Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसी भएपनि माओवादीको सेवा गरेका कारण कारबाहीबाट जोगिए सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठ

कांग्रेसी भएपनि माओवादीको सेवा गरेका कारण कारबाहीबाट जोगिए सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठ


काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा धितो मूल्यांकनभन्दा धेरै कर्जा प्रवाह गरेको अभियोगमा २०८० फागुन १५ गते बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतहरूसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्यो । यसरी पक्राउ पर्नेहरूमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, सुशील प्रधान र सन्ध्या श्रेष्ठ थिए । पक्राउ परेका सबै अभियुक्तहरूउपर सीआईबीले सोही दिन नै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट म्याद थप गर्दै अनुसन्धान सुरु गरेको थियो । आजको दिनमा उक्त प्रकरणसँग जोडिएका सबै व्यक्तिहरू अदालतको आदेशअनुसार धरौटी बुझाएर छुटिसकेका छन् ।

सीआईबीले तत्कालीन सेञ्चुरीसँग सम्बन्धित आधा दर्जन व्यक्तिहरूलाई पक्राउ गर्नुको प्रमुख कारण थियो, धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्नता देखिनु । तत्कालीन सेञ्चुरी बैंकले हाल पुर्पक्षका लागि थुनामा रहेका ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईको संलग्नतामा खोलिएको पुजा ट्रेडिङ एन्ड मार्केट्स लिमिटेड, थ्रि ब्रदर्स मार्केटिङ लिमिटेड, पुजा मार्केटिङ लिमिटेड र अन्नपूर्ण डिस्ट्रिलरी प्रालि समेतलाई धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको देखिएको थियो । सीआईबीका अनुसार सेञ्चुरीको यो समूहले देउराली सहकारीसँग सम्बन्धित कम्पनीहरूलाई कर्जा प्रवाह गर्दा एक अर्ब १४ करोड २३ लाख ८४ हजार दुई सय ५८ रुपैयाँ धितो मूल्यांकन गरिएको भए पनि सोभन्दा बढी अर्थात् दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको थियो । सोअनुसार धितो मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रुपैयाँ अधिक कर्जा प्रवाह गरिएको थियो । यसरी धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह भएको देखिएपछि सीआईबीले तत्कालीन सेञ्चुरीका ११ जना अभियुक्तहरूलाई पक्राउ गरेको थियो ।

तत्कालीन सेञ्चुरी बैंक स्रोतले भने उक्त प्रकरणमा पक्राउ पर्नुपर्ने मुख्य व्यक्ति सेञ्चुरीका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठ भएको बताउँदै आएको छ । धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गराउनमा बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष श्रेष्ठले दबाब दिनेगरेको र उनकै जोडबोलमा सबै काम भएको स्रोतको दाबी छ । तर, यति धेरै कुरा भनिरहँदा पनि सेञ्चुरीका तत्कालीन अध्यक्ष श्रेष्ठ हालसम्म पनि कारबाहीको दायरामा नपर्नु सातौँ आश्चर्य भएको स्रोतको भनाइ छ ।

स्रोत भन्छ, श्रेष्ठ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद उमेश श्रेष्ठका भाइ हुन् । केही समय स्वास्थ्य राज्यमन्त्री समेत भएका उमेशसँगै राजेश पनि कांग्रेसी नै हुन् । तर, राजेश कांग्रेसी भए पनि आफ्नो स्वार्थ र फाइदाको लागि माओवादीको सेवा गरिरहने अवसरवादी व्यक्तित्व हुन् । माओवादी नेता जनार्धन शर्मासँग राजेशको विशेष सम्बन्ध रहेको छ । अर्थमन्त्री हुनुअघि केही समय शर्मा राजेशको घरमा बसेका थिए । पछि अर्थमन्त्री भएपछि शर्मासँगको राजेशको सम्बन्ध झन् बाक्लिएको थियो । सोही कारण देउराली सहकारीसँग जोडिएका धेरै व्यक्तिहरू कारबाहीमा परिसक्दा पनि राजेश भने कारबाहीमा नपरेको स्रोतको दाबी छ ।

अहिले कांग्रेस सत्तामा नहुँदा पनि सेञ्चुरीका तत्कालीन अध्यक्ष राजेश कारबाहीमा नपर्नुको कारण सरकारको नेतृत्व गरिरहेको माओवादीका नेता तथा मन्त्रीहरूसँगको निकट सम्बन्ध नै भएको दाबी स्रोतले गरेको छ । माओवादीका नेता तथा मन्त्रीहरूसँग दिनहुँको उठबस नै श्रेष्ठको देउराली सहकारी प्रकरणको लागि सुरक्षा कवच भएको स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया