Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचरम गर्मीले कोखमै सन्तानको मृत्यु हुने सम्भावना दोबर हुनसक्छ – अध्ययन

चरम गर्मीले कोखमै सन्तानको मृत्यु हुने सम्भावना दोबर हुनसक्छ – अध्ययन


काठमाडौं,भारतको एउटा नयाँ अध्ययनका अनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोबर हुन्छ।

उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने पत्ता लगाएको हो।

अध्ययनकर्ताहरूले ज्यादा गर्मी हुने ग्रीष्म ऋतुले उष्ण मौसम हुने क्षेत्रमा मात्रै नभई यूकेजस्ता देशमा पनि त्यस्तो हुने बताएका छन्।

गर्भवती कामकाजी महिलाका लागि विशेष स्वास्थ्य सल्लाह विश्वभरि नै आवश्यक पर्ने अनुसन्धानकर्ताहरू बताउँछन्।
अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्न जानुपर्थ्यो।

बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे।

मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन।

“गर्मीको असर तपाईँ केमा अभ्यस्त हुनुहुन्छ र तपाईँको शरीर कस्तो मौसममा अभ्यस्त छ भन्नेमा भर पर्छ,” अध्ययनका एक वैज्ञानिक प्राध्यापक जेन हर्स्टले भनिन्।तिरुवनामलाइको बाक्लो हरियो खेतमा मैले एक गर्भवती महिला सुमथी भेटेँ जो अध्ययनमा सहभागी गराइएका ८ सय महिला मध्येकी एक हुन्।

उनले आफ्नो हातमा लगाइएको बाक्लो पन्जा खोलिन् र औँलाहरू तन्काइन्। उनी दुई घण्टादेखि काँक्रो टिपिरहेकी थिइन्।

“यो गर्मीमा मेरो हात घामले डढ्छ,” आफ्ना औँलाका टुप्पाहरू चलाउँदै उनले नम्र स्वरमा भनिन्।

यो रिपोर्ट तयार गर्दा गर्मी महिना सुरु भइसकेको थिएन र पनि तापक्रम भने करिब ३० डिग्री थियो र एकदमै गर्मी भइरहेको थियो।

काँक्रो टिप्दा आफ्ना हातहरू जोगाउनुपर्छ तर बाक्लो पन्जाले सुमथीलाई असाध्यै पसिना आएको छ।

“मेरो अनुहार पनि घामले डढ्छ,” उनले भनिन्।

उनी काँक्रो टिप्न आफ्नो मुख्य काम बाहेकको समयमा आउँछिन्।

उनी खासगरी एउटा विद्यालयमा खाना पकाउने काम गर्छन्।

यो काम गरेर उनले जम्मा करिब २०० रुपैयाँ पाउँछिन्।यो अध्ययनका लागि सहभागीमध्ये सुमथी पहिलो लटमा लिइएकी हुन्।

अध्ययनको सुरुकै चरणमा आफ्नो बच्चा पनि उनैले गुमाइन्।

“गर्भवती भएर घाममा काम गर्दा म असाध्यै थाक्ने गर्थेँ,” उनले भनिन्।

एक दिन सुमथी आफ्ना श्रीमान्‌का लागि खाना छोड्न जाँदै थिइन्। उनलाई एक्कासि सन्चो भएन।

त्यो दिन, उनी डाक्टरलाई देखाउन गइन्। उनी गर्भवती भएको १२ औँ हप्तामा उनको गर्भ खेर गएको जानकारी डाक्टरले दिए।

“मेरो श्रीमान् मलाई काखमा राखेर सम्झाउनुहुन्थ्यो। उहाँ नभए म के गर्थेँ मलाई थाहा छैन,” उनले भनिन्।

सुमथीले आफ्ना श्रीमान्‌बारे निकै प्रेमले कुरा गरिन् तर अहिले भने उनी श्रीमान् बिना नै बस्न बाध्य छिन्।

उनका श्रीमान्‌को हालसालै मृत्यु भयो र उनी नै घरको दैनिक गर्जोका लागि जिम्मेवार छिन्।

सुमथीले गर्मीमा काम गरेकै कारण गर्भवती अवस्थामै आफ्नो पहिलो बच्चा गुमाएकी हुन् कि भनेर कहिल्यै थाहा पाउने छैनन्।

तर समग्रमा, अध्ययनले उनी जस्तै गर्मीमा काम गर्ने महिलाले गर्भभित्रै ज्यान गइसकेको बच्चा जन्माउने वा बच्चा खेर जाने जोखिम दोबर हुने देखाएको छ।विश्वभरिका महिलालाई महत्त्वपूर्ण

यूकेमा काम गर्ने प्रसूति रोग विशेषज्ञ तथा द जोर्ज इन्स्टिट्यूट मा ग्लोबल वीमिन हेल्थका प्राध्यापक रहेका हर्स्ट भारतका यी गर्भवती महिलाहरू वास्तवमै “जलवायु परिवर्तनको असर सामना गर्ने अग्रपङ्कतिमा” रहेको बताउँछिन्।

यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको औसत तापक्रम औद्योगिक समयभन्दा अगाडिको तुलनामा झन्डै तीन डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गर्भवती महिलाहरूले “केही घातक असरहरू”को सामना गरिरहँदा त्यसले “हामी सबैका लागि अस्तित्वको खतरा” भएको भन्दै चेतावनी दिएको छ।विगतका अध्ययनहरूले उष्ण लहरका बेला समय अगावै बच्चा जन्मिने वा गर्भमै बच्चाको मृत्यु हुने जोखिम करिब १५ प्रतिशत रहेको देखाएको थियो। तर यस्ता अध्ययनहरू धेरै आय हुने अमेरिका र अस्ट्रेलियाजस्ता देशहरूमा गरिएको थियो।

भारतले गरेको पछिल्ला अध्ययन भने खासगरी बढी चिन्ताजनक रहेको र त्यसो व्यापक असर हुने प्राध्यापक हर्स्ट बताउँछिन्।

“यूकेको गर्मीयाम पहिलेको तुलनामा अहिले झन् बढी तातो हुने गरेको छ। तर त्यहाँ भारतमा जति गर्मी हुँदैन। गर्भवती अवस्थामा यस्ता प्रतिकूल असर यूकेजस्ता तुलनात्मक रूपमा कम गर्मी भएका यूके जस्ता देशमा पनि देखिएको छ।”

गर्मीमा काम गर्ने गर्भवती महिलालाई अहिले कुनै औपचारिक अन्तर्राष्ट्रिय सल्लाह वा निर्देशिका छैन।

गर्मी मौसममा काम गर्नेका लागि अहिले भएको प्रमुख निर्देशिका भनेको सन् १९६० र १९७० को दशकमा अमेरिकी सेनामा काम गर्ने पुरुषहरूमा गरिएको अध्ययनका आधारमा तयार गरिएको हो जसको वजन ७०-७५ किलोग्राम र बढी फ्याट २०% थियो।प्राध्यापक हर्स्ट यो अध्ययन र थप अनुसन्धानले त्यो निर्देशिकालाई परिवर्तन गर्ने आशा व्यक्त गर्छिन्। उनले गर्मीमा काम गर्ने गर्भवती महिलाले आफूलाई जोगाउन उनीहरूले यी उपाय गर्न सक्ने बताइन्:

गर्मीमा लामो समय नबस्ने
गर्मी दिनमा बाहिर काम गर्नुपर्ने छ भने बेलाबेला छहारी भएको ठाउँमा जाने
दिनको गर्मी धेरै हुने समयमा अभ्यास गर्ने वा लामो समय घाममा बस्ने नगर्ने
पानी पिइरहने

भारतमा अध्ययनका लागि अनुसन्धानकर्ताहरूले वेट-बल्ब,ग्लोब-टेम्प्रेचर (डब्लुबीजीटी)को प्रयोग गरे जसले तापक्रम, आद्रता, हावाको गति र सूर्यको तापले शरीरमा के असर गर्छ भन्ने मापन गर्छ।

डब्लुबीजीटीको अध्ययनमा देखिने तापक्रम धेरैजसो तपाईँले टीभी वा मौसमसम्बन्धी एपमा प्रक्षेपण गरिएभन्दा कम हुन्छ।

अमेरिकाको अकुपेसनल सेफ्टी एन्ड हेल्थ एड्मिनिस्ट्रेसनका अनुसार भारी काम गर्ने मानिसका लागि सुरक्षित घाम भनेको २७.५ सेन्टिग्रेड डब्लुबीजीटी हो।
‘घाममा काम गर्नुको विकल्प छैन’

भारत स्वस्थ मानिसका लागि तापक्रमको उक्त सुरक्षित सीमा नाघ्ने विश्वको विश्व देश भएको अनुमान गरिएको छ। युनिभर्सिटी अफ केम्ब्रिजको हालैको अध्ययनका अनुसार यो अनुमान गरिएको हो र स्वस्थ मानिस भन्नाले जसले छहारीमा आराम गर्न पाउँछन् भन्ने हो।

गर्मी दिन र गर्मी रात (दिउँसोको घामबाट शीतल पाउन शरीरले गर्न सङ्घर्ष) पनि सन् २०५० सम्ममा भारतमा दोबर वा चौबर हुने प्रक्षेपण गरिएको छ।

तिरुवनामलाइमा रहेको उखु खेतमा रेखा शन्मुगम दिनको घामको मापन गर्दै छिन्। उनी पूर्व नर्स र एसआरआईएचईआर अध्ययनकी मुख्य अनुसन्धानकर्ता हुन्।

हामी वरपर उखु खेतमा थुप्रै मानिसहरू काम गरिरहेका थिए र त्यसमा करिब आधा महिला थिए। उनीहरू साना औजारले उखु काटिरहेका थिए।

“यी महिलासँग घाममा काम गर्नुको विकल्प छैन – उनीहरूलाई पैसा चाहिएको छ,” शन्मुगमले भनिन्।

उनले तापक्रम मापनका लागि उपकरणमा पानी हालिन् र थुप्रै बटनहरू दबाइन्। त्यसो गर्दा डब्लुएचओ तापक्रम २९.५ सेन्टिग्रेड देखियो। त्यो भनेको शारीरिक रूपमा खटिनुपर्ने काममा तोकिएको तापक्रमको सुरक्षित सीमा भन्दा बढी हो।

“यही तहको घाममा उनीहरूले लामो समय काम गरिरहे भने उनीहरूलाई गर्मीका कारणले लाग्ने रोग लाग्छ र गर्भवती महिलालाई त्यसो हुनु भनेको चिन्ताको विषय हो,” उनले भनिन्।२८ वर्षीया सन्धिमाले घाममा यो काम गर्नुको विकल्प आफूसँग नभएको बताइन्। उनले यो काम बापत दैनिक करिब ६ सय भारतीय रुपैयाँ पाउँछिन्।

उनको दुई साना छोराछोरी र एउटा ठूलो परिवार छ।

अध्ययनमा समावेश गरिएका महिलामध्ये सन्धिया पनि एक हुन् जसले गर्भवती भएको छ महिनामा आफ्नो पहिलो बच्चा गुमाइन्।

त्यति बेला उनले थुप्रै महिना काम गर्न सकिनन् र त्यति बेलाको ऋण अझै पनि तिरिरहेकी छन्।

“मेरा सबै इच्छाहरू मेरो छोराछोरी वरपर नै घुम्छ,” सन्धिमाले भनिन्। “म चाहन्छु उनीहरू राम्रोसँग पढून् र राम्रो जागिर पाऊन्। उनीहरू पनि म जस्तै खेतमा घोटिनु नपरोस्।”
पिसाब फेर्ने समस्या

गर्मीले कसरी गर्भवती महिला र उनीहरूको हुर्किँदै गरेका बच्चालाई असर गर्छ भन्ने प्रक्रिया राम्ररी बुझिएको छैन।

द गाम्बियामा गरिएको यस अघिको एउटा अध्ययनले उच्च तापक्रमले भ्रूणावस्थामै धड्कन उच्च हुने र रक्तसञ्चार सुस्त हुने पत्ता लगाएको थियो।

एउटा सिद्धान्त के हो भने महिलालाई धेरै गर्मी भयो भने उनलाई शीतल गराउन रक्तसञ्चार भ्रूणबाट अन्यत्र हुन्छ।

शन्मुगम शौचालयको कमीले पनि यस्तो भएको हुनसक्ने ठान्छिन्।

उनका अनुसार विगतमा गरिएका अध्ययनहरूले खेतमा पिसाब फेर्नुपर्छ भनेर महिलाहरू पानी पिउँदैनन् र त्यसले समस्या निम्त्याउने देखाएका छन्।

“झाडीमा सर्प र किराहरू भेटिन्छ वा पुरुषले आफूले पिसाब फेरिरहेको देख्छन् भनेर महिलाहरू दकस मान्छन्,” उनले भनिन्।

“उनीहरू सुरक्षित महसुस गर्दैनन् र बेलुका घर नपुगुन्जेल दिनभरि नै पिसाब च्यापेर बस्छन्”
समाधान खोज्दै

तलिमनाडुमा गरिएको अध्ययनको निष्कर्षलाई गम्भीरतापूर्वक लिइएको उक्त राज्यका जनस्वास्थ्य निर्देशक डाक्टर टीएस सेल्बभिनायगम बताउँछन्।

“हामीले गर्भवती महिलाहरूलाई आर्थिक क्षतिपूर्ति दिने प्रस्ताव गरिसकेका छौँ, यद्यपि हामीले उनीहरूलाई वैकल्पिक रोजगारी दिनेबारे पनि सोच्न आवश्यक छ,” उनले भने।

राज्य सरकारले गरिब महिलाहरूलाई उनीहरू १२ हप्ताको गर्भवती भएपछि उनीहरूको आर्थिक दबाव सहज बनाउन १८ हजार भारतीय रुपैयाँ दिने प्रस्ताव गरेको छ।

तर यी कम आय हुने महिलालाई जोगाउने ठूलो शक्ति भने काम गर्ने ठाउँका हाकिमहरूसँग धेरै हुन्छ।चेन्नईको बाहिरी भेगमा रहेको एउटा इँटा भट्टाका मालिक थिलाइ भास्करले गर्मीबाट जोगाउन विशेष खालको पदार्थ लगाइएको छाना हालेका छन् जसले त्यहाँ काम गर्ने कामदारलाई छहारी दिन्छ।

“व्यापारीहरूले आफ्ना कामदारलाई कसरी काममा अडाइ राख्ने भनेर जान्न जरुरी छ,” उनी भन्छन्। “उनीहरूको ख्याल गर्‍यो भने उनीहरूले तपाईँको ख्याल गर्छन्।”

उनीहरूले अब महिला मात्रैका लागि प्रयोग गर्न मिल्ने शौचालय पनि बनाउने योजना गरिरहेको बताए।

केही संस्थाहरूले महिलाहरूले आफूलाई घाममा काम गर्दा कसरी जोगाउन सक्छन् भनेर शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेका छन्। पानी चिसो रहिरहने बोतलहरू पनि उपलब्ध गराइँदै छ।

बच्चा खेर गएको केही वर्षमै सुमथी फेरि गर्भवती भइन्। र, त्यसपटक पनि चर्को गर्मीमा काम गर्नुको विकल्प उनीसँग थिएन।

तर त्यसपटक उनले चिकित्सकहरू र एसआरआईएचईआरका अनुसन्धानकर्ताहरूबाट आफूलाई कसरी जोगाउने भनेर विशेष सल्लाह पाएकी थिइन्। उनले यस पटक स्वस्थ छोरा र छोरी जन्माइन्।

आज लामो दिनको कामपछि उनी घर फर्कने छिन्।

उनी निकै थकित र चिन्तित छिन्, तर बच्चाहरू घरमा छन् भनेर उनी कृतज्ञ छिन्।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया