Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन

सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन


प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीय तहका १५ हजार बढीले आवेदन दिएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को रोजगार कार्यक्रममा सूचीकृत बनेर एक सय दिन बराबरको रोजगार प्राप्त गर्न १५ हजार चार सय ६३ जनाले आवेदन दिएको पाइएको छ ।न्यूनतम रोजगारीका लागि आवेदन फारम भर्ने सबैभन्दा धेरै कालिन्चोक गाउँपालिकामा पाँच हजार ८३ जना रहेका छन् भने सबैभन्दा कम जिरी नगरपालिका दुई सय ६५ जना रहेका छन् । कालिञ्चोकमा दुई हजार सात जना पुरुष र दुई हजार ७६ जना महिलाले आवेदन दिएका हुन् । त्यसैगरी भीमेश्वर नगरपालिकामा नौ सय १२ महिला तथा आठ सय ४ पुरुष गरी एक हजार सात सय १६ जनाले न्यूनतम रोजगारको लागि आवेदन दिएका छन् ।

त्यस्तै, जिल्लाको गौरीशंकर गाउँपालिकामा दुई हजार छ सय ६४ जनाले आवेदन दिएको पालिका रोजगार सेवा केन्द्र प्रमुख जगदीश खड्काले जानकारी दिए । गौरीशंकर गाउँपालिकामा गत वर्षको तुलनामा यस वर्ष रोजगारीको लागि आवेदन दिनेको संख्यामा वृद्धि आएको उनले बताए । गौरीशंकरले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत हालसम्म १५ किलोमिटर सडक सोलिङ गरेको छ ।

त्यसैगरी वैतेश्वर गाउँपालिका पनि गत वर्षको तुलनामा यस वर्ष आवेदन दिनेको संख्यामा सामान्य वृद्धि भएको छ । वैतेश्वरमा गत वर्ष पाँच सय ६१ जान आवेदन दिएका थिए भने यस वर्ष सात सय ७९ जनाले आवेदन दिएको वैतेश्वरका रोजगार सेवा केन्द्र प्रमुख वासुदेव दहालले बताए । यस्तै, जिल्लाको तामाकोशी गाउँपालिकामा एक हजार ५४ जना पुरुष र नौ सय ३८ जना महिलाले रोजगारको लागि आवेदन दिएका छन् । बिगु गाउँपालिकामा दुई हजार तीन सय एक जना, मेलुङ गाउँपालिकामा छ सय ८७ जनाले आवेदन दिएका छन् ।

यता शैलुङ गाउँपालिकाले भने हालसम्म आवेदन दिनेको संख्या नछुट्याएको र जम्मा आवेदन दिनेको यकिन संख्या आउन केही दिन लाग्ने जनाएको छ ।समग्रमा जिल्लाभर रोजगारीका लागि निवेदन दिने युवाभन्दा ५० वर्षमाथिका महिला पुरुष धेरै रहेको पाइएको छ । जिल्लाका स्थानीयतहले न्यूनतम रोजगारीका लागि सूचीकृत बनेर आउनेहरूलाई एक सय दिन अर्थात् तीन महिना १० दिन बराबर स्थानीय विकास निर्माणका कार्यमा काम लगाएर रोजगार रकम उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया