सन्दिग्ध इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए, बदला लिने तेहरानको चेतावनी
काठमाडौं,सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरेलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ।
हमलामा ११ जना मारिएका विवरणमा जनाइएको छ। तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन्।
रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएअनुसार मारिनेमा ब्रिगेडियर जेनरल मोहम्मद रेजा जाहेदी पनि छन्।इरानी विदेशमन्त्री होसैन अमिरअब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन भनेका छन्।
तनाव चुलिने सङ्केत
दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि धुजाधुजा भएको अनलाइनमा राखिएका भिडिओहरूमा देखिन्छ।
इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरेलविरोधी नारा लगाउँदै इजरेली झन्डा जलाएका छन्।
जाहेदीको मृत्युका लागि इजरेल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदै छ।
इजरेली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे प्रतिक्रिया नदिने बताएको छ।
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडन विवरणहरूबारे “अवगत रहेको” जनाएको छ।
तर “निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे” अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसका एकजना प्रवक्ताले बताएका छन्।
दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।जबाफी कदमको सम्भावना
बीबीसीका मध्यपूर्व विश्लेषक सेबास्टिअन अशरका अनुसार पछिल्ला केही वर्षमा इजरेलले सिरियास्थित इरानी सम्बन्ध रहेका पूर्वाधारमाथि हमला गर्दै आएको छ। तर त्यस्ता हमलाको उसले विरलै जिम्मेवारी लिने गरेको छ।
उनी भन्छन्, “इजरेल र इरानको समर्थन रहेको हमासबीच युद्ध शुरू भएपछि यस्ता हमलाहरू बढेका छन्। तर यसले गम्भीर रूपमा तनाव चर्काउने देखिन्छ।”
उनका अनुसार इरानले जबाफी कदमका लागि समय लिन सक्छ र अनपेक्षित रूपमा उसले हमला गर्न सक्ने सम्भावना रहेको छ।
सिरियाली रक्षा मन्त्रालयका अनुसार इजरेली लडाकु विमानले इरानी वाणिज्य दूतावास रहेको भवनलाई निशाना बनाएको थियो।
सिरियाली हवाई प्रतिरक्षाले केही क्षेप्यास्त्रहरूलाई खसालिदिए। तर केही क्षेप्यास्त्रले भवनलाई ध्वस्त पारिदिएको सिरियाली रक्षा मन्त्रालयले उल्लेख गरेको छ।
भग्नावशेषबाट शवहरू निकाल्ने काम र घाइतेको उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
तर हताहत हुने व्यक्तिहरूको सङ्ख्या अथवा नामबारे उसले केही बताएको छैन।
हमलाको कडा निन्दा गरेका सिरियाली विदेशमन्त्री फैसल मेक्दादले “घृणित आतङ्कवादी हमला” को सङ्ज्ञा दिँदै त्यसमा “कैयौँ निर्दोष व्यक्ति मारिएका” बताएका छन्।
छुट्टै प्रसङ्गमा गाजामा एउटा हवाई हमलामा परी चारजना विदेशी सहायताकर्मी र उनीहरूका प्यालेस्टिनी चालक मारिएका छन्।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया