Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ वर्षमै सुनको मूल्य ८० हजार रुपैयाँ बढ्यो

छ वर्षमै सुनको मूल्य ८० हजार रुपैयाँ बढ्यो


काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । तथ्यांक हेर्दा सुनको मूल्यमा ‘दिन दुई गुणा रात चौगुणा’ भन्ने उखान यथार्थ बनेको छ । छ वर्षमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८० हजार चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य २०८१ वैशाख ४ गते एक लाख ३९ हजार दुई सय रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । त्यसको ठीक छ वर्षअघि २०७५ वैशाख ४ गते सुनको मूल्य ५८ हजार आठ सय रुपैयाँ थियो । त्योभन्दा पनि तीन वर्षपहिले २०७२ साउनमा सुनको मूल्य ४८ हजार रुपैयाँ मात्रै थियो । यसरी हेर्दा नौ वर्षमा सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँले महँगो भएको छ ।

आजभन्दा २२ वर्ष पहिले अर्थात् २०५९ साल वैशाखमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपैयाँ थियो । त्यसयता २२ वर्षमा सुनको मूल्य एक लाख २९ हजार नौ सय रुपैयाँ बढेको छ । यो कुनै कथा होइन वास्तविकता हो । २०५९ सालमा जन्मेर अहिले २२ वर्ष पुगेको व्यक्तिका लागि यो कथाजस्तो हुन सक्छ । तर, त्यस समयको अर्थतन्त्रअनुसार सुनको त्यो मूल्य महँगो नै थियो । सुनको मूल्य बढ्ने अनुपात र आम नागरिकको आम्दानीको अनुपात निकै फरक भएकाले सुनको मूल्य जहिले पनि महँगो नै लाग्नेगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यकले बताए ।

अहिले सुनको मूल्य एक लाख ३९ हजार दुई सय पुग्दा नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम ग¥यो । सुनको मूल्य २०५९ सालमा नौ हजार तीन सय रुपैयाँ हुँदा पनि आम मानिसले जिब्रो कोट्ने खालको महँगो मानिन्थ्यो । बुधबार सुनको मूल्य एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढे पनि कारोबार ठप्पै भने भएको छैन । आवश्यक पर्ने व्यक्तिहरुले अहिले पनि सुन किनिरहेका छन् । सुन अन्य वस्तुजस्तो भन्दा पनि आवश्यक परेको समयमा किन्ने भएकाले अहिले पनि सुनको खरिद बिक्री भई नै रहेको महासंघका अध्यक्ष शाक्यकले बताए ।

‘आवश्यक नहुँदाको समयमा सुन १० हजार रुपैयाँ तोलामा पनि मानिसले किन्दैन । तर आवश्यक छ भने एक लाख ४० हजार भए पनि किन्छ । आवश्यक नभएको बेला सुनमा उसको ध्यान नै जाँदैन’, उनले भने ।

सुनको मूल्य अहिले मात्रै महँगो भएको भने होइन । कुनै समय नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ हजार रुपैयाँ हुँदा पनि नेपालीका लागि त्यो निकै महँगो थियो । ‘सुनको मूल्यको अनुपातमा आम्दानी नबढेकाले सुनको मूल्य जहिले पनि महँगो लागेको हो । सुनको मूल्यजस्तै व्यक्तिको आम्दानी पनि बढ्ने हो भने यो महँगो लाग्दैन’, अध्यक्ष शाक्यले भने ।

नेपालीको सबैजसो संस्कारमा सुन आवश्यक हुने भएकाले आवश्यकताअनुसार मात्रै उपभोक्ताले सुन खरिद गर्नेगरेको शाक्यको भनाइ छ । ‘सुनचाँदीको मूल्य हामी नेपालीका लागि कहिले पनि सस्तो भएन । जहिले पनि महँगो नै भयो । आजभन्दा २२ वर्ष पहिले सुनको मूल्य तोलामा नौ हजार रुपैयाँ मात्रै थियो । त्यो समयमा पनि सुनको मूल्य महँगो नै थियो’, अध्यक्ष शाक्यले भने ।

२२ वर्षअघि सुनको मूल्य दुई हजार रुपैयाँले महँगिदा मानिसहरु जिब्रो टोक्ने अवस्थामा पुगेका थिए । तर, अहिले पनि अवस्थामा खासै फरक देखिँदैन । ‘हामीले सुन तोलाको आठ हजार रुपैयाँमा पनि बिक्री गरेर आएका हौँ । त्यो समयमा पनि आम उपभोक्ताका लागि त्यो सस्तो थिएन । अहिलेको आँखाबाट हेर्नेहो भने त्यो सस्तो होला तर त्यो समयमा आठ हजार रुपैयाँ भनेको निकै ठूलो रकम हुन्थ्यो । अहिले कायम रहेको मूल्य पनि धेरै समय कायम नरहेने भएकाले पछि पनि महँगो नै हुन्छ’, शाक्यकले भने ।

विवाह वा अन्य शुभकार्यको समयमा सुन आवश्यक परेको खण्डमा जति महँगो भए पनि नेपालीहरुले खरिद गर्नेगरेको अध्यक्ष शाक्यको भनाइ छ । नेपालीहरुले ५० हजार रुपैयाँ हुँदा पनि सुनको किनमेल अहिलेको गतिमा भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । एक लाख १० हजार हुँदा पनि उपभोक्ताले सुन किनेका नै थिए । अहिले एक लाख ३९ लाख दुई सय हुँदा पनि किनिरहेका नै छन् ।

सुनको मूल्य अहिलेभन्दा अझै बढ्नसक्ने अध्यक्ष शाक्यको भनाइ छ । सुनको मूल्य नेपालीभन्दा पनि अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले घट्ने सम्भावना कम रहेको उनले बताए । सन २०२४ को अन्तिमसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस तीन हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । त्यो भनेको नेपाली बजारमा सुनको मूल्य दुई लाख रुपैयाँको हाराहारीमा पुग्नु हो । ‘सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस दुई हजार आठ सय डलर पुगेको खण्डमा नेपालमा एक लाख ५० हजारको हाराहारीमा पुग्छ । यदि तीन हजार डलर पुगेमा नेपाली बजारमा सुनको मूल्य एक लाख ८० हजारसम्म पुग्छ’, अध्यक्ष शाक्यले भने ।

सुनको मूल्य घट्ने सम्भावना भए पनि अहिले देखिएको घटनाहरुले गर्दा सुनको मूल्य घट्नेभन्दा बढ्ने सम्भावना धेरै भएको उनको भनाइ छ । अहिले सिजन नभएकाले कारोबार न्यून रहेको उनले बताए । सिजनको समयमा अहिले पनि मानिसले आवश्यकताअनुसार सुन खरिद गरिरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया