Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन


कटारी (उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार उदयपुरको कटारी नगरपालिका–६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए ।

प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड दिएको जनाउँदै मुख्यमन्त्री कार्कीले यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग जोडेको बताए । “सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्वल बनाउने मानवीय विकासतर्फ सरकार लागेको छ”, उनले भने, “बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ ।”

उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा सोमबर भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकासमन्त्री कमलप्रसाद जवेगुले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए ।

प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्पmत १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो ।

यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पुर्याउन सहज हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया