Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमर्मतपछि निगमको न्यारो बडी जहाज काठमाडौं ल्याईँदै

मर्मतपछि निगमको न्यारो बडी जहाज काठमाडौं ल्याईँदै


काठमाडौं  । नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज इजरायलमा मर्मतपछि काठमाडौं ल्याउन लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए ।

मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा मन्त्री तामाङले लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौं आउन लागेको जानकारी दिए । आफूले जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण केही ढिलो गरी भए पनि जहाज आउन लागेको उनले बताए । जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौं फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएको थियो । सोहीअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

यस्तै, अन्तर्क्रियामा पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिए । नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउन सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेको उनले बताए । नेपालका जहाज संसारको आकाशमा निर्बाधरूपमा उड्न पाउनुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया