Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपालुङटारलाई दूध र मासुमा आत्मनिर्भर बनाइने

पालुङटारलाई दूध र मासुमा आत्मनिर्भर बनाइने


गोरखा , गोरखाको पालुङटार नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाइने भएको छ । यसका लागि यस आर्थिक वर्षमा ५५ लाख रुपैयाँ विनियोजन गरेर विभिन्न कार्यक्रम अघि बढाएको छ ।नगरपालिकामा पशु शाखा प्रमुख रामप्रसाद देवकोटाका अनुसार कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गाईभैँसी वितरण गरिएको छ । जसमा चार वटा समूह छनोट भएर तीन समूहलाई गाई र एउटा समूहलाई भैँसी प्रदान गरिएको छ ।

पालुङटार–७ स्थित जुरीखोला बहुउदेश्यीय कृषक समूह, खहरे उद्यमशील युवा कृषक समूह र पालुङटार–९ स्थित सफल पशुपंक्षी किसान समूहले अनुदानमा गाईभैंसी पाए । समूहलाई मूर्रा जातको भैंसी र जर्सी एवं होलस्टिन फ्रिजियन जातको गाई वितरण गरिएको हो ।
सफल पशुपंक्षी समूहमा आवद्ध कृषकको संख्या धेरै भएकाले यो समूहलाई एउटा गाई र एउटा भैँसी दिइएको पशु शाखा प्रमुख देवकोटाले जानकारी दिए ।

अन्य समूहले एक÷एक वटा गाई प्राप्त गरेका छन् । गाईको हकमा अधिकतम् ४० हजार र भैंसीको हकमा अधिकतम् ६० हजार रुपैँया अनुदान रकम उपलब्ध गराइएको उनले बताए ।यसैगरी पालुङटार–७ स्थित जुडीखोला बहुउद्देश्यीय समूह र खहरे कृषक समूहलाई चिलिङ भ्याट खरिदका लागि १५ लाख रुपैयाँ र पालुङटार–६ को सुनौलो बाख्रापालन समूहलाई दुई वटा बोयर बोका वितरण गरिएको देवकोटाले बताए ।यस्तै, नगरपालिकाले गोठ सुधार, औषधि र घाँसका लागिसमेत अनुदान उपलब्ध गराउँदै आएको छ । औषधि र घाँसका लागि बार्षिक २५ हजारका दरले अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया