Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन : प्रधानमन्त्री

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन : प्रधानमन्त्री


हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई शुक्रबार यहाँ सम्बोधन गर्दै सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् । उनले निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको उल्लेख गरे ।

“राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भने। रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने बेथितिको दुष्चक्रबाट मुक्त हुनेगरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उनले बताए ।

उनले भने, “राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयावधिभित्रै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।”

सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुन बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनलाई विकासमैत्री बनाउँदै लगिने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया