Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रादेशिक अस्पतालको समग्र विकास गर्न प्रदेश सरकार तयार छ: मन्त्री सिंह

प्रादेशिक अस्पतालको समग्र विकास गर्न प्रदेश सरकार तयार छ: मन्त्री सिंह


सिरहा । सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको निरीक्षण गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले अस्पतालको स्तरोन्नति, सेवा प्रवाह, स्वास्थ्य प्रयोगशालालगायत विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए ।

“नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य छ । तसर्थ सेवा प्रवाहमा कुनै समस्या भए तत्काल जानकारी गराउँनुस्, समस्या समाधान गर्दै जानेछौँ”, उनले भने । उनले यसअघि थालिएका राम्रा कामलाई पनि निरन्तरता दिने बताए । प्रादेशिक अस्पतालको समग्र विकास, सेवा प्रवाह र यसको स्तरोन्नतिका लागि सरकार सदैव सकारात्मक रहेको मन्त्री सिंहको भनाइ छ ।

प्रादेशिक अस्पताल लहानको जग्गा रजिस्ट्रेशन गर्दा राजस्वसम्बन्धी समस्या देखिएकाले सो समस्यालाई चाँडै समाधान गर्ने प्रतिबद्धता मन्त्री सिंहले जनाए । उनले स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेका उपकरण तथा अन्य सामग्री र उपलब्ध रहेका उपकरणकाबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा ‘हेल्पिङ ह्याण्ड’ र ‘हेल्पिङ हर्ट’ संस्थाले उपलब्ध गराएको ३४ लाख ६६ हजार आठ सय ७४ पर्ने एक सय ४४ किसिमका स्वास्थ्य उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गरे । अस्पतालका कर्मचारीद्वारा कुनै किसिमको लापरवाही भएको प्रमाणित भए कारबाही गर्न पनि पछि नपर्ने मन्त्री सिंहको भनाइ थियो ।

प्रदेशभरि बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भन्दै उनले मधेस स्वास्थ्य प्रदेशको नारा कार्यान्वयन गर्न आफू इमान्दारीपूर्वक लाग्ने बताए । सो अवसरमा मन्त्री सिंहलाई रक्तसञ्चार केन्द्र लहान र रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालले सम्मान गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया