Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउत्तरपुस्तिका हराएपछि फेरि जाँच दिन बाध्य त्रिविका विद्यार्थी के भन्छन् ?

उत्तरपुस्तिका हराएपछि फेरि जाँच दिन बाध्य त्रिविका विद्यार्थी के भन्छन् ?


काठमाडौं,अछामकी जानकी रावलले काम र अध्ययनलाई सँगसँगै अघि बढाइरहेकी छन्। झन्डै एक वर्षअघि उनले बीएड प्रथम वर्षको परीक्षा दिएकी थिइन्।परीक्षाफल प्रकाशित हुने प्रतीक्षामा रहेकी उनले केही दिनअघि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट केही उत्तरपुस्तिका हराएको खबर सामाजिक सञ्जालमा देखेकी थिइन्।

सुरुमा रावलले त्यसबारे खासै वास्ता गरिनन्।

आफू अध्ययनरत अछाम बहुमुखी क्याम्पसले पनि विद्यार्थीहरूलाई पुन: परीक्षामा सामेल हुन सूचना निकालेपछि भने उनलाई आफैँले एक वर्षअघि परीक्षामा उत्तर लेखेको पुस्तिका पनि हराएको थाहा भयो।”कस्तो नराम्रो लाग्यो, रिजल्ट आउने बेलामा फेरि परीक्षा दिनुपर्छ भन्दा कसलाई राम्रो लाग्छ र?” आफू पुन: परीक्षामा सामेल हुनुपर्ने जानकारी पाएपछिको अनुभूतिबारे उनले बीबीसीसँग भनिन्।

“रिजल्ट निकाल्न नै दुई वर्ष लाउँछ, त्यसमाथि यस्तो हेलचेक्र्याइँ हुन्छ।”अब उनले फेरि ‘शिक्षाको आधार’ विषयको जाँच दिनुपर्छ। तर उनले तयारी गर्न नपाएको बताइन्।

अछाम बहुमुखी क्याम्पसमै बीएड अध्ययनरत प्रकाश विष्ट मङ्गलसेनमा व्यापार गर्छन्।

उनले पनि त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराइदिएका कारण आफूले पुन: परीक्षा दिनुपर्ने सूचना पाएपछि सुरुमा आफूलाई कसैले “ठट्टा गरेको” जस्तो लागेको बताए।

उनले भने, “यो त अचम्म लाग्यो, मलाई त कहिलेकहीँ फेसबुकमा मानिसहरूले जोक बनाउँछन् नि, त्यस्तै लाग्यो। तर पछि हाम्रो क्याम्पसले नै आधिकारिक सूचना निकालेपछि मात्र विश्वास भयो।”
कारबाहीको मागत्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आफ्नो उत्तरपुस्तिका हराइदिएपछि पुन: परीक्षामा सहभागी हुनुपर्ने अवस्था आएपछि प्रभावित विद्यार्थीहरूले सम्बन्धित अधिकारीहरूलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

रावलले बीबीसीसँग भनिन्, “पुन: परीक्षा लिएर मात्र समस्याको समाधान हुँदैन। यसको कारण पत्ता लगाई सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ।”

“बारम्बार यस्तो किन हुन्छ? यदि प्रणालीमा सुधार गर्नुपर्ने भएमा सुधार पनि गर्नुपर्छ।”

विष्ट पनि त्रिभुवन विश्वविद्यालयका कारण विद्यार्थीले अनावश्यक तनाव भोग्नुपरेको बताउँछन्।

उनी भन्छन्, “देशको अग्रणी र पुरानो संस्थाले यस्तो लापरबाही गर्छ भने विद्यार्थीको भविष्य के हुन्छ?”

“अहिले जहाँ पढेको त्यहाँ विद्यार्थी छैनन् होला। यहाँबाट कति भारत गएका छन् र परीक्षा दिने बेलामा आउँछन्। कति काठमाण्डू गएका छन्। यो कस्तो खालको शिक्षा प्रणाली हो?”उनले पनि उत्तरपुस्तिका हराउने व्यक्तिहरूलाई कडा कारबाही हुनुपर्ने माग गरे।

अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्रबहादुर विष्टले “त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको लापरबाही”ले विद्यार्थी र आफूहरूले पनि दु:ख पाएको बताए।

उनले भने, “अहिले विद्यार्थी यहाँ छैनन्। कोही काठमाण्डू, कोही धनगढी र कोही नेपालगन्ज छन्। केही त भारतमा पनि गएका छन्। उनीहरूले फोन गरेर सोधिरहेका छन्।”

“हामीले सूचना निकालेका छौँ र यहाँका एफएमहरूबाट सूचना बजाइरहेका छौँ तर झन्झट त भयो नि!”

उनी त्रिभुवन विश्वविद्यालयले यस्तो लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताउँछन्।
कति उत्तरपुस्तिका हराए त्रिभुवन विश्वविद्यालयका अनुसार गत विसं २०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षका दुई विषयका केही उत्तरपुस्तिकाहरू हराएका हुन्।

विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालका अनुसार दुई विषयका गरेर ३७५ भन्दा बढी उत्तरपुस्तिका हराएको जानकारी आएको छ।

उनका अनुसार मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय र शिक्षाशास्त्र संकायतर्फ शिक्षाको आधार विषयका उत्तरपुस्तिकाहरू हराएका हुन्।”मानविकीतर्फका धेरैवटा केन्द्रको हराएको कुरा आएकाले धेरैतिर परीक्षा गर्नुपर्ने भएको छ भने शिक्षाशास्त्रतर्फ अछामको मात्र हराएको हो। त्यसैले त्यहाँ मात्र परीक्षा हुँदै छ,” उनले भने।

दाहालले दिएको जानकारीअनुसार शिक्षाशास्त्रतर्फ १८३ वटा र मानविकीतर्फ १९३ वटा उत्तरपुस्तिका हराएका हुन्।

दुवै विषयका पुन: परीक्षाहरू आगामी बुधवार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।

दाहालले विश्वविद्यालयले परीक्षा सकिएपछि उत्तरपुस्तिका केन्द्रमा ल्याएर चैत महिनाभित्रै जाँच गरी ती विषयको परीक्षाफल पनि प्रकाशित गर्ने गरी काम गरिरहेको पनि बताए।
छानबिनका लागि समिति गठनआफ्नै ‘लापरबाही’का कारण उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालयले पुन: परीक्षासँगै उक्त विषयमा छानबिन पनि गर्ने भएको छ।

विश्वविद्यालयले एउटा विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको कार्यकारी परिषद्‌को निर्णय अनुसार पूर्वरजिष्ट्रार प्राध्यापक चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन जना सदस्य रहेको समिति गठन गरेको जनाएको हो।

उक्त समितिलाई उक्त विषयको विस्तृत अध्ययन गरेर ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ” उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा अनुरोध छ।”

समितिलाई “उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन” गर्न भनिएको त्यसमा उल्लेख छ।शिक्षामन्त्रीद्वारा कारबाही गर्ने प्रतिबद्धता

अधिकारीहरूले उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन भएकाले अनुसन्धानपछि यथार्थ विवरण आउने बताएका छन्।

उनीहरूले उक्त मामिलामा थप प्रतिक्रिया दिएर छानबिनलाई प्रभावित पार्न नहुने तर्क गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पनि आफूलाई उक्त घटनाबारे जानकारी भएको उल्लेख गरेकी छन्।

उनले सामाजिक सञ्जाल एक्समा त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानबिन समितिसम्बन्धी प्रेस विज्ञप्ति पोस्ट गर्दै लेखेकी छन्, “नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार छौँ। यसबाट परिक्षार्थीहरूमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शङ्काप्रति सबै सजग र संवेदनशील हुनै पर्छ।””उत्तरपुस्तिका हराएका परीक्षार्थीहरूको पुन: परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन्। यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ।”

उनले विश्वविद्यालयले गठन गरेको छानबिन समितिले काम गर्ने वातावरण बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।

श्रेष्ठले लेखेकी छन्, “यसका लागि त्रि. वि. सभा तथा कार्यकारी परिषद्को सचिवालयले गठन गरेको समितिले निष्पक्ष, निर्भीक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।”त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले छानबिन समितिको प्रतिवेदन आएपछि त्यसअनुसार विश्वविद्यालयले थप कारबाही अघि बढाउने बताए।

उनले भने, “हामीले समिति गठन गरिसकेका छौँ त्यसले कस्तो प्रतिवेदन दिन्छ त्यसैअनुसार विश्वविद्यालयले थप कदम चाल्छ।”दोहोरिरहने समस्या

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराइदिएको यो पहिलो घटना भने होइन।

गत वर्ष पनि व्यवस्थापन सङ्काय अन्तर्गत बीबीसएस चौथो वर्षको एउटा विषयका केही उत्तरपुस्तिका हराएको विवरण आएका थिए।विसं २०७८ पुसमा लिइएको ‘बिजनेस रिसर्च मेथड्स’का उत्तरपुस्तिका हराएका थिए।

ती उत्तरपुस्तिकाहरू झापास्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थीका रहेकाले त्यहाँ पुन: परीक्षा गराइएको थियो।

त्यस बेला पुन: परीक्षा गरिएको केही दिनभित्रै परीक्षाफल प्रकाशित गरिएको थियो।

त्यसअघि विसं २०७४ सालमा लिइएको बीबीएस तेस्रो वर्षको ‘कर प्रणाली’ विषयका केही उत्तरपुस्तिका पनि हराएका थिए।

त्यस बेला सिन्धुली बहुमुखी क्याम्पसका उत्तरपुस्तिकाहरू हराएको थियो।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया