Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने : उपप्रधानमन्त्री श्रेष्ठ

जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

कन्सुलर सेवा विभागले विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी बिहीबारदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरे । “सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने जानकारी दिए । उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।

कार्यक्रममा नयाँ ‘मोडयुल’को सेवाका बारेमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी गराएका थिए । “उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नं र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुन्छ । फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ”, उनले भने । विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको महानिर्देशक पौडेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया