Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२९औँ वन्यजन्तु सप्ताह अन्तर्गत चरा अवलोकन

२९औँ वन्यजन्तु सप्ताह अन्तर्गत चरा अवलोकन


भरतपुर, । चितवनमा सोमबार २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको छ ।

वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु विँडारीले चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको बताए । चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका विँडारीले जानकारी दिए । उनका अनुसार यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन् ।

ओझेलमा रहेका जनकौली वनको प्रचारप्रसार र विकासका लागि वन्यजन्तु सप्ताहको अवसरमा पारेर चरा अवलोकन कार्यक्रम राखिएको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरीले बताए ।

सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएकामा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले चिन्ता व्यक्त गरेका छन् । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आकर्षित गर्ने गतिविधि आवश्यक रहेको उनले बताए ।

अन्य देशबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेका बताउँदै जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले यस वनमा चराको राम्रो बासस्थान रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

मंगलबार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, भोलि डुङ्गा सयर, वैशाख ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया