Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालीको मृत्यु नरोक्ने कतारी राजाको सम्मानमा सार्वजनिक बिदा

नेपालीको मृत्यु नरोक्ने कतारी राजाको सम्मानमा सार्वजनिक बिदा


काठमाडौं । कतारमाथि आप्रवासी श्रमिकको श्रम शोषण र मृत्यु रोक्न नसकेकोलगायत गम्भीर खालका आरोप लाग्दै आएको छ । अझै एम्नेस्टी इन्टरनेसनलले तयार पारको प्रतिवेदनमा कतारमा कार्यरत नेपाली श्रमिकको मृत्युलाई नरोकेको उल्लेख छ । एम्नेस्टी इन्टरनेसनलले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्नेमा त्यसलाई नरोकेको जनाएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश कूटनीति भने कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका बेला देशभर सार्वजनिक बिदा दिई स्वागत गर्नु देखिन्छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिई राजा थानीलाई स्वागत गर्ने तयारी गरेको छ ।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो । सन् २००९ देखि २०१७ सम्मको अवधिमा भएको पाँच सय ७१ जना नेपाली आप्रवासी श्रमिकहरूको मृत्यु मुटुको समस्याबाट भएको थियो । तीमध्ये दुई सय जनाको मृत्युलाई रोक्न सकिने निष्कर्ष सो अध्ययनको थियो ।

अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि गएको दशकमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको कुरा एम्नेस्टी नेपालले जनाएको छ ।

कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू ‘प्राकृतिक कारण’ वा अस्पष्टरूपमा परिभाषित हृदयाघातको कारणले भएको जनाउँदै नियमितरूपमा कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ भन्ने विषयलाई एम्नेस्टीको नयाँ प्रतिवेदन ‘इन द प्राइम अफ दियर लाइभ्स’ले प्रस्तुत गरेको छ । एक जना प्रमुख प्याथोलोजिस्टले ‘अर्थहीन’ भनी वर्णन गरेका यी प्रमाणपत्रहरूले पीडित परिवारहरूलाई क्षतिपूर्ति दिने सम्भावनालाई नकार्छ, जसमध्ये अधिकांशले परिवारको कमाउने मुख्य व्यक्ति गुमाएपछि आर्थिक कठिनाइको सामना गरिरहेको बताइएको छ ।

कतारी अधिकारीहरूले आप्रवासी कामदारको मृत्युको अनुसन्धानमा समेत गैर–जिम्मेवारीपन देखाएको बताउँदै एम्नेस्टी इन्टरनेसनलले आप्रवासी कामदारको मृत्युसम्बन्धी अनुसन्धान नगरेको बताएको छ । एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गरेको थियो । तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणबारे कुनै जानकारी प्रदान गरेन, त्यसको सट्टा ‘हृदयाघात प्राकृतिक कारण’, ‘हृदयाघात निर्दिष्ट नगरिएको’ र ‘प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता’जस्ता शब्दहरू प्रयोग गरिएका छन् । जुन आपत्तिजनक रहेको छ ।

३४ वर्षीय तुलबहादुर घर्ती निर्माण कार्यमा संलग्न थिए । ३९ डिग्री सेल्सियससम्मको तापक्रममा दश घण्टा काम गरेपछि सन् २०२० मे २८ का दिन सुतेको बेलामा उनको मृत्यु भएको थियो । ‘आफूलाई कुनै पनि रोग भएको कुरा उहाँले उल्लेख गरेको मैले कहिल्यै सुनेकी थिइनँ, उहाँको अचानक मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो । मेरो श्रीमान्लाई आगो लगायो । आफू तेलमा जलिरहेकोजस्तो मलाई लाग्छ,’ घर्तीकी श्रीमती विपनाले एम्नेस्टी इन्टरनेसनलसँग भनेकी छिन् ।

प्रधानमन्त्री दाहालले राजा थानीको भ्रमणको क्रममा नेपाली श्रमिक समस्याहरू उठाई त्यसको समाधानका लागि आगामी दिनमा दुवै मुलुक कार्यान्वयनमा गएको खण्डमा भने भ्रमण तथा कूटनीति फलदायी हुन सक्छ । बाध्यकारी वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमध्ये कतार नेपाली श्रमिकको गन्तव्य मुलुक बनेको अवस्थामा नेपाली श्रमिक सुरक्षित, सरल र सहजतका साथ श्रम गर्नु पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्ने दायित्व प्रधानमन्त्री दाहालसँग छ । यसबाहेक लगानी ल्याउने, व्यापार, पर्यटनलगायतका क्षेत्रमा सुधार गरी नेपाल–कतार सम्बन्ध समेत सुमधुर बनाउने जिम्मेवारी उनीमाथि छ । नेपाल र कतारबीच श्रमिकको मुद्दा, लगानी, व्यापारलगायतका विषयमा सुधार तथा नयाँपन नआएमा भ्रमणको औचित्य नहुन सक्छ ।

राजा थानीको नेपाल भ्रमणको क्रममा श्रम सम्झौता पुनरावलोकन गर्ने तयारी दुवै मुलुकले गरेका छन् । राजा थानीको भ्रमणको लागि श्रममन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिसहाल विन मोहमद अलि अल अन्सारीबीच भएको छलफलमा नेपाल र कतारबीचको श्रम सम्झौता पुनरावलोकन गर्ने विषयमा सहमति भएको थियो ।

काम गर्नका लागि कतार जाने नेपालीको संख्या उच्च रहे पनि नेपाली तथा आप्रवासी श्रमिकका लागि कतार आकर्षक गन्तव्य बन्न सकेको छैन । मानव अधिकारको प्रत्याभूति नहुनु, श्रम कानुन लागू नहुनु, अमर्यादित श्रम, असुरक्षित श्रम र श्रमिकमाथि हुने हिसांलगायतका कारणले गर्दा कतार नेपाली श्रमिकको लागि उचित र आकर्षक गन्तव्य बन्न नसकेको हो । यसअघिको संयुक्त बैठकमा नेपाली पक्षले नेपाली श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायतका विषयमा छलफल गरी त्यसको उचित प्रबन्ध गर्नुपर्ने माग राखेको थिए । कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको थियो तर ती सम्पूर्ण विषयहरू श्रम सम्झौता पुनरावलोकन हुन नसक्दा कार्यान्वयनमा जान सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया