम्प्लेक्स बनेको कमलपोखरी भएको ठाउँ अतिक्रमण गरिएको सम्पदाप्रेमीहरूले दाबी गर्दै आएका छन् र त्यही जमिन खाली गरिनुपर्ने, त्यहाँ बनाइएको संरचना भत्काईदिनुपर्ने र ऐतिहासिक कमलपोखरीलाई किनबेचको विषय बनाउने पृथ्वीबहादुर पाँडेलगायतका ४३ जनालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने सम्पदा संरक्षण अभियान्त्राहरूको माग छ । त्यही मागमा चारैतिर आफ्नै पार्टीका सांसद र विचौलीयको घेरबन्दीमा परेका गृहमन्त्री लामिछानेको अग्निपरीक्षा सुरु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया