Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमसानघाटको ६० करोड मूल्यबराबरको सार्वजनिक जग्गा सीजीको नाममा

मसानघाटको ६० करोड मूल्यबराबरको सार्वजनिक जग्गा सीजीको नाममा


काठमाडौं । नेपालका एकमात्र डलर अर्बपछि विनोद चौधरीले पर्सा र बाराको सिमानामा पर्ने चोर्नीस्थित छठ तथा मसानघाटको जग्गा चौधरी ग्रुपअन्तर्गतको सीजी लजिस्टिक पार्क कम्पनी वीरगञ्ज मुर्लीको नाममा दर्ता भएको पाइएको छ ।

सीजी ग्रुपले वीरगञ्ज महानगरपालिका वडा नंं. ३२ को साबिक चोर्नी गाउँ विकास समिति वडा नंं १ को कित्ता नं १, ५, ७, २३, २४, २५ ४८, ५० र ७१ को करिब दुई बिघा सार्वजनिक जग्गा माफियासँगको मिलेमतोमा आफ्नो नाममा पास गरेको पाइएको हो ।

केही समयअघि मात्र किर्गिस्तानमा पाँच अर्ब रुपैयाँमा टेलिकमको सेयर खरिद गरेर नेपालमा भन्दा विदेशमा आफ्नो लगानी बढाउँदै लगेका चौधरीले बाँसबारीमा मिचिएको भनिएको सरकारी जग्गा बैंकमा राखेर समेत पैसा लिएको पाइएको थियो ।

देशका विभिन्न ठाउँहरूमा सरकारी जग्गाहरू किर्ते गरेर आफ्नो नाममा ल्याएको र त्यसको छानबिन नभएको भनेर जनस्तरबाटै व्यापक आलोचना हुँदा समेत नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीमाथि राजनीतिक संरक्षणको आडमा छानबिन हुन सकेको छैन ।

सीजी ग्रुपले सार्वजनिक जग्गा किर्ते गरेर आफ्नो नाममा बनाएको सार्वजनिक भइरहँदा वीरगञ्जमा समेत मसानघाटको सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा बनाएको सार्वजनिक भएको हो ।

वीरगञ्ज वडा नं. ३२ बस्ने रामआशिष पासवान र बारा, पर्सा शिव हनुमान मन्दिर तथा मसानघाट जग्गा संरक्षण संघर्ष समितिका संयोजक ताराकुमारी राम (चमार)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय पर्साका कर्मचारी र भू–माफियालाई कारबाहीको माग राख्दै गत चैत २८ गते निवेदन दर्ता गराएपछि चौधरीको अर्को धन्दा समेत सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत चैत २८ गते निवेदन दर्ता गराएका रामआशिष पासवानले आफू वीरगञ्ज ३२ चोर्नीस्थित सरकारी सार्वजनिक जग्गा कि नं ४८ र ५० को सँधियार रहेको उल्लेख गरेका छन् । उनले नेपालको संविधानको धारा ४८ को नागरिक कर्तव्य (छ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने अवस्थाबमोजिम सरकारी सार्वजनिक सम्पत्ति कब्जा गर्ने व्यक्ति र कम्पनीलाई कारबाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

मृत्यु भएका मानिसको लास दाहसंस्कार गर्ने मासनघाट र छठ पर्वको अवसरमा पूजा गर्ने छठघाटको रूपमा प्रयोग गर्दै आएको सरकारी सार्वजनिक जग्गामा चौधरी ग्रुपको सीजी लजिस्टिक पार्क कम्पनीले कम्पाउन्डवाल लगाउन खोजेपछि स्थानीयले अवरोध गरेका थिए ।

सीजी कम्पनीका प्रतिनिधिले उक्त जग्गा आफूले वैधानिकरूपमा खरिद गरेको दाबी गरेपछि मालपोत कार्यालय पर्सामा बुझ्दा कम्पनीले दाबी गरेका कित्ता नम्बरहरू पर्सा जग्गा मोठ ठेली नं. ४३ पाना नम्वर ६६२१ मा जग्गाधनी सकल फिल्डबुकमा जग्गाधनी मोही महल खालिरहेको पाइएको छ ।

निवेदनमा उक्त कित्ता नम्बर भएको जग्गा २०२१ सालको नक्सामा सरकारी, सार्वजनिक, पर्ती भनेर उल्लेख गरिएको छ । चोर्नी गाविसका पूर्वअध्यक्ष रामबालक धानुक महतोले चौधरी ग्रुपअन्तर्गतको कम्पनीलाई पास गर्नकै लागि उक्त जग्गा आफ्नो भाइ उमा महतो धानुकको नाममा नामसारी गरिएको आशयको निवेदनमा उल्लेख छ ।

निवेदनअनुसार २०७९ भदौ ३१ गते सीजी लजिस्टिक पार्क कम्पनीको नाममा उक्त जग्गा रजिस्ट्रेसन पास गराएका थिए । उक्त जग्गाको मूल्य ६० करोड पर्ने उल्लेख छ ।

निवेदनमा सार्वजनिक जग्गा मुलुकी अपराधसंहिता २०७४ को २७२ बमोजिम जालसाजी गरेको हुँदा मालपोत कार्यालय पर्साका कर्मचारी नासु राजेश्वरप्रसाद साहतेलीलगायत चोर्नीका पूर्वगाविस अध्यक्ष रामबालक महतो, उमा महतो धानुक र विनोद चौधरीको नाममा रहेको सीजी लजिस्टिक पार्क कम्पनी वीरगञ्जलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया