Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै

मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै


काठमाडौं । मोरङ उद्योग व्यापार संघको ३४औँ कार्यसमितिको निर्वाचन हुने मिति तय भएको छ । शनिबार बसेको निर्वाचन समिति बैठकले सोमबार निर्वाचन गर्ने मिति तय गरेको हो ।

निर्वाचनको मिति तय भएसँगै यहाँका उद्योगी एवं व्यवसायी क्षेत्रमा व्यापक चुुनावी सरगर्मी बढेको छ । गत हप्तादेखि नै संघको नयाँ कार्यसमितिको निर्वाचनलाई लिएर व्यापारिक समूहका बीचमा आरोप प्रत्यारोप नै चल्न थालेको छ । उनीहरूले आफ्नो समूहलाई वास्तविक व्यवसायीहरूको समूह र अर्को समूहलाई पारिवारिक क्लबजस्तो संस्था बनाउन चाहने समूह भनेर एक अर्कामा आरोप लगाउने गरेका छन् । निर्वाचनको मिति नै निर्धारण भएसँगै संघको आगामी नेतृत्वका लागि व्यवसायीको दौडधुप नै चलेको छ । संघको चुनावमा नेपाल उद्योग परिसंघ मोरङले समेत हस्तक्षेप गर्न लागेको भन्दै एकथरी व्यवसायीले असन्तुष्टि समेत व्यक्त गर्न थालेका छन् ।

सामान्य व्यवसाय गरेर बसेका उद्योगी तथा व्यवसायीलाई मोरङ उद्योग व्यापार संघको निर्वाचन भाग लिनै नदिने गरेको गुनासो पनि सुनिन थालिएको छ । निर्वाचनमा उम्मेदवारी दिने व्यवसायीका लागि २४ हजार शुल्क लगाएपछि व्यापक असन्तुष्टि बढेको हो । यति धेरै शुल्क तोकिएपछि सामान्य उद्योगी र व्यवसायीले उम्मेदवारी नदिने र आफ्नो योजनाअनुसार आफ्ना आसेपासेलाई उम्मेदवार बनाएर संस्था कब्जा गर्ने रणनीति मठाधीश उद्योगी तथा व्यवसायीहरूको भएको साना व्यवसायीहरूको दाबी छ । त्यसैगरी निर्वाचनको समयलाई लिएर पनि व्यवसायीको असन्तुष्टि व्यापक रहेको देखिन्छ ।

२४ गते बिहान ८ बजेदेखि दिउँसो साढे २ बजेसम्ममा मतदाता नामावली प्रकाशनदेखि नामावलीमा दाबी विरोध, उम्मेदवारी दर्ता, नाम फिर्ता, दाबी विरोधसहित मतदान समेत गरिसक्ने गरी छ घण्टाको समय सीमा तोकिएको छ । अधिकांश सदस्यको भावनाविपरीत निर्वाचन तालिका ल्याइएको उनीहरूको आरोप छ । संघको आगामी नेतृत्वका लागि अध्यक्षमा उद्योगी अनुुपम राठी निर्विरोध देखिएका छन् । तर वरिष्ठ उपाध्यक्षका लागि भने दुई पक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेपाल उद्योग परिसंघ मोरङको सिंगो कार्यसमितिले अनिल साहलाई वरिष्ठ उपाध्यक्ष बनाउन व्यापक लबिङ नै सुुरु गरिसकेको छ । परिसंघले साहको पक्षमा व्यापक लबिङ गर्न थालेपछि व्यवसायीको एउटा ठूलो समूहले संघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष उनका विरुद्ध अर्को उम्मेदवार खडा गर्ने तयारीमा छन् । साह व्यवसायी नभएर एक राजनीति व्यक्ति नभएको उनीहरूको आरोप छ ।

परिसंघले संघलाई हस्तक्षेप नगरी उद्योगीको प्रतिनिधिमूलक संस्थालाई सोहीअनुसार बनाउन व्यवसायीहरूले आग्रह समेत गरेका छन् । संघको सोमबार हुने निर्वाचनमा सुरुमा १६ जना कार्यकारिणी सदस्यका लागि चुनाव हुनेछ । कार्यकारिणी सदस्यबाट बहुमतको आधारमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था संघको विधानमा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया