Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीडीओलाई दुरुपयोग गरेर गृहमन्त्रीको नाममा धन्दा

सीडीओलाई दुरुपयोग गरेर गृहमन्त्रीको नाममा धन्दा


काठमाडौं । विवादस्पद गृहमन्त्री रवि लामिछानेको ‘सल्लाहकार हुँ’ भन्दै एक व्यक्तिले दिएको दबाब थेग्न नसकेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जीतेन्द्र बस्नेतले गैरकानुनीरूपमा एउटा गैरसरकारी संस्थाको पूर्वनिर्धारित साधारणसभानै स्थगन गर्न पत्राचार गरेका छन् ।

सीडीओ बस्नेतले काठमाडौंको काँडाघारी मनोहरामा रहेको नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको पूर्वनिर्धारित साधारणसभा स्थगन गर्न निर्देशन दिएर गैरकानुनी कार्य गरेका हुन् । महागुठीको पूर्वनिर्धारित साधारणसभा गत फागुन २८ गते गर्ने निर्णय भएको थियो र त्यसको तयारी सकिएको थियो तर सीडीओ कार्यालयले फागुन २४ गते साधारणसभा रोक्न पत्राचार गरेको थियो । कृष्णकुमार केसीले उक्त पत्राचार गरेका थिए ।

सरसर्ती हेर्दा एउटा गैरसरकारी संस्थाको पूर्वनिर्धारित साधारणसभा रोकेर सीडीओ कार्यालयले त्यस्तो ठूलो कुनै गल्ती गरेजस्तो नदेखिए पनि त्यसभित्र सत्ताको आडमा भएको उठौतीपुठौतीको गम्भीर रहस्य लुकेको पाइएको छ र सीडीओ बस्नेत आफैं निरीह बनेर त्यस्तो आदेश गर्न विवश भएको बुझिएको छ ।

कानुनले त्यसरी संस्थाको साधारणसभा रोक्ने अधिकार सीडीओलाई दिएको छैन । तर त्यहाँ अनियमितता भएको लागेमा त्यसको छानबिन गर्ने उद्देश्य कार्यान्वयनमा रोक लगाउन सक्ने जस्ता अधिकार दिएको छ तर त्यसरी साधारणसभा नै रोक्ने अधिकारचाहिँ दिएको छैन ।

अधिकार नै नभए पनि सीडीओ बस्नेतले त्यसरी साधारणसभा रोक्ने पत्राचार स्वेच्छाले भन्दा पनि बाध्यताले गरेको खुल्दै गएको छ । उक्त घटनाका पछाडि एकजना मारवाडी जोडिएको र उक्त संस्थाका एक अधिकारीसँग बार्गेनिङ गरेको कुरा एक कान दुईकान हुँदै मैदान हुन पुगेको छ ।

आफूलाई गृहमन्त्री रवि लामिछानेको नेतृत्वको रास्वपाको केन्द्रीय सदस्य बताउने र गृहमन्त्रीको सल्लाहकार हुँ भन्दै हिँड्ने विराटनगरतिरका अरुण शर्मा (मारवाडी)ले धाक र रवाफ लगाएर सीडीओ बस्नेतलाई प्रभावमा पारेर उक्त निर्देशन गराएको बुझिएको छ ।

शर्माले आफू अनुकूलका व्यक्तिलाई साधारणसभा स्थगन गराउन निवेदन दिन लगाएर त्यसैका आधारमा संस्थाको साधारणसभा रोक्न लगाएका थिए र त्यसलाई खुलाउन रकमको बार्गेनिङ गरेका थिए ।

उक्त संस्थाको साधारणसभा रोकाउने र खुलाउने नाममा भएको बार्गेनिङको चर्चा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि घटना सतहमा आएको हो ।

गृहमन्त्री लामिछानेका आडमा अरुण शर्माले गरेको सजिलो धन्दाको रापमा सीडीओ बस्नेत सेकिने अवस्थामा पुगेका छन् । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर ल्याएका सीडीओ बस्नेतलाई लामिछानेका अनुयायीले धम्काएरै दुरुपयोग गरेका छन् र उनले कानुनी आधार नसमाउँदा चिप्लिने अवस्थामा पुगेका छन् । यस बारेमा विवादस्पद मारवाडी अरुण शर्मासँग कुरा गर्न फोन सम्पर्क गर्दा उनीले आफू त्यो संस्थाको दाता र आजीवन सदस्य समेत रहेको अहिले पनि केन्द्रीय सदस्य रहेको र मुख्य गुठियारहरूको मागअनुसार नभएकाले साधारणसभा रोकिएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाउने र त्यसको छानबिनको प्रतिवेदन आएपछि सोहीअनुसार हुने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया