Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा

गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा


काठमाडौँ । गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताएकी छिन् ।

आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको उल्लेख गर्दै सञ्चार मन्त्री शर्माले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताइन् ।

“विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वर्द्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ । नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पुर्याएको योगदान अविस्मरणीय रहेको छ”, उनले भनिन ।

उनले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा जोड दिइन् । सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गरिन् । आममानिसमा बिस्तार हुँदै गएको सूचना पहुँच र सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

“नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको गोरखापत्रको इतिहास जति गौरवशाली छ, वर्तमान र भविश्यमा पनि यसलाई कायम राख्नु चुनौतीको विषय हो”, उनले भनिन, “बजारमा प्रतिस्पर्धीका साथै अगुवा पत्रिकाका रुपमा स्थापित गर्न, आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ ।”

मन्त्री शर्माले सरकारका राम्रा कामबारेमा जनताको बीचमा पुर्याउने तथा जनता गुनासा र अपेक्षा सरकारसमक्ष पुर्याउने गरी सरकारी सञ्चारमाध्यमले कार्यक्रम बनाउनुपर्ने बताइन् । उनले गोरखापत्रले सरकारका आधिकारिक समाचार सम्प्रेषण गर्नाका साथै सरकार र जनताका बीचको पुलको काम गर्नुपर्नेमा जोड दिँइन ।

विगतमा राजनीति र पत्रकारिता क्षेत्र सँगसँगै भएर राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनपछाडि प्राप्त अधिकार कार्यान्वयनमा पनि सञ्चार जगत्ले खबरदारी गर्नुपर्नेमा जोड दिइन । गोरखापत्र र यसका सहप्रकाशन भावि पुस्ताका लागि बौद्धिक सम्पत्ति भएको जनाउँदै उनले यसको संरक्षणका लागि गोरखापत्रले थालनी गरेका प्रयास सरहानीय रहेको बताइन् ।

सो अवसरमा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गरिन । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ ।

कार्यक्रममा गोरखापत्र संस्थानका उत्कृष्ठ कर्मचारी राजेश चाम्लिङ राई, जुजुकाजी रञ्जित र सङ्गीता खड्का, उत्कृष्ट पत्रकार सरोज ढुङ्गेल, नायक पौडेल र मनोजरत्न शाही तथा २५ वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया