Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा वार्षिक सरदर एक हजार व्यक्तिको मृत्यु

वैदेशिक रोजगारीमा वार्षिक सरदर एक हजार व्यक्तिको मृत्यु


काठमाडौं । रेमिट्यान्सले धानेको मुलुकमा त्यही रेमिट्यान्स पठाउनेहरूप्रति सरकार जिम्मेवार नबन्दा वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर बढ्दै गएको छ । सरकारले रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रलाई सहयोग गर्नेको जीवन रक्षा गर्न नसक्दा अकालमा विदेशमा ज्यान गुमाउनेको संख्या बढेको पाइन्छ ।

पछिल्लो छ वर्षमा सयौँ जना नेपालीले वैदेशिक रोजगारीको नाममा विदेश र स्वदेशमै पनि ज्यान गुमाउनेको संख्या उच्च रहेको वैदेशिक रोजगार बोर्डले बताएको छ । बोर्डका अनुसार पछिल्लो छ आर्थिक वर्षमा छ हजार छ सय ३३ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।

अदक्ष, अशिक्षित र अनभिज्ञ श्रमिकको भर्नादरका कारण वैदेशिक रोजगारीको नाममा नेपालीहरूले ज्यान गुमाइरहेको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीका लागि भर्ना कार्यक्रम प्रभावकारी बन्न नसक्दा नेपाली श्रमिकहरूले ज्यान गुमाएको पाइन्छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपाली युवायवतीहरूलाई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरू जसरी भए पनि विदेश जाने मनसायमा हुन्छन् र आफू जाने मुलुकको बारेमा जानकारी नहुनु, भाषा, काम र कानुनबारे न्यूनतम ज्ञान नहुँदा धेरैले ज्यान गुमाउनुपरेको बोर्डले जनाएको छ ।

अर्कोतर्फ विदेशमा ज्यान गुमाउनुमा दुर्घटना, आपसी द्वन्द्वलगायत कारण समेत छन् । चालू आर्थिक वर्षको आठ महिनामा एक हजार दुई सय ५५ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय आठ जना र आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ९२ जना नेपालीले ज्यान गुमाएका थिए । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा एक हजार दुई सय ४३ जना, आर्थिक वर्ष २०७६/७७ मा छ सय ७२ जना र आर्थिक वर्ष २०७५/७६ मा सात सय ६३ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । बोर्डले ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने काम गर्दै आएको छ ।

सरकारले वैदेशिक रोजगारीमा हुने मृत्युदरलाई कम गर्न हालसम्म कुनै पनि उपाय अपनाएको छैन भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई समेत व्यवस्थित गर्नबाट सरकार चुकेको छ । सरकारलाई वैदेशिक रोजगार जोखिमपूर्ण रहेको सरकारी तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विज्ञ, सरोकारावालाहरूले बताउँदै आए पनि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसलाई बेवास्ता गर्दै आएको छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन मन्त्रालयले श्रम सहचारी, श्रम काउन्सलरलगायतका पद सिर्जना गरे पनि त्यसबाट उपलब्धि भएको देखिँदैन । नेपाल श्रम आप्रवासन प्रतिवदेन २०२० र एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले वैदेशिक रोजगारी अव्यवस्थित र मृत्युको कारका बन्दै विषयहरू समावेश गरी प्रतिवेदन सार्वजनिक गर्दा समेत त्यसलाई मन्त्रालयले नजरअन्दाज गरेको पाइन्छ ।

असुरक्षित खाडी मुलुक
नेपाल श्रम आप्रवासन प्रतिवदेन २०२० र एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले वैदेशिक रोजगारीको लागि मलेसिया र खाडीका छवटा राष्ट्रहरू नेपालीको लागि असुरक्षित भनी उल्लेख गरेको पाइन्छ । तर, दुर्भाग्य सरकारले हरेक महिना सबैभन्दा बढी श्रम स्वीकृति तिनै मुलुकका लागि प्रदान गर्नेगरेको छ । बोर्डको तथ्यांकले मलेसिया र खाडी मुलुक असुरक्षित रहेको प्रमाणित गरेको छ । चालू आर्थिक वर्षको आठ महिना अवधिमा मलेसिया र खाडीका छवटा राष्ट्रमा एक हजार ५२ जना नेपालीले ज्यान गुमाएका छन् । साउदी अरबियामा पाँच सय १४ जना, मलेसियामा तीन सय ३३ जना, कतारमा एक सय २३ जना र संयुक्त अरब इमिरेटस (यूएई)मा ८२ जनाले ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा साउदी अरबियामा तीन सय ४६ जना, मलेसियामा दुई सय ८२ जना, कतारमा दुई सय २१ जना र यूएईमा एक सय ८७ जना नेपालीले ज्यान गुमाएका थिए । वैदेशिक रोजागरीमा नेपालीको ज्यान जानुमा कार्यस्थल दुर्घटना, सवारीसाधान दुर्घटना, रोग, आत्महत्यालगायत छन् । अदक्ष भएका कारण ज्यादै जोखिमपूर्ण काम गर्नुपर्ने नेपालीको बाध्यात्मक अवस्था छ, जसले गर्दा ज्यान जाने जोखिम उच्च छ । यस्तै, सवारीसाधान नियम पालना नगर्दा हुने दुर्घटना पनि ज्यान गुमाउने कारण रहेको बोर्डका अधिकारी बताउँछन् । कतिपय मृत्युलाई रोक्नसक्ने भए पनि खाडी मुलुकहरूले त्यसलाई नरोक्ने गरेको पाइन्छ । जसमा नेपाल सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन ।

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले कतारमा पाँच सय ७१ जना नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युमध्ये दुई सय जनाको मृत्युलाई रोक्न सकिने बताएको छ । प्रतिवेदनले असुरक्षित काम गर्ने वातावरण कतार सरकारले रोक्नसक्ने भए पनि त्यसलाई नरोकेको उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया