Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति


काठमाडौं । अस्तव्यस्त श्रम क्षेत्रका बाबजुद चैत महिनामा ७० हजार युवाहरूले वैदेशिक रोजगारीका लागि एक सय एकवटा मुलुकमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले एक महिनामा ७० हजार नौ सय ३३ जना नेपाली श्रमिकलाई श्रम स्वीकृति दिएको जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको चैत महिनामा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ जना महिला गरी ७० हजार सात सय ७० जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ । उनीहरूले व्यक्तिगत तथा संस्थागत तवरबाट श्रम स्वीकृति लिएका हुन् । चैत महिनामा मेनपावरबाट ३३ हजार तीन सय ६९ जना, व्यक्तिगत प्रयासमा आठ हजार छ सय १८ जना, सरकारमार्फत पाँच सय तीन जना र बिदामा आएर फेरि नयाँ श्रम स्वीकृति लिनेमा २८ हजार चार सय ४३ जना छन् ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार श्रम स्वीकृति लिनेमध्ये ५० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकका लागि रहेका छन् । बाँकी दक्षिण कोरिया र युरोपेली मुलुकहरूका लागि छन् । चैत महिनामा ७७ वटा जिल्लाबाटै श्रम स्वीकृति लिएको उनको भनाइ छ । सबैभन्दा धेरै मधेश र कोशी प्रदेशका नागरिकले श्रम स्वीकृति लिएका छन् ।

सरकार कूटनीतिमा कमजोर बन्दै जाँदा नेपालीको लागि अन्तर्राष्ट्रिय श्रमबजार प्रभावित बन्न पुगेको छ । कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणको क्रममा नेपाल–कतार श्रम सम्झौता हुने भनेर प्रचार गरिएको थियो । तर, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालय सफल हुन सकेनन् । यसले नेपाली श्रमिकको विषयमा गन्तव्य मुलुकहरूसँगको कूटनीति राम्रो छैन भनेर बुझ्न कठिन छैन ।
मलेसियाका लागि १२ हजार छ सय दुईवटा, संयुक्त अरब इमिरेट्सका लागि १७ हजार आठ सय १८ वटा, साउदी अरबियाका लागि १३ हजार पाँच सय ९५ वटा, कतारका लागि ११ हजार दुई सय चारवटा, कुवेतका लागि चार हजार ७६ वटा, बहराइनका लागि नौ सय ६४ वटा र ओमानका लागि छ सय ६६ वटा श्रम स्वीकृति वितरण गरिएको छ ।

त्यस्तै जापानका लागि एक हजार तीन सय ५१ वटा र दक्षिण कोरियाका लागि छ सय ५७ वटा श्रम स्वीकृति वितरण गरिएको छ । लामो समयदेखि गन्तव्य मुलुक बनेको मलेसिया र खाडी मुलुक असुरक्षित मानिँदै आएको छ । यही कारण नेपाली श्रमिकले गन्तवय फेर्दै आएको विभागका अधिकारीहरू बताउँछन् । नेपाली श्रमिकहरू दक्षिण कोरिया, जापान, युरोपेली मुलुकहरू र अमेरिकाका लागि श्रम स्वीकृति लिनेगरेका छन् । यसका अलवा अफगानस्तिान, बंगलादेश, चीन, अष्ट्रेलिया, क्यनाडा, डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, फिनल्याण्ड, अमेरिका जानका लागि सयौँ जनाले श्रम स्वीकृति लिएका छन् ।

एसिया, युरोप र अमेरिका मात्र नभई अफ्रिकी मुलुक दक्षिण अफ्रिका, मौरिसस, घाना, नाइजेरियालागयतका मुलुक जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ । यद्यपि अफ्रिकी मुलुक जान भने ज्यादै न्यून संख्यामा श्रम स्वीकृति लिएका छन् । जस्तो चैतमा नाइजेरिया जानका लागि तीन जना, केनिया जानका लागि पाँच जना, कम्बोडिया जानका लागि दुई जना र कोमोरोस जानका लागि ११ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम तथा श्रम स्वीकृतिलाई लिएर सरकारको कमजोर कूटनीति तथा नीतिहरूले गर्दा श्रमिकहरू आफैँ गन्तव्य परिवर्तन गर्न थाल्दा धेरै मुलुकहरूमा नेपाली श्रमिक काम गर्नका लागि पुगेको विभागका अधिकारीहरू बताउँछन् ।

श्रम स्वीकृति लिनेको संख्या दिनदिनै बढ्दै गएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा पाँच लाख ३९ हजार ६८ जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा ७० हजार नौ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा ६५ हजार छ सय ५८ जना, माघमा ६२ हजार एक सय ४७ जना, पुसमा ६५ हजार आठ सय १३ जना, मंसिरमा ७१ हजार दुई सय ७६ जना, कात्तिकमा ४३ हजार छ सय २२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै असोजमा ५६ हजार दुई सय ३५ जना, भदौमा ५० हजार आठ सय ८४ जना र साउनमा ५५ हजार पाँच सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । मासिकरूपमा हेर्दा श्रम स्वीकृति लिनेको संख्यामा थपघट भए पनि समग्रमा बढेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए ।

चैतमा एक सय एकवटा मुलुकमा जान श्रम स्वीकृति प्रदान गर्दा करिब एक दर्जन मुलुकसँग मात्र श्रम सम्झौता गरिएको छ । श्रम स्वीकृति दिने तथा श्रम सम्झौता नहुनुले विदेशमा रहेका श्रमिक नेपालीहरू समस्यामा पर्ने सम्भावना उच्च हुने सरोकारावालाहरू बताउँछन् । श्रम स्वीकृति दिने तर श्रम सम्झौता नगर्दा ज्यादै न्यून तलब, विनासेवा सुविधा, असुरक्षित वातावारणमा काम गर्नुपर्ने अवस्था सिर्जना हुने श्रम विज्ञ डा. गणेश गुरुङ बताउँछन् । त्यसैले गर्दा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि सरकारले आवश्यकताअनुरूप श्रम सम्झौता र श्रम सम्झौता नवीकरणलगायतका कामहरू गर्दै जानुपर्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया