Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक छ : रेखा शर्मा

रेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक छ : रेखा शर्मा


काठमाडौँ । रेडियो नेपालको ७४औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् ।

उनले रेडियो नेपालले गाउँ, सहर र दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने बताइन् ।

मन्त्री शर्माले रेडियोको पहुँच पुर्याउने लक्ष्यअनुरुप हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पुर्याउन सफल भएको सुन्दा खुसी लागेको उल्लेख गर्दै बाँकी जनसङ्ख्यामा प्रसारण पहुँच वृद्धि गर्न कटिबद्ध भएर लाग्न आग्रह गरिन् । उनले अब रेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक रहेको बताइन् ।

मन्त्री शर्माले राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन । उनले २००७ सालको क्रान्तिको जगबाट स्थापित अग्रणी प्रसारण संस्था रेडियो नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आइरहेको बताइन् ।

उनले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सूचना प्रविधिको विकासले सञ्चारका माध्यममा विविधता आएको भए पनि अझै रेडियोप्रतिको आकर्षण नघटेको उल्लेख गरिन ।

मन्त्री शर्माले अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा, मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको स्मरण गरेकी छिन् । उनले भनिन, “रेडियो नेपाल गाउँ–सहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो ।”

मन्त्री शर्माले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताइन । उनले रेडियो नेपालले समय सुहाउँदो नवीनतम् प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा ध्यान दिन निर्देशन दिइन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया