Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?

ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?


काठमाडौं,बत्तीस कोठी साहु महाजनका रूपमा प्रख्यात पुरानो व्यापारिक घराना व्यवसायी बनवारीलाल मित्तल आजभन्दा नौ वर्षअघि बिते । नेपाल चेम्बर अफ कमर्स र मारबाडी सेवा समितिको पूर्वअध्यक्ष समेत रहेका मित्तल हेलिकोप्टर, निर्माणलगायत विभिन्न व्यवसायमा आबद्ध थिए । निर्माण व्यवसायी महासंघको संस्थापक अध्यक्ष समेत रहेका मित्तल भारतको राजस्थानबाट नेपालमा आएका हुन् । उनै मित्तलकी छोरीका कारण यो घराना नै विवादमा पर्ने देखिएको छ । सरकारी जग्गा हिनामिनामा बनबारीलालकी छोरी बानिता मित्तल अग्रवाल समेत मुछिएकी छिन् । काठमाडौंको ज्ञानेश्वर ओरालोदेखि रातोपुलतर्फ जाँदा बायाँपट्टि सहिद मार्गमा आलोक विद्याश्रम विद्यालय सञ्चालन गरेकी बानिताले सरकारको छ रोपनी नौ आना जग्गा सेटिङमा हत्याएको आरोप छ ।

कुनै समय सहिद स्मारक आवासीय माध्यामिक विद्यालयको नाममा दर्ता रहेको उक्त सरकारी जग्गामा अहिले एकाएक आलोक विद्याश्रम खुलेको छ । भारतीय पाठ्यक्रम पढाइने यो स्कुल वडा कार्यालय, महानगरपालिका र केन्द्र सरकारसँग समेत अनुमति नलिई सञ्चालनमा आएको हो । कथित डलर अर्बपति विनोद चौधरीका दाजुभाइले बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा हत्याएभन्दा खतरनाक तरिकाले बानिता संस्थापक रहेको भारतीय आलोक विद्याश्रमले ज्ञानेश्वरस्थित सरकारी जग्गा कब्जा गरेको हो । जानकारहरूका अनुसार बानिताले सञ्चालन गरेको आलोक विद्याश्रम बत्तीसपुतली, ज्ञानेश्वर हुँदै सहिद मार्गस्थित मार्टियस स्कुलको भवनमा कब्जा गर्न पुगेको हो । यस विषयमा बानितालाई पटक–पटक सम्पर्क गर्दा उनी प्रश्नबाट भाग्ने कोसिसमा छन् । केही दिनअघि सम्पर्कमा आएका ईश्वर सिंह नाम गरेका व्यक्ति सम्झौताको कागजात रहेको दाबी त गर्छन् र तर, हालसम्म उनी समेत सम्पर्कमा छैनन् ।

यसरी भयो सरकारी जग्गा कब्जाको खेल
हाल आलोक विद्याश्रम रहेको स्थानमा केही वर्षअघिसम्म सहिद स्मारक आवासीय विद्यालय थियो । सहिद मार्गमै साहिद आवासीय विद्यालयका लागि भनेर तत्कालीन सरकारले सरकारी जग्गा नै उपलब्ध गराएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि खुलामञ्चमा भाषण गरिरहेका बेला महेन्द्रलाई कालो झण्डा देखाएर शैलजा आचार्यसँगै विरोध गर्नेमध्येकी हुन् गौरी जोशी राणा । उनै राणाले सरकारी जग्गामा सहिदको नाममा विद्यालय चलाउनु प¥यो भनेर तत्कालीन सरकारसँग मागेपछि सरकारले नै जग्गा उपलब्ध गराएको हो । तर, अहिले राणा परिवारले नै यो जग्गा मारबाडी व्यापारिक घरानालाई गैरकानुनी रूपमा बुझाएको छ ।

विसं २०२५ सालमा स्थापना भएको मार्टियस स्कुल स्थापनाकालमा नक्सालबाट सञ्चालित थियो । सोही स्कुल पछि गएर कमलपोखरी हुँदै २०३५ सालमा सहिद मार्गमा स्थानान्तरण भएको हो । उक्त स्थानमा मार्टियसले पछिल्लो समय आफ्नै भवन र अन्य भौतिक संरचना खडा गरेको थियो । कुनै समय कक्षा १२ सम्म पठनपाठन हुने उक्त विद्यालय राणा परिवारले बन्द गराएर निजी विद्यालय खोल्न चलखेल भएको थियो । यो विद्यालय सञ्चालनका लागि कुनै समय पाकिस्तानीहरू समेत आएका थिए । उक्त विद्यालयभित्र रहेको हिन्दुको मन्दिर तोडफोड गरिएको समेत आरोप छ । तर, पछि सोही स्थानमा अचानक भारतीय पाठ्यक्रम पढाइने आलोक विद्याश्रम घुसाइएको हो ।

मार्टियस स्कुलका पूर्वकर्मचारी गोपाल आचार्यका अनुसार विद्यालय व्यवस्थापन समितिले नै सरकारी जग्गासहितको भौतिक संरचना आलोक विद्याश्रमलाई भाडामा दिएको हो । जबकि यसरी सरकारी जग्गा विद्यालय व्यवस्थापन समितिले अन्य कसैलाई पनि भाडामा लगाउने अधिकार छैन । मन्त्रिपरिषदको निर्णयको आधारमा मात्रै सरकारी जग्गा भाडामा दिन पाइने कानुनी व्यवस्था छ । ‘त्यो स्कुल बन्द हुनुभन्दा तीन वर्षअघि नै म स्कुलबाट बिदाई भइसकेको थिएँ । गौरी जोशी राणाले विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएपछि भाडामा दिएको भन्ने सुनेको हो’, उनी भन्छन्, ‘आलोक विद्याश्रमले झन्डै तीन वर्षअघि १० वर्षको लागि मार्टियस स्कुलको संरचना भाडामा लिएको हो । गौरी जोशी राणाको छोरीले मासिक भाडा तीन लाख उठाउने गरी भाडामा दिएको भन्ने सुन्नमा आउँछ । यसबाहेक अरु मलाई थाहा छैन ।’

हाल मार्टियस स्कुलकी संस्थापक अध्यक्ष गौरी जोशी राणाको निधन भइसकेको छ । आलोक विद्याश्रम सञ्चालित जग्गा र त्यहाँ निर्मित भौतिक संरचनाहरू सहिद स्मारक माध्यामिक विद्यालयको नाममा रहेको वडा न ३० को कार्यालयको दाबी छ ।भारतीय दूतावासको समेत कालोसूचीमा रहेकी आलोक विद्याश्रमकी संस्थापक तथा प्रिन्सिपल रहेकी बानिता मित्तलले सीबीएसईको परीक्षामा फेल भएका विद्यार्थीबाट रकम असुली गरेको आरोप छ । सोही आरोपमा उनलाई दूतावासले कालोसूचीमा राखेको हो । विद्यार्थीबाट अवैध असुली गरेको तर ती विद्यार्थी फेल भएको पाइए पनि कक्षा उत्तीर्ण गराइएको खुलेको थियो । त्यस्ता विद्यार्थीबाट तीन लाख रुपैयाँका दरले अवैध शुल्क उठाइएको घटनाले यो विद्यालय कालोसूचीमा परेको स्रोतको भनाइ छ ।

शैक्षिक सेवाबाट आम्दानी आलोक विद्याश्रमले गर्ने भए पनि त्यसको कर भने मार्टियस स्कुलकै नामबाट बुझाइएको छ । यो पनि मित्तलले राजस्व छल्ने प्रपञ्चका लागि मात्रै प्रयोग गरिएको बताइन्छ । वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार कमाउने काम आलोकले गरिरहेको छ भने शुल्क तिर्ने काम मार्टियसको नामबाट गरिन्छ । वडाध्यक्ष कार्कीका अनुसार नेपालको संविधानअनुसार स्थानीय तह मातहत हुनुपर्ने आलोक विद्याश्रममा महानगरपालिकालाई प्रवेश समेत अनुमति छैन । तर, सार्वजनिक शिक्षा सुधारको नामले चर्चित मेयर बालेन शाहको सरकार भने नाटकीयरूपमा थाहा नै नपाएजसरी बसेको छ ।
‘आलोक विद्याश्रमको हामीसँग पनि सम्पर्क हुँदैन’, उनी भन्छन्, ‘मार्टियस स्कुलको सम्पत्तिमा अर्कै विद्यालय सञ्चालन भएकोले गतवर्ष हामीले कुन्नि के विषयमा हो अबउप्रान्त सही गर्दिनँ भनेर पठाएका थियौँ । त्यसयता उनीहरू हामीसँग सम्पर्क गर्दैनन् । उनीहरूले विद्यालयको कुनै पनि बैठकमा बोलाउँदैनन् । त्यहाँ जानुप¥यो भने पनि हामीले उनीहरूसँग अनुमति माग्नुपर्छ । जब कि मैले आफ्नो कार्यक्षेत्रभित्र रहेका जुनसुकै विद्यालय, कलेजहरूमा निर्धक्क प्रवेश पाउँछु तर आलोक विद्याश्रममा भने उनीहरूको अनुमतिविना त्यहाँ प्रवेश पाइँदैन ।’

वडाले उक्त स्थानमा या त मार्टियस स्कुल सञ्चालन हुनुपर्ने होइन भने हाल सञ्चालित आलोक विद्याश्रम बन्द हुनुपर्ने निर्देशन दिँदै आएको छ । तर, आलोक विद्याश्रम भने न त बन्द हुने अवस्थामा छ न त त्यहाँ मार्टियस स्कुल नै पुनस्र्थापना हुने अवस्था छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया